लिरभपुलका समर्थकले खुसीयाली मनाउँदा पटक–पटक कम्पन भएको थियो पृथ्वी

काठमाडौँ । यो सिजनको इङ्लिस प्रिमियर लिगको उपाधि लिभरपुलले जित्यो । प्रिमियर लिगमा आफ्नो चार खेल खेल्न बाँकी रहँदै लिभरपुलले उपाधि पक्का गरेको हो । गत आइतबार खेलिएको आफ्नो पछिल्लो खेलमा लिभरपुलले टोट्टनहामलाई ५–१ गोलको फराकिलो अन्तरले हराएको थियो ।
आफ्नो टोलीले २० औँ पटक प्रिमियर लिगको उपाधि चुमेपछि उत्साही बनेका लिभरपुलका समर्थकले खुसीयाली मनाउँदा एनफिल्ड र वरपर शृंखलाबद्ध रुपमा स–साना भूकम्प गएझैँ झट्का महसुस भएको यससम्बन्धि एक अध्ययनले देखाएको छ ।
प्रिमियर लिगमा लिभरपुलले जितेको यो ऐतिहासिक उपाधि हो । हालसम्म लिभरपुलका अतिरिक्त म्यानचेस्टर युनाइटेडले मात्र २० पटक प्रिमियर लिगको उपाधि उचाल्न सकेको छ । त्यसैले पनि टोट्टनहामविरुद्धको खेलमा क्रममा लिभरपुलका समर्थक बढी नै उत्साही बनेका थिए ।
भूगर्वविदहरुले गरेको अध्ययनको नतिजालाई आधार मानेर बीबीसीले तयार पारेको समाचारमा जनाए अनुसार, अप्रिल २७ तारिखमा लिभरपुल र टोट्टनहामबिचको खेलको २४ औँ मिनेटमा सबैभन्दा ठुलो कम्पन महसुस गरिएको थियो । भूगर्वविदको अध्ययनले देखाए अनुसार, त्यो कम्पन १.७४ रिक्टर स्केलको भूकम्प बराबर थियो ।
खासमा, खेलको २४ औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले घरेलु टोली लिभरपुलका लागि दोस्रो गोल गरेका थिए । सोही गोलका कारण खेलमा लिभरपुलले अग्रता लिएको थियो । त्यसअघि निर्धारित समयको १२ औँ मिनेटमा टोट्टनहामका लागि डोमिनिक सोलान्केले पहिलो गोल गरेका थिए ।
त्यसपछि, निर्धारित समयको १६औँ मिनेटमा लिभरपुलका लुइस डिआजले जवाफी गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो । २४औँ मिनेटमा एलेक्सिसले गोल गरेपछि खेलमा लिभरपुलले २–१ को अग्रता हासिल गरेको थियो ।
त्यसैले लिरभपुलका समर्थकले जोडतोडका साथ खुसीयाली मनाएका थिए । समाचारमा जनाइए अनुसार, लिभरपुल विश्वविद्यालयका भूगर्वविदहरुले भूकम्प मापन गर्न प्रयोग गरिने उपकरणहरुको माध्यमले यो तथ्य पत्ता लगाएका हुन् । यो अध्ययन लिभरपुल विश्वविद्यालयको पृथ्वी, महासागर र वातावरण विज्ञान विभागका डा.एन्टोइन सेप्टियर, डा. फरनाज कमरानजाद र प्रा. बेन एडवार्डसले संयुक्त रुपमा गरेका थिए । उनीहरुले लिभरपुल फुटबल क्लबसँगको सहकार्यमा यो अध्ययन गरेको समाचारमा जनाइएको छ ।
‘खेलका क्रममा समर्थकहरुले खुसीयाली मनाउँदा प्राकृतिक रुपमा आउने भूकम्पको जस्तै धक्का पटक–पटक महसुस गरिएको थियो,’ अध्ययनमा सहभागी प्रा। बेन एडवर्डसले बीबीसीसँगको कुराकानीमा भनेका छन् । लिभरपुल र टोट्टनहामबिचको खेल हेर्न रंगशाला र वरपर करिब ६१ हजार समर्थक उपस्थित भएका थिए । लिभरपुलका समर्थकले खुसीयाली मनाउँदा अनुभव गरिएको दोस्रो ठुलो कम्पन भने १.६० रिक्टर स्केट बराबरको भएको अध्ययनले देखाएको छ ।
त्यो धक्का निर्धारित समयको ६३औँ मिनेटमा मोहम्मद सलाहले गोल गरेपछि लिभरपुलका समर्थकले खुसीयाली मनाउने क्रममा अनुभव गरिएको थियो । यसका अतिरिक्त लिभरपुलका लागि ३४औँ मिनेटमा कोडी गाक्पोले गोल गर्दा १.०३ रिक्टर स्केल र १६औँ मिनेटमा लुइस डिआजले गोल गर्दा ०.६४ रिक्टर स्केलको कम्पन महसुस गरिएको थियो ।