बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

असन्तुष्टिको कारोबार नगरौँ : महामन्त्री थापा

‘नेकपा एमालेसँग भएको सहकार्यअनुसार नै अघि बढ्छौँ’
सोमबार, १५ वैशाख २०८२, १२ : ११
सोमबार, १५ वैशाख २०८२

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले असन्तुष्टिको कारोबार गर्न नहुने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले असन्तुष्टिको कारोबार नगर्न र असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने काम नगर्न सचेत गराएका हुन् । 

उनले राजनीतिक उपलब्धिहरूका सम्बन्धमा आम नागरिकहरूमा सन्तोष रहँदै गर्दा पनि अहिले एउटा ठुलो बेचैनी, असन्तोष रहेको बताए । उनले असन्तुष्टि र बेचैनीको मुख्य कारण राजनीतिक अवस्था पछाडि आम नागरिकहरूको अवस्थामा परिवर्तन नआउनु रहेको जिकिर गरे । असन्तुष्टि र बेचैनीलाई हटाउन जरुरी रहेको उल्लेख गरे । 

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस पार्टीले के कुरालाई महसुस गरेको छ  भने राजनीतिक उपलब्धिहरूका सम्बन्धमा आम नागरिकहरूमा सन्तोष रहँदै गर्दा पनि आजको दिनमा एउटा ठुलो बेचैनी, असन्तोष देखिन्छ । त्यो असन्तुष्टि र बेचैनीको मुख्य कारण भनेको हामीले सिर्जना गर्ने राजनीतिक अवस्था पछाडि आम नागरिकहरूको अवस्थामा जुन बदलाव आउँछ भन्ने कुराको हामीले वाता गरेका थियौँ । नागरिकले अपेक्षा गर्नुभएको थियो, तदनुरूप हुन सकिरहेको छैन । त्यसको कारणले गर्दा असन्तुष्टि छ । तर यो असन्तुष्टिलाई हटाउनुपर्छ भन्ने हामी ठान्दछौँ । असन्तुष्टिको कारोबार गर्ने होइन । असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने होइन । त्यसलाई सम्बोधन गर्नुपर्छ । बेचैनीलाई हटाउँदै लिएर जानुपर्छ । त्यो बाटोमा अगाडि बढ्नुपर्छ भन्ने हामी ठान्दछौँ । त्यही अनुरूप हामी अब काम गर्न चाहन्छौँ ।’ 

उनले थपे, ‘नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको मुख्य विषय पनि यही नै हो । यसको मुख्य प्राथमिकता पनि यही नै हो । यही सोचेर खास गरेर हाम्रो अर्थतन्त्रमा देखिएका जति पनि समस्याहरू छन्, सङ्कटहरू छन्, यसलाई सम्बोधन नगरीकन नागरिकका असन्तुष्टि सम्बोधन हुनै सक्दैन । केही समयअघि संसद्ले केही कानुनहरू पारित गरेको छ । त्यो सुरुवात मात्रै हो । त्यसले पोजेटिभ भाइब् लिएर आउँछ, त्यो भन्दा बढी होइन । यो समयको हामी प्रयोग गर्न चाहन्छौँ ।’

महामन्त्री थापाले नेकपा एमालेसँग भएको सहकार्यअनुसार नै अघि बढ्ने र संघ वा प्रदेश कतै पनि राजनीतिक अस्थिरतामा नलाग्ने स्पष्ट पारे । सरकारमा बस्नका लागि मात्रै नभई परिणाम दिने गरी काम गर्न आवश्यक रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप