ओलीले व्यवस्थाको बदनाम गर्दा प्रतिगामी हौसिए : पुन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले वर्तमान सरकारको गलत रवैयाबाट हौसिएर प्रतिगामी शक्तिले टाउको उठाउने प्रयास गरेको बताएका छन् । पार्टीको रामेछाप–काठमाडौँ सम्पर्क समन्वय समितिको अधिवेशनलाई शनिबार राजधानीमा उद्घाटन गर्दै पुनले राजावादी शक्ति उत्साहित हुनुमा प्रधानमन्त्री केपी ओलीका क्रियाकलाप जिम्मेवार रहेको आरोप लगाएका हुन् ।
ओलीले सहकारी, भुटानी शरणार्थी र मिटर व्याजमा मुछिएका सत्तारुढ दल निकटका व्यक्तिहरूलाई छानिछानी जोगाउने र विपक्षीमाथि प्रतिशोध साँधेको उनको टिप्पणी थियो । ‘ओलीजीले बिचौलियालाई प्रोत्साहन गर्दा प्रतिगामीहरूले चलखेल गर्ने मौका पाएका छन् । सहकारी र मिटर ब्याज प्रकरणमा संलग्न आफ्नालाई छानबिन पनि हुँदैन, मुद्दा पनि चल्दैन, पक्राउ पनि गरिँदैन । तर, विपक्षीलाई खोजीखोजी प्रतिशोध साँध्न खोज्दा व्यवस्थामाथि नै प्रश्न उठाएर प्रतिगामीहरूले फाइदा लिन खोजेका छन् ।’
पुनले दुई तिहाइको शक्तिशाली सरकारले मुलुक र जनताका लागि राम्रो काम गर्नुको साटो उल्टै व्यवस्थाको बदनाम गरेको टिप्पणी गरे । पुनले बिचौलिया र प्रतिगामी शक्तिविरुद्ध आफूहरू सधैँ लड्ने चेतावनी दिए । ‘दलाल, बिचौलिया र आसेपासेलाई जनताको पसिना चुस्न दिएर व्यवस्थाको बदनाम गर्न पाइँदैन’, उनले भने, ‘बिचौलिया र प्रतिगामीहरूलाई परास्त नगरी समाजवादीको यात्रामा अघि बढ्न सम्भव छैन ।’
उनले विगतमा कर्मचारी, सचिवको सरुवा र मन्त्री नियुक्त गर्ने गरेका बिचौलिया वर्ग अहिले सरकार नै फेर्ने हैसियतमा पुगेको उनको भनाइ थियो । सुशासनको पक्षमा काम गर्दा र बिचौलियासँग झुक्न तयार नभएका कारण प्रचण्ड नेतृत्वको तत्कालीन सरकार ढालिएको पुनले बताए ।
आफूहरूले निजी क्षेत्रका सबैलाई नभई लगानी र प्रतिस्पर्धाबिनै लाइसेन्स बेचेर नाफा कमाउने वर्गलाई बिचौलिया भनेको उनको प्रष्टीकरण थियो । फरक प्रसङ्गमा पुनले सार्वभौम नागरिक भइसकेका जनता फेरि रैतीमा फर्कन र वंश परम्पराबाट शासित हुन नचाहने भन्दै प्रतिगामी शक्तिहरू सफल नहुने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
-
१० बजे, १० समाचार : भारत र पाकिस्तान युद्धविराम गर्न सहमत, दुर्गा प्रसाईंले गरे करोडौँ ऋण दुरुपयोग
-
नेताका छोराछोरी व्यवस्थापन गर्न ११ जना पदाधिकारी