बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अब अभागी रहेनन् ह्यारी केन
खेलकुद

अब अभागी रहेनन् ह्यारी केन

लन्डनबाट सुरु गरेको यात्रा म्युनिखमा पुगेर सार्थक बन्यो
सोमबार, २२ वैशाख २०८२

काठमाडौँ । इङ्ल्यान्डको राष्ट्रिय टोलीका प्रभावशाली स्ट्राइकर हुन्, ह्यारी केन । देशका लागिमात्र होइन, ३१ वर्षीय केनले हालसम्म आफूले व्यावसायिक फुटबल खेलेका हरेक क्लबका अब्बल प्रदर्शन गर्दै आएका छन् । 

त्यसैले उनी सधैँ चर्चामा रहन्छन् । तर, गजबको खेल कौशलका कारण विश्वभर करोडौँ समर्थक कमाएका केनसँग एउटा दुर्भाग्य भने सधैँ जोडिँदै आएको थियो । राष्ट्रिय टोलीसँग क्लबबाट समेत एउटा पनि उपाधि जित्न नसकेको भन्दै उनको आलोचना हुने गरेको थियो । 

तर, विश्व फुटबलका यी चर्चित खेलाडी अब यो आरोपबाट पनि मुक्त भएका छन् । इङ्ल्यान्डबाट सुरु भएको उनको लामो खेल जीवनले अन्ततः जर्मनीमा पुगेर राहत महसुस गरेको छ । उनी आबद्ध क्लब बायर्न म्युनिखले जर्मन बुन्डेस लिगाको उपाधि उचालेको छ । 

harry kane (4)

बुन्डेस लिगाको आइतबार राति सम्पन्न खेलमा तालिकाको दोस्रो स्थानमा आसीन बायर लेभरकुजेन आफ्नो प्रतिद्वन्द्वी एससी फ्रेइबर्गसँग २–२ गोलको बराबरीमा रोकिएपछि केनको टोली बायर्न म्युनिखको उपाधि पक्का भएको हो ।

बायर्न म्युनिखले जितेको यो ३४औँ बुन्डेस लिगा उपाधि हो । बायर्न म्युनिख सबैभन्दा बढी बुन्डेस लिगाको उपाधि चुम्ने क्लब पनि हो । बुन्डेस लिगामा बायर्न म्युनिख १० पटक उपविजेता पनि बनेको छ । 

बायर्न म्युनिखले जारी सिजनको दुई खेल खेल्न बाँकी रहँदै उपाधिमाथि कब्जा जमाएको हो । जारी सिजनमा सहभागी १८ वटै टोलीले ३२–३२ खेल खेलिसक्दा बायर्न म्युनिख ७६ अंकसहित तालिकाको पहिलो स्थानमा आसीन छ । 

तालिकाको दोस्रो स्थानमा आसीन बायर लेभरकुजेनको भने ६८ अंक छ । अब खेल्न बाँकी दुवै खेलमा आफू पराजित र बायर लेभरकुजेन विजयी भए पनि बायर्न म्युनिखको उपाधि यात्रामा कुनै फरक पर्ने अवस्था छैन । '

harry kane (2)

‘धेरै मान्छे छन्, जसले मेरो उपलब्धिभन्दा पनि मैले हालसम्म उपाधि जित्न नसकेको कुरालाई मात्र  महत्वका साथ अघि सार्ने गरेका छन् । तर, हाम्रो टोली बुन्डेस लिगको उपाधिनजिक पुगेपछि धेरैको स्वर कमजोर बन्दै गएको छ,’ इङ्ल्यान्डको कप्तानसमेत रहेको केनले केही समयअघि भएको थिए ।

खेलजीवन सुरु गरेको १५ वर्षपछि आएर कुनै ठुलो प्रतियोगिताको उपाधि चुम्ने आफ्नो सपना साकार भएपछि बायर्न म्युनिखका अन्य खेलाडीभन्दा पनि केनकै मुहार सबैभन्दा उज्यालो बनेको छ । बायर्नले शनिबार नै बुन्डेस लिगाको उपाधि कुम्ल्याउने सम्भावना थियो ।

तर, आरबी लाइपजिगविरुद्धको त्यो खेलमा भिन्सेन्ट कोम्पनीको प्रशिक्षकत्वमा रहेको बायर्न म्युनिख ३–३ गोलको बराबरीमा रोकिन पुग्यो । फेरि, त्यो खेलमा केन आफै पनि उपस्थित थिएनन् । अघिल्लो खेलमा कार्ड पाएका कारण उनले त्यो खेल गुमाएका थिए । 

harry kane (3)

‘सबैको आ–आफ्नै कथा हुन्छ । यो मेरो कथा हो जसको अन्त्य सुखद रूपमा भएको छ । तर, यसका लागि म र मेरा शुभचिन्तकले निकै लामो समय प्रतीक्षा गर्नुपर्‍यो,’ उनी भन्छन् । केन सन् २०२३ मा बायर्न म्युनिखमा आबद्ध भएका थिए ।

बायर्न म्युनिखमा आबद्ध भएपछि पनि केनलाई उनको दुर्भाग्यले भने पछ्याइरहेको थियो । उनी आबद्ध हुनुअघि बायर्न म्युनिखले लगातार ११ पटक बुन्डेस लिगाको उपाधि चुमेको थियो । तर, उनी आबद्ध भएकै वर्ष भने बायर्नले उपाधि जित्न सकेन ।

harry kane (1)

सन् २०२३–२४ संस्करणमा दुर्भाग्यपूर्ण तरिकाले बायर्न म्युनिख तेस्रो स्थानमा खुम्चिन पुग्यो । त्यो संस्करणको उपाधि बायर लेभरकुजेनले जितेको थियो भने भीएफबी स्टुटगार्ट दोस्रो भएको थियो । केन आबद्ध हुनासाथ बायर्न म्युनिखको सुनौलो यात्रामा विराम लागेपछि उनीविरुद्ध आलोचनाका स्वरहरू पनि गुन्जिएका थिए । 

तर, केनले पटक्कै हरेस खाएनन् । उनी निरन्तर आफ्नो लक्ष्यमा अग्रसर रहे र उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिइरहे । त्यसैको प्रतिफल हो आफू आबद्ध भएको दोस्रो सिजनमै केनले बायर्न म्युनिखलाई फेरि च्याम्पियन बनाएर देखाए ।

केनले सन् २०१० मा इङ्लिस प्रिमियर लिग क्लब टोट्टनहामबाट व्यावसायिक खेलजीवन (सिनियर टोलीमा) सुरु गरेका थिए । उनी क्लबमा रहँदासम्म टोट्टनहामले कहिल्यै प्रिमियर लिग र अन्य ठुला उपाधि चुम्न सकेन । 

सन् २०१६–१७ सिजनमा भने टोट्टनहाम उपाधिको अन्यत्नै नजिक पुगेर चुकेको थियो । त्यो सिजनको प्रिमियर लिग उपाधि चेल्सीले जितेको थियो भने टोट्टनहाम दोस्रो भएको थियो । केन आबद्ध हुनुभन्दा तीन सिजनअघि मात्र टोट्टनहामले लिग कपको उपाधि जितेको थियो ।

Harry-Kane.jpeg

टोट्टनहाममा रहँदा पनि केनको प्रदर्शन अब्बल थियो । त्यसैले उनी तीनपटक क्लबको सर्वोत्कृष्ट खेलाडीसमेत घोषित भएका थिए । उनले यो अवार्ड सन् २०१४–१५, सन् २०२०–२१ र सन् २०२२–२३ सिजनमा पाएका थिए । 

टोट्टनहाममा १३ वर्ष बिताएर उनी सन् २०२३ मा बायर्न म्युनिख पुगेका थिए । टोट्टनहाममै रहँदा उनले ऋणमा नर्विच सिटी, लेस्टर सिटीलगायतका क्लबाट पनि व्यावसायिक फुटबल खेलेका थिए । ‘वास्तवमै यो रोमाञ्चक क्षण हो । उनी (केन) उपाधिको सच्चा हकदार हुन् । तर, उनले आफूलाई प्रमाणित गर्न लामो समय संघर्ष गर्नुपर्‍यो,’ टोट्टनहाम र बायर्न म्युनिखका पूर्वस्ट्राइकर योर्गेन क्लिन्सम्यान भन्छन् ।

इङ्ल्यान्डको राष्ट्रिय टोलीमा पनि केनको इतिहास गौरवशाली छ । उनले सन् २०१५ मा इङ्ल्यान्डको राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए । त्यसयता उनले राष्ट्रिय टोलीमा आफूलाई त्यो स्थानमा उभ्याए जहाँ पुग्ने अन्य धेरै खेलाडीका लागि सपनासरह थियो ।

Harry-Kane

केन अहिले पनि इङ्ल्यान्डका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । सर्वाधिक गोल गर्ने इङ्लिस खेलाडीको सूचिमा वेयन रुनीमात्र होइन, सर बबी चाल्टर्न र गेरी लिनेकर पनि केनभन्दा निकै पछाडि छन् । 

तर, केनले राष्ट्रिय टोलीबाट पनि हालसम्म कुनै उपाधि जित्न सकेका छैनन् । सन् २०१८ को फिफा विश्वकपमा इङ्ल्यान्ड सेमिफाइनलमा पुगेर पराजित भएको थियो । त्यसपछि तेस्रो स्थानका लागि खेलिएको खेलमा पनि इङ्ल्यान्डको टोली बेल्जियमसँग ०–२ गोलले पराजित भएको थियो । यद्यपि, त्यो विश्वकपमा कुल ६ गोल गर्दै ‘गोल्डेन बुट’ अवार्ड भने केनले नै जितेका थिए । 

केनले राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरिसकेपछि इङ्ल्यान्ड दुईपटक युरो कप फुटबलको फाइनलमा पुग्यो । तर, दुबैपटक इङ्ल्यान्डले उपाधि भने जित्न सकेन । सन् २०२० को युरो कपको फाइनलमा इटालीले इङ्ल्यान्डलाई हराएको थियो ।

Harry-Kane-Golden-Boot-for-England-Award-Designers-and-Makers-Thomas-Lyte-dr3

त्यसपछि सन् २०२४ को युरो कपको फाइनलमा स्पेनले इङ्ल्यान्डलाई स्तब्ध पारेको थियो । तर, सन् २०२४ को युरो कपमा केनको प्रदर्शन निकै स्तरीय थियो । युरो कपको त्यो संस्करणमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा उनी संयुक्त रूपमा पहिलो स्थानमा थिए । 

अझ रमाइलो पक्ष के हो भने, केनले आफ्नो व्यावसायिक खेल जीवनमा एकपटक पनि इङ्लिस प्रिमियर लिगको उपाधि चुम्न सकेनन् तर, उनले तीनपटक प्रिमियर लिगमा सर्वोत्कृष्ट प्रदर्शन गर्दै ‘गोल्डन बुट’ भने जिते । उनले सन् २०१५–१६, सन् २०१६–१७ र सन् २०२०–२१ सिजनमा ‘गोल्डन बुट’ अवार्ड हात पारेका थिए ।

टोट्टनहाममै रहँदा केन एकपटक युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता च्याम्पियन्स लिग उपाधिको नजिक पनि पुगेका थिए । तर, त्यतिबेला पनि उनी अभागी सावित हुन पुगे । उनको टोली टोट्टनहाम सन् २०१८–१९ सिजनको च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलसँग २–० गोलले पराजित हुन पुगेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया