आपसी मित्रता, प्रेम र सद्भाव जागृत गराउन आवश्यक : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिने बताएका छन् । उनले यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्दत गर्न सक्नुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रपति पौडेलले काठमाडौँ नागार्जुन– ७ रामकोटस्थित बद्रिनारायणधाम उद्घाटन समारोहलाई शनिबार यहाँ सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् ।
‘हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिन्छ । यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्दत गर्न सक्नुपर्दछ, यसका लागि मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक छ’, उनले भने ।
उनले आज भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महसुस वर्तमान विश्वले गरिरहेको बताउँदै आज मान्छे भौतिक विकासभित्र सुख र शान्तिको लागि भौतारिरहेको कारण यहि रहेको समेत उनले बताए ।
सम्प्रदायभन्दा माथि धर्म र धर्मभन्दा माथि अध्यात्म हुन्छ भन्दै उनले यस्तो आध्यात्मिक केन्द्र नेपालकै राजधानी काठमाडौँको पश्चिमी पवित्र भू–भागको सुगम स्थलमा अब हामीले पाएको बताए ।
राष्ट्रपति पौडेलले वैदिक सनातन संस्कृति र परम्परामा रहिआएको विश्वासअनुसार अत्यन्त महत्त्वपूर्ण मानिएको बद्रिधाम निर्माणले खुसी ल्याउने विश्वास पनि व्यक्त गरे ।
उनले यस धामले नेपालको पर्यटन प्रवर्धनको माध्यमबाट आर्थिक समुन्नतिमा पनि टेवा पुग्ने बताए ।
‘विश्वमा चरम भौतिक विकासको चाहना र होडबाजी बढ्दो छ, यसका कारण समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव, सहयोगको भावना खस्कँदो छ, यो कुरा हामीले हाम्रै समाजमा पनि अनुभव गरिरहेका छौँ, यस्तो अवस्थामा निर्माण भएको यो बद्रिधामसहितको अध्यात्म केन्द्रले आध्यात्मिक जागरण ल्याउन र यसबाट उत्पन्न हुने मानव सेवा भावले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुरयाउनेछ भन्ने मैले विश्वास लिएको छु’, राष्ट्रपति पौडेलले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण