युवा र विद्यार्थीले राजनीति किन बुझ्नुपर्छ ?
राजनीति भन्नेबित्तिकै धेरैको मानसपटलमा सत्ताको खेल, दलगत झगडा र नाराबाजीको चित्र उब्जन्छ । वास्तविकता त्योभन्दा गहिरो छ । राजनीति समाजको समग्र दिशा निर्धारण गर्ने मूल शक्ति हुनका साथै मानव जीवनको प्रत्येक पक्षसँग गाँसिएको, अटुट र अन्तर्निहित संरचना पनि हो । हामी बस्ने घरदेखि राज्यको संविधानसम्म, विद्यालयको पाठ्यक्रमदेखि अस्पतालको सेवा प्रणालीसम्म राजनीति प्रत्यक्ष वा परोक्ष रूपमा क्रियाशील रहन्छ । त्यसैले राजनीति भनेको कुनै ‘बाहिरी’ संस्था होइन, यो त नागरिक जीवनको मेरुदण्ड हो ।
हामी राजनीतिको भाग नबन्ने निर्णय गर्न सक्छौँ, तर राजनीति भने हाम्रो जीवनमा संलग्न नभई बस्दैन । त्यसैले राजनीति नगरे पनि राजनीति तिमीलाई गर्छ भन्ने भनाइ केवल व्यङ्ग्य होइन, यथार्थ हो र यहीँ सबैभन्दा महत्त्वपूर्ण प्रश्न उठ्छ– युवाहरू र विशेषतः विद्यार्थीहरूले राजनीति किन बुझ्नुपर्छ ?
- शिक्षा र राजनीति एक–अर्कामा गाँसिएका छन्
पछिल्ला वर्ष ‘शिक्षालाई राजनीतिबाट अलग राख्नुपर्छ’ भन्ने बहस शैक्षिक वृत्तमा बाक्लिँदै गएको छ । कतिपयले विद्यार्थी आन्दोलनको औचित्यमाथि नै प्रश्न उठाइरहेका छन् तर यस्तो धारणा सतहीमात्र होइन, दीर्घकालीन असरका हिसाबले हानिकारक पनि हो । यदि हामी मानिसलाई राजनीतिक प्राणी मान्छौँ भने जसको चेतना, निर्णय र सामाजिक सम्बन्ध राजनीतिक ढाँचासँग गाँसिएका हुन्छन्, उनीहरूलाई राजनीतिको पहुँचबाट अलग राख्ने प्रयास असम्भव छ ।
युवा वर्ग, विशेषतः विद्यार्थीहरू विषयवस्तु बुझ्न र त्यसलाई तत्काल ग्रहण गर्न सक्ने क्षमताले भरिएका हुन्छन् । उनीहरूमा ऊर्जा, उत्साह र परिवर्तन गर्ने सम्भावना हुन्छ । उनीहरूले राजनीति बुझ्नुपर्छ भन्ने भनाइको अर्थ सबैले दलमा लाग्नुपर्छ भन्ने होइन तर समाज कता जाँदैछ, देशको अवस्था के छ, आफूले के भूमिका खेल्न सक्छ भन्ने चेतना हुनु आवश्यक छ ।
आजको शिक्षाले राम्रो अङ्क ल्याउने, प्रवाहपूर्ण अंग्रेजी बोल्ने विद्यार्थी त उत्पादन गर्छ, तर समाजप्रति उत्तरदायी र नेतृत्व गर्न सक्ने नागरिक उत्पादन गर्न असफल भइरहेको छ । राजनीतिक चेतनाविना शिक्षाले मानिसलाई योग्य त बनाउला, तर सजग र उत्तरदायी बनाउँदैन ।
यदि विद्यार्थीले समाज, देश र विश्वको दिशा बुझेन भने उसले लिएको शिक्षा केवल अङ्कको सङ्कलनमात्र हुन्छ । आफ्नो परिवार, समाज र राष्ट्रको अवस्था र भविष्यबारे चिन्ता नगर्ने विद्यार्थी केवल राम्रो अंग्रेजी बोल्ने ‘श्रमजीवी’ हुन सक्छ, विचारजीवी होइन ।
- विद्यार्थी आन्दोलनः इतिहास र वर्तमानको यथार्थ
नेपालको इतिहास हेर्ने हो भने, राणा शासनको अन्त्यदेखि पञ्चायती व्यवस्थाको पतन, २०४६ सालको जनआन्दोलन र २०६२÷०६३ को लोकतान्त्रिक परिवर्तनसम्म, विद्यार्थीहरू निर्णायक शक्तिका रूपमा उदाएका छन् । उनीहरूको निष्ठा, विवेक र सामूहिक प्रतिरोध लोकतन्त्रको जग बन्न पुगेको हो ।
पछिल्लो दशकको विद्यार्थी आन्दोलनलाई तटस्थ भएर हेर्ने हो भने कुनै पनि एकल वा संयुक्त विद्यार्थी संगठन र आन्दोलनले आम विद्यार्थीमा राजनीतिक, शैक्षिक आन्दोलनप्रति आशा र विश्वास भर्न नसकेको यथार्थ हो ।
तर पछिल्लो दशकमा विद्यार्थी आन्दोलनमा आएको विचलनले आम जनमानसमा आशा होइन, निराशा पोखेको छ । पार्टीको छायामा बसेर छात्रवृत्तिको सिफारिस, ठेक्कापट्टाको खेल, नेताको पीए बन्ने हतार जस्ता प्रवृत्तिले आन्दोलनको नैतिक धरातल खस्काएका छन् ।
तर आन्दोलन नै आवश्यक छैन भन्ने निष्कर्ष समाधान होइन । समस्या आन्दोलन होइन, आन्दोलनको दिशा र संस्कार हो ।
आजको आवश्यकता हो– विद्यार्थी आन्दोलनको पुनर्गठन, नेतृत्वमा नयाँ संस्कार, वैचारिक बहस र प्रतिस्पर्धाको वातावरण निर्माण । विद्यार्थी संगठनहरू राजनीतिक दलसँग सम्बन्धित हुन सक्लान्, तर तिनले पूर्ण रूपमा उत्तरदायी र आत्मनिर्भर ढंगमा सञ्चालन हुनुपर्छ ।
यस्तै सन्दर्भमा अर्को यथार्थ के पनि हो भने राज्यका प्रशासनिक, वित्तीय, कूटनीतिक, सुरक्षा र राजनीतिक सबै क्षेत्रमा कुनै न कुनै प्रकारको नेतृत्वको आवश्यकता अवश्यंभावी हुन्छ । आजको राजनीति र नेतृत्व बिग्रिएको छ भनेर विद्यार्थीलाई राजनीतिबाट टाढा राख्नु भनेको मुहानै बन्द गर्नुजस्तै हो । त्यसैले भोलिको उत्तराधिकारी निर्माण गर्नका लागि विद्यार्थीलाई जुनसुकै विचारधारामा आधारित भए पनि छलफल र बहसमा सहभागी हुने वातावरण बनाइनुपर्छ ।
उनीहरू मार्क्सवादी वा गैरमार्क्सवादी जुनसुकै दर्शनमा सहमत होऊन्, तर वैचारिक प्रतिस्पर्धामा उभिन सकून् । यही स्वस्थ बहस र वैचारिक अभ्यासबाट नेतृत्वको आधार तयार हुन्छ ।
- शिक्षा क्षेत्रको राजनीतिक निषेधः नेतृत्वको सम्भावनामा लगाम
निजी शैक्षिक संस्थाहरूमा राजनीतिक गतिविधिमाथि पूर्ण निषेध गरिएको छ । यथार्थ के हो भने ती संस्थाका सञ्चालकहरू स्वयं राजनीतिक पहुँचको प्रयोग गरेर नाफामूलक व्यापार सञ्चालन गरिरहेका हुन्छन् । उनीहरूको डर के हो भने यदि विद्यार्थीमा राजनीतिक चेतना जाग्यो भने उनीहरूले आफ्नो अधिकारको आवाज उठाउनेछन् । यसैले राजनीतिक सचेतनाको विकास रोकिने प्रयास भइरहेछ ।
सामुदायिक विद्यालयहरूमा पनि ‘राजनीति गर्ने उमेर होइन, पढेर जागिर खाऊ’ भन्ने सन्देश प्रवाहित गरिन्छ । यस्तो सोचले विद्यार्थीहरूलाई समाजप्रतिको जिम्मेवारीबाट विमुख बनाउने काम गर्छ । नेतृत्वको विकास यहीँबाट अवरुद्ध हुन्छ ।
राजनीति भन्नेबित्तिकै नाराबाजी, झोला र झगडामा मात्र समेट्ने सोच गलत हो । राजनीतिक चेतना भन्नुको अर्थ नेतृत्वदायी सोच, संस्थामा प्रश्न गर्ने आत्मविश्वास, विचारमा उभिने हिम्मत, र परिवर्तनमा योगदान दिने जागरूकता हो । विद्यार्थी राजनीतिको विषयमा चासो राखुन्, विचार बनाउन्, बहस गरोस् । यही चेतनाबाट भोलिको समृद्ध नेपाल निर्माण हुने हो ।
राज्यले पनि शिक्षामा राजनीतिक चेतना विकास गर्न योगदान दिनुपर्छ । पाठ्यक्रममै नागरिक शिक्षा, संविधान, शासन प्रणाली, विचारधारात्मक बहस, सामाजिक न्याय र नेतृत्व विकास जस्ता विषय समावेश गरिनुपर्छ । शिक्षालाई ‘शान्ति क्षेत्र’को नाममा राजनीति निषेध गर्ने ठाउँ होइन, विचार र चेतनाको प्रयोगशाला बनाइनुपर्छ ।
आज नेतृत्व गर्नेहरू– जसको आलोचना अहिले भइरहेछ, उनीहरू पनि कुनैबेला विद्यार्थीकालको संघर्ष र चेतनाबाटै उदाएका थिए । ती नेताहरू सफल भएनन् भन्ने बहस गर्न सकिन्छ, तर उनीहरू नेतृत्वमा पुगेको जग विद्यार्थी आन्दोलनमै थियो भन्ने यथार्थलाई नकार्न सकिन्न ।
त्यसैले राजनीति बिग्रिएको छ भनेर राजनीतिबाट टाढा बस्ने होइन, राजनीतिलाई सुधार्ने जिम्मेवारी युवाले लिनुपर्ने बेला आएको छ । नेतृत्वको भरोसा पुरानो पुस्ताबाट गुमेको छ भने नयाँ पुस्ताले त्यो भरोसा पुनः स्थापित गर्नुपर्छ ।
आजको विद्यार्थी भोलिको नेतृत्व हो । यो केवल आदर्श नारा होइन, ठोस कार्यदिशा हो । चेतनशील, उत्तरदायी र वैचारिक विद्यार्थी नै भविष्यको राजनीतिमा नैतिकता, पारदर्शिता र समर्पणको बिउ बन्न सक्छन् !
(समिर शाही अनेरास्ववियु (क्रान्तिकारी) मुगुका सचिव हुन्)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण