शनिबार, २७ वैशाख २०८२
ताजा लोकप्रिय
कुटनीति

भारतका लागि समर्थन खोज्न भगतसिंह आएकै बेला के–के भयो नेपालमा ?

शुक्रबार, २६ वैशाख २०८२, १६ : २६
शुक्रबार, २६ वैशाख २०८२

काठमाडौँ । व्यक्तिगत भ्रमणमा नेपाल आएका भारतीय जनता पार्टी (भाजपा) का नेता भगतसिंह कोसियारीले राजनीतिक भेटघाट गरेर भारतको पक्षमा समर्थन जुटाउने प्रयास गरेका छन् ।

एक धार्मिक कार्यक्रमका लागि उनी बुधबार नेपाल आइपुगेका हुन् । त्यसक्रममा उनले प्रधानमन्त्री केपी शर्मा, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री रमेश लेखकसँग भेटघाट गरी भारत–पाकिस्तानबिच उत्पन्न द्वन्द्वमा भारतको पक्षमा रहन आग्रह गरेको बताइएको छ । 

आतङ्कवादलाई लिएर अहिले भारत र पाकिस्तानबिच द्वन्द्व चर्किएको छ । यस्तो अवस्थामा कोसियारीले नेपालमा आएर यहाँका नेताहरूसँग भेटघाट गरिरहेका छन् । 
उनी शनिबार स्वदेश फर्किनेछन् ।

यसअघि भाजपाका विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेले नेपाल आएर भारत–पाकिस्तानबिच जारी द्वन्द्वको बारेमा चर्चा गरेका थिए । उनले नेपालको संसदमा प्रतिनिधित्व गर्ने सबैजसो दलका शीर्ष नेतासँग भेटघाट गरेका थिए । यस क्रममा उनले नेपाल–भारतबिच रहेको खुला सीमाका कारण सुरक्षा चुनौती रहेको भन्दै त्यसमा संवेदनशील भइदिन आग्रह गरेका थिए । 

नेता कोसियारीले पनि भारतकै सुरक्षाको विषयमा कुराकानी गरेका छन् । उनी नेपाल भ्रमणमा रहेकै समयमा सरकारले भारतको पक्षमा उभिएको सन्देश दिएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी आतङ्कवाद विरुद्धको लडाइँमा नेपाल सबैसँग एकताबद्ध रहेको प्रस्ट पारेको छ ।

नेपालले भारत र पाकिस्तानबिच बढ्दो तनावप्रति चिन्तासमेत व्यक्त गरेको छ । नेपाल सबै प्रकारका आतङ्कवादको विरुद्धमा रहेको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले यसअघि पहलगमामा भएको आतङ्कवादी आक्रमणको निन्दा गरिसकेको थियो । 

आफ्नो सैद्धान्तिक अडान अनुरूप नेपालले कुनै पनि शक्तिलाई आफ्नो भूमि छिमेकी देशहरूको विरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता पुनः जनाएको छ । मधेसवादी दलहरूले पनि भारतको पक्षमा उभिएका छन् ।

संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले भारतद्वारा आतङ्ककारी अखडामा गरेको हमलालाई समर्थन गरेको छ । शुक्रबार बसेको नेपाली कांग्रेस पदाधिकारी बैठकले यस्तो निर्णय गरेको सो पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले सञ्चारकर्मीलाई जानकारी गराए । भारतले आतङ्कवादको विरुद्धमा गरेको कारबाही जायज रहेको कांग्रेसको भनाइ छ ।

राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार विज्ञप्ति जारी गरी भारतले पाकिस्तानमाथि गरेको आक्रमणको विरोध गरेका छन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आतङ्कवादी घटनाको नाममा निर्दोष जनता मारिनुलाई न्यायसंगत मान्न सकिन्न ।’

शुक्रबार मानव अधिकार तथा शान्ति समाजले नेपालस्थित भारतीय दूतावासका अगाडि प्रदर्शन गर्दै युद्धलाई बढावा दिने काम तत्काल रोक्न र शान्ति प्रवर्द्धन गर्न भारत र पाकिस्तानलाई आग्रह गरेको छ । 

नेपालस्थित भारतीय दूतावासले भारत–पाकिस्तानबिच बढ्दै गएको तनाबको बारेमा नेपाली पत्रकारहरूसँग साँझ छलफल कार्यक्रम राखेको छ । नेता कोसियारी नेपाल–भारत प्रबुद्ध समूह (इपीजी) का भारतीय संयोजक पनि हुन् ।

यस समूहले सन् १९५० को शान्ति तथा मैत्री सन्धि, व्यापार, जलविद्युत् र सीमासम्बन्धी विषय पुनरवलोकन गरी सिफारिस तयार पार्ने जिम्मेवारी पाएको थियो । अहिले इपीजी प्रतिवेदन नै विवादमा छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सो प्रतिवेदन नबुझेको भन्दै प्रधानमन्त्री केपी शर्माले ओलीले पटक–पटक आलोचना गरेका छन् । सो प्रतिवेदन बुझ्न प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री मोदीलाई दबाव दिँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप