प्ले–अफ चरणमा पुग्ने कुन टोलीको कति सम्भावना ?

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा आधाभन्दा बढी खेल सकिएको छ । केही टोली उपाधि होडबाट बाहिरिने निश्चित भइसकेको छ भने बाँकी टोली प्रतियोगिताको प्ले–अफ चरणमा स्थान पक्का गर्न सङ्घर्षरत छन् ।
जारी सिजनमा निराशाजनक प्रदर्शन गरेको पाँचपटकको च्याम्पियन चेन्नई सुपर किङ्स र राजस्थान रोयल्स पहिलो चरणबाटै बाहिरिने पक्का भइसकेको छ । राजस्थानले हालसम्म खेलेको १० मध्ये तीन खेलमा जित र सात खेलमा हारको नतिजा निकालेको छ ।
चेन्नईले हालसम्म खेलेको नौमध्ये केवल दुई खेलमा जित र सात खेलमा हारको नतिजा निकालेको छ । राजस्थानको ६ र चेन्नइको चार अंक छ । बाँकी सबै खेलमा विजयी भए पनि यी दुवै टोलीको १४ अंकमात्र पुग्छ । त्यसैले यी दुवै टोलीको प्ले–अफ चरणमा पुग्ने सम्भावना देखिँदैन ।
यसैगरी, सनराइजर्स हैदराबाद र साविक विजेता कोलकाता नाइट राइडर्सको पनि प्ले–अफ चरणमा पुग्ने सम्भावना निकै कम देखिन्छ । यी दुवै टोलीले अब पाँच–पाँच खेलमात्र खेल्न बाँकी छ । नौमध्ये तीन खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको हैदराबादले ६ अंक बटुलेको छ ।
कोलकाताले पनि हालसम्म खेलिएको नौ खेलबाट सात अंकमात्र जोडेको छ । कोलकाताले तीन खेलमा जित र पाँच खेलमा हारको नतिजा निकालेको छ । कोलकाताको एउटा खेल भने वर्षाका कारण अनिर्णीत रूपमा सकिएको थियो ।
त्यसैले प्ले–अफ चरणमा पुग्न यी दुवै टोलीले बाँकी पाँचवटै खेलमा जित निकाल्नु पर्ने हुन्छ । एक खेलमा पनि पराजित यी दुवै टोलीको प्ले–अफ चरण प्रवेश गर्ने सपनामा धक्का लाग्ने निश्चित छ ।
बाँकी ६ टोलीको प्ले–अफ चरणमा पुग्ने सम्भावना भने तुलनात्मक रूपमा बढी देखिन्छ । हाल १० खेल खेलेको रोयल च्यालेन्जर्स बेंगलुरु १४ अंकसहित पहिलो र समान खेल खेलेको मुम्बई इन्डियन्स १२ अंकसहित दोस्रो स्थानमा छन् ।
यसैगरी, नौ खेल खेलेको गुजरात टाइटन्स १२ अंकसहित तेस्रो, नौ खेल खेलेको दिल्ली क्यापिटल्स १२ अंकसहित चौथो, नौ खेल खेलेको पञ्जाब किङ्स ११ अंकसहित पाँचौँ र १० खेल खेलेको लखनउ सुपरय जायन्ट्स १० अंकसहित छैटौँ स्थानमा आसिन छन् ।
आईपीएलको इतिहासलाई हेर्दा पनि प्ले–अफ चरणमा पुग्न कम्तीमा आठ जित (१६ अंक) आवश्यक देखिन्छ । केही अवसरमा सात खेल जित्ने (१४ अंक) टोली पनि प्ले–अफ चरणमा पुगेको देखिन्छ । तर, यस्तो स्थितिमा अन्य टोलीको नतिजा र नेट रन रेटमा भर पर्नुपर्ने हुन्छ ।
जारी आईपीएलमा हालसम्मको अवस्थालाई हेर्दा बेंगलुरुलाई प्ले–अफ चरणमा पुग्न कम्तीमा एक जित आवश्यक छ । आगामी खेलमा विजयी भए बेंगलुरुको अंक १६ पुग्नेछ । त्यसैले बेंगलुरुको प्ले–अफ चरणमा पुग्ने सम्भावना बढी देखिन्छ । बेंगलुरुले अझै चार खेल खेल्न बाँकी छ ।
यसैगरी मुम्बई, गुजरात र दिल्लीको पनि अगाडि बढ्ने सम्भावना बढी देखिन्छ । मुम्बईले चार तथा गुजरात र दिल्लीले पाँच–पाँच खेल खेल्न बाँकी छ । अब दुई–दुई खेल जितेमा मुम्बई, गुजरात र दिल्ली पनि लगभग प्ले–अफ चरणमा पुग्नेछन् ।
हाल पञ्जाब किङ्ससँग ११ अंक छ । पञ्जाबले पाँच खेल खेल्न बाँकी छ । त्यसैले प्ले–अफ चरणमा पुग्न पञ्जाबले कम्तीमा तीन खेल जित्नु आवश्यक छ । १० अंक जोडेको लखनउले चार खेल खेल्न बाँकी छ । प्ले–अफ चरणमा पुग्न लखनउले पनि कम्तीमा तीन खेल जित्नु आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै संयोग जुर्दैछ मुम्बई इन्डियन्ससँग, उत्साही छन् समर्थक
-
नागार्जुनमा बनाइएको बद्री नारायण धामको प्राणप्रतिष्ठाका अवसरमा कलश यात्रा (तस्बिरहरु)
-
कीर्तिपुर र सामाखुसीबिच बास्केटबल लिगको उद्घाटन खेल
-
पाकिस्तानले बन्द गर्यो एफएम रेडियोमा भारतीय गीत प्रसारण बन्द
-
राष्ट्रिय सुरक्षा सल्लाहकारबाट ट्रम्पले वाल्ट्जलाई हटाए, नयाँ जिम्मेवारी दिए
-
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु