बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्वतन्त्र र निष्पक्ष पत्रकारिता विना लोकतन्त्रको कल्पना गर्न सकिन्न : राष्ट्रपति

बुधबार, २४ वैशाख २०८२, १६ : २१
बुधबार, २४ वैशाख २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक,सामाजिक, सांस्कृतिकलगायतका हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहेको बताएका छन् ।

राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आयोजना गरेको वरिष्ठ पत्रकार सम्मान तथा राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकारिता परिवर्तनको वाहक र राष्ट्र निर्माणको एउटा सशक्त तथा प्रभावकारी माध्यम भएको बताएका हुन् । 

राष्ट्रपति पौडेलले स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त भएको भन्दै स्वतन्त्र र निष्पक्ष पत्रकारिता विना लोकतन्त्रको कल्पना गर्न नसकिने स्पष्ट पारे ।

उनले भने– ‘त्यही भएर हाम्रो संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको हो । संविधानको यो मर्म र भावनाअनुसार पत्रकारलाई निर्भय र स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो  । त्यसैगरी सत्यतथ्य समाचार सम्प्रेषण गरेर जनतालाई सुसूचित गर्नु जिम्मेवार प्रेसको धर्म हो । यसतर्फ नेपाली प्रेस सदैव सजग र चनाखो हुनेनैछ भन्ने मैले विश्वास लिएको छु ।’

राष्ट्रपति पौडेलले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै सुरक्षित र जोखिममुक्त वातावरणमा समाचार संकलन र सम्प्रेषण गर्ने अवस्थाको सुनिश्चिततातर्फ हामी सबैको ध्यान जान आवश्यक रहेको बताए ।

उनले सूचना प्रविधिको विकाससँगै बढ्दो सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको प्रयोगले आधारहीन र मिथ्या सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराको सामना गर्नु वर्तमान आमसञ्चार माध्यम सामु थपिएको चुनौती भन्दै यस्ता चुनौतिको सामना गर्न नेपाली प्रेस सक्षम हुने विश्वास व्यक्त गरे।

सो अवसरमा वरिष्ठ पत्रकार सम्मान २०८१ पत्रकार महासंघका पूर्व अध्यक्ष विपुल पोखरेल र प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गणेश बस्नेतलाई प्रदान गरिएको थियो भने राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ विमल गौतम बागलुङ, दीपेन्द्र श्रेष्ठ कास्की, लोग्शरी कुँवर कैलाली, दीपेन्द्र बान्तवा संखुवासभा, डिल्लीराम खतिवडा उदयपुर र सागर पण्डित तनहुँलाई प्रदान गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप