आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय
अन्तर्वार्ता

बाबुरामलाई प्रश्न– प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छाडेकोमा पश्चाताप लागेको छैन ?

मङ्गलबार, ३० वैशाख २०८२, २० : ३२
मङ्गलबार, ३० वैशाख २०८२

समाचार सारांश

  • पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारको कार्यशैली र राजनीतिक अस्थिरताको आलोचना गरे।
  • उनले राजनीतिक अस्थिरताको मुख्य कारण शासकीय स्वरुप र निर्वाचन प्रणालीका त्रुटि भएको बताए।
  • भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको वकालत गर्दै यसैले लोकतान्त्रिक स्थिरता ल्याउने विचार राखे।
  • माओवादी आन्दोलनको भविष्यबारे बोल्दै, भट्टराईले अब नयाँ विचार र शक्ति आवश्यक रहेको बताए।

मुलुकलाई सुशासन र समृद्धिको बाटोमा लैजान्छु भनेर ड्राइभिङ सिटमा बसेका कांग्रेस–एमाले नेतृत्वको दुई तिहाइको सरकारले पनि १० महिनामा आम नागरिकमा उत्साह जगाउन सकेको छैन ।

संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन प्रमुख भूमिका खेलेको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र समेत पुरानै संसदीय खेलबाट माथि उठ्न नसकेको आरोप लाग्दै आएको छ ।

सरकार बनाउने र गिराउने खेलमा राजनीतिक दलहरू केन्द्रित हुँदा व्यवस्थामाथि नै अनेकौँ प्रश्न उठ्न थालेको छ । यी चरम निराशालाई अन्त्य गरी समृद्धिको यात्रा कसरी तय गर्न सकिन्छ ? नेपालमा माओवादी आन्दोलनको भविष्य कस्तो छ ? यसै विषयमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईसँग रातोपाटीका संवाददाता गणेश पाण्डेले कुराकानी गरेका छन् । प्रस्तुत छ, भट्टराईसँग गरिएको कुराकानीको सम्पादित अंश :

  • देश चलाउने ड्राइभिङ सिटमा बसेका अहिलेकै नेताहरूले मुलुकलाई सही गन्तव्यमा पुर्‍याउँछन् भन्ने अपेक्षा राख्न सकिन्छ ?

म व्यक्ति र समूह भन्दिनँ । हामीले ठुलो संघर्ष र क्रान्तिपछि राजनीतिक परिवर्तन ल्यायौँ । त्यो राजनीतिक परिवर्तनपछि बनेको संविधानमा राज्यको शासकीय स्वरुप र निर्वाचन प्रणालीमा केही त्रुटि थिए । त्यसलाई नसच्याउँदा राजनीतिक अस्थिरता हुन पुग्यो ।

baburam Bhattarai (2)

राजनीतिक अस्थिरतामा नीतिगत सुधारहरू, केही संरचनात्मक सुधार गम्भीर ढंगले गर्नुपर्थ्यो तर त्यो हुन सकेन । पहिलो कारण यही हो ।

दोस्रो कारण, हाम्रोजस्तो जटिल भूराजनीतिक विश्व परिवेश जोडिएको ठाउँमा इतिहासदेखिका समस्या हल गर्न अत्यन्तै दुरदृष्टिसहित नेतृत्वले दृढता देखाउन नसक्दा यस्तो स्थिति उत्पन्न भएको हो । ६/६ महिनामा सरकार फेरिएका छन्, तर संविधान बने यता तीन जना टाउका र दलले पालैपालो सरकार चलाइराखेका छन् । त्यसकारण १९ को २० हुनेमात्र हो, त्यसले तात्विक रूपमा थपघट केही पनि हुँदैन ।

  • गत असार १७ गते दुई ठुला दल कांग्रेस र एमाले मिलेर सात बुँदे सम्झौता गरेपछि बनेको सरकारको १० महिनाको प्रस्तुति हेर्दा आम जनता सन्तुष्ट देखिएनन् नि ?

समस्या प्रणालीगत रूपमा छ । अहिलेको प्रणालीले दुरदृष्टियुक्त नेतृत्व सत्तामा पुग्न दिँदैन । जोडजाड पारेर सरकार चलाउने, सरकार टिकाउनका निम्ति अनावश्यक ढंगले लेनदेन गर्ने प्रवृत्ति संविधान बनेदेखि नै निरन्तर भइराखेको छ । संविधान बन्नु अगाडि म भन्दिनँ, किनकि त्यो लोकतन्त्र पूर्णता भएको बेला थिएन ।

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान २०७२ साल असोज ३ गते जारी भयो । त्यस यताको घटनाक्रमलाई म जोड दिन चाहन्छु । त्यसअघिको अर्थ छैन ।

मुख्यतः तीन वटा टाउकाले पालैपालो सरकार चलाइराखेका छन् । यिनीहरूको पालामा कुनै तात्विक अन्तर केही आएको छैन । कांग्रेस र एमाले पहिले नै चिनिएका संसदवादी दल थिए । उनीहरूको धर्म भनेको सरकारमा छँदा सकेसम्म राज्यको दोहन गर्ने । सरकारबाहिर आउँदा यसो गर्‍यो भनेर हल्ला गर्ने संसदवादको परिणाम थियो ।

baburam Bhattarai (8)

त्यसकै विरुद्ध लडेर संविधान सभाबाट संविधान बनाउन निर्णायक भूमिका खेल्ने माओवादीको नेतृत्व समेत उनीहरू जसरी नै संसदवादमा फस्न पुग्यो, यो दुर्भाग्य हो । माओवादीले पनि सत्तामा छँदा एउटा कुरा गर्ने र सत्ता बाहिर अर्को कुरा गर्‍यो । यो सबैभन्दा ठुलो बिडम्बना भयो । त्यसैले यो वा त्यो सरकारभन्दा पनि प्रणालीगत सुधार गरौँ । त्यो भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदको व्यवस्थामा नगएसम्म लोकतान्त्रिक स्थिरता हुँदैन । सिङ्गो देशको नै नेता नभएसम्म यस्तै संसदीय जोडजाड गरेर बनाएमा ठिक मान्छे पनि त्यहाँ पुग्दैन । कोही पुगिहाले पनि त्यसले काम गर्न सक्दैन ।

  • छिमेकी मुलुक भारतमा गठबन्धन सरकारले पाँचै वर्ष काम गर्न सक्ने तर नेपालमा नसक्ने किन ?

भारतमा सन् १९४७ मा अंग्रेजबाट मुक्त भयो । त्यतिबेलादेखि नै बेलायती वेस्ट मिनिस्टर प्रणाली अन्तर्गतकै संरचना त्यहाँ बनेको छ । त्यसमै उनीहरू लड्दै, पढ्दै, सिक्दै नयाँ संस्कार निर्माण हुने ठाउँमा पुगे । त्यसमा राजनीति, अर्थनीति, सामाजिक नीति, सांस्कृतिक नीति महत्त्वपूर्ण हुन्छ । संस्कार बन्नका निम्ति पहिले राजनीतिक, आर्थिक प्रणालीमा सुधार गर्नुभयो भने त्यसको अभ्यासको क्रममा संस्कृतिको विकास हुन्छ ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली भएको भए पाँच वर्ष हटाउन सक्दैनथ्यो । गलत गरेछ भने पनि त्यसलाई महाभियोग लगाएर हटाउन सकिन्थ्यो ।

हाम्रोमा भर्खर १० वर्षमात्र भयो संघीय लोकतान्त्रिक गणतन्त्र आएको । त्यसैले हाम्रो संस्था बलिया छैनन् । पहिला संस्था बलियो बनाएर बल्ल व्यक्तिको भूमिका हेर्नुपर्छ ।

  • गणतन्त्र स्थापनापछिकै कुरा गर्दा २०६५ सालमा माओवादीको नेतृत्वमा दुई तिहाइको सरकार बन्यो । त्यस्तै २०७० मा कांग्रेस र एमालेको संयुक्त सरकार बन्यो । २०७४ मा त वामपन्थीले मात्रै झण्डै दुई तिहाइ जनमत पाए । अहिले फेरि कांग्रेस र एमालेको संयुक्त सरकार छ । तर यी कुनै पनि सरकारले प्रभावकारी भूमिका खेलेको देखिँदैन, तपाईंलाई कस्तो लाग्छ ?

स्थिर सरकार बन्नका लागि समय लिन्छ । २०६५ देखि २०७२ सालसम्मको अर्को कुरा हो । त्यतिबेला संविधान बनाउने संविधान सभाको भूमिका बढी थियो । सरकार चलाउने काम प्रमुख थिएन । त्यतिबेलाका सरकारलाई अहिले दाँज्न मिल्दैन ।

baburam Bhattarai (7)

२०७२ मा संविधान जारी गरे यताका सरकार संसदीय ढाँचामा मात्र बने । संसदीय ढाँचामा कुनै एउटा पार्टीको बहुमत नै आएछ भने पनि पार्टी फुट्ने खतरा हुन्छ । एउटै पार्टीको भए पनि सांसदहरूले फ्लोरक्रस गर्ने सम्भावना हुन्छ । त्यसकारण स्थिरता भएन ।

सरकार टिकाउनकै निम्ति आफ्नै दलभित्र डराउनुपर्ने, अन्य पार्टीसँग डराउनुपर्ने, छरछिमेकीसँग डराउनुपर्ने स्थिति आउँछ । त्यतिबेला तपाईंले सुशासन दिन सक्नुहुन्न ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली भएको भए पाँच वर्ष हटाउन सक्दैनथ्यो । गलत गरेछ भने पनि त्यसलाई महाभियोग लगाएर हटाउन सकिन्थ्यो । अथवा चुनावबाट हटाउन सकिन्थ्यो । त्यसैले प्रणालीगत रूपमै मुख्य समस्या हो । किनकि हाम्रो लोकतान्त्रिक संस्कार लामो छैन । हिमाल, पहाड, मधेसको विविधता छ । सम्पूर्ण देशले नै मान्ने नेता नछानेसम्म हुँदैन । त्यसअर्थमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको छुट्टै महत्त्व छ । यसलाई हामीले न्यूनीकरण गरेर अर्कोसँग दाँजेर हेर्न मिल्दैन ।

  • दश वर्षमा कुनै कायापलट गर्न सक्ने अवस्था नदेखिए पनि बिहानीले नै दिउँसोको अवस्था देखाउँछ भनेजस्तै अहिलेसम्ममा देशको भविष्यको खाका कोर्न सक्नुपर्ने होइन ?

बलियो प्रणाली भइदिएको भए २७५ जना सांसदले छानेको प्रधानमन्त्री भन्दा दुई करोड जनताले छानेको राष्ट्रपति बढी राम्रो हुन्थ्यो । यो गणितको सामान्य सिद्धान्तको सम्भावनाले पनि भन्छ । उसले देशविदेशका विज्ञहरूलाई लिएर अर्थनीति, परराष्ट्रनीति लगायतका ठिक नीति तय गर्न सक्थ्यो र ढुक्कसँग कार्यान्वयन गरेर जान सक्थ्यो । यसकारण प्रणालीगत रूपमै हामीकहाँ मुख्य समस्या हो भन्ने मेरो दृढ मत छ । जबसम्म हामी यसमा जाँदैनौँ, तबसम्म देशले विकासको गति लिन सक्दैन ।

अर्को पाटो जटिल भूराजनीति छ । यसको सन्तुलन मिलाउनका निम्ति जब देशभित्रै राजनीतिक स्थिरता हुँदैन, तब सरकार टिकाउनकै निम्ति आफ्नै दलभित्र डराउनुपर्ने, अन्य पार्टीसँग डराउनुपर्ने, छरछिमेकीसँग डराउनुपर्ने स्थिति आउँछ । त्यतिबेला तपाईंले सुशासन दिन सक्नुहुन्न । समृद्धि पनि ल्याउन सक्नुहुन्न ।

baburam Bhattarai (6)

नेपालको पिछडिएको आर्थिक सामाजिक अवस्था, जटिल भूराजनीति, लोकतान्त्रिक संस्कृतिको अभाव आदि कारणले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानु नै प्रस्थान विन्दु हो । अन्तिम त म भन्न सक्दिनँ तर प्रस्थान विन्दु त्यही हो ।

  • प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको तपाईं वकालत गरिरहनु भएको छ । संसदले चुनेको प्रधानमन्त्री त निरंकुश बन्यो, अधिनायकवाद लाद्यो भनेर विरोध भइराखेको छ । कार्यकारी राष्ट्रपतिचाहिँ तानाशाह बन्ने खतरा हुन्न ?

यी त २७५ जना सांसदले छानेका प्रधानमन्त्री हुन् । भोलि दुई करोड जनताले छान्ने राष्ट्रपतिमा प्राइमरी प्रक्रिया अपनाउन सकिन्छ । उम्मेदवार छनोट प्रक्रियामै प्राइमरी निर्वाचन गर्न सकिन्छ । त्यसमा पचास प्रतिशत नै ल्याउनुपर्ने हुन्छ । यसले गर्दा अहिलेका नेतृत्वभन्दा असल आउँछ भनेर गणितको नियमले नै भन्छ । त्यसैले प्रणालीगत त्रुटि नै नसच्याएसम्म व्यक्तिको टिकाटिप्पणी गरेर कहीँ पुगिँदैन ।

हिजोकै माओवाद, क्षेत्रीयतावाद भनेर अब हुँदैन, तर जुन स्प्रिट थियो, त्यसलाई कायम राखेर अहिलेको नयाँ विचारमा भनेर हुँदैन ।
  • २०६४ सालदेखि २०७४ सम्म निरन्तर जित्दै आएको आफ्नो निर्वाचन क्षेत्र प्रचण्डलाई छोडेर गल्ती गरिएछ भनेर पश्चताप लागेको छैन तपाईंलाई ?

पश्चाताप त होइन बरु सिकियो । किनकि म एउटा व्यक्तिले मात्र गर्ने होइन, समूहले मिलेर गर्नुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति हुँ । माओवादी आन्दोलन र जनजाति/मधेसी आन्दोलन पछिल्ला आन्दोलन भएको हुनाले यिनै साथीहरूलाई मिलाएर जान पाए हुन्थ्यो भन्ने मेरो सोच थियो ।

हिजोकै माओवाद, क्षेत्रीयतावाद भनेर अब हुँदैन, तर जुन स्प्रिट थियो, त्यसलाई कायम राखेर अहिलेको नयाँ विचारमा भनेर हुँदैन । अहिले मूल्य र मान्यतामा आधारित समाजवाद भनेर जाउँ । हाम्रो संविधानले पनि त्यही भन्छ । त्यस्तो शक्ति निर्माण गरेर जान सकिन्छ कि भनेर मैले प्रयत्न गरेको हो ।

मधेसवादी, जनजातिसँग सहकार्य गरौँ । माओवादीभित्र पनि पुरानै बाटोबाट भएन, नयाँ ढंगले जानुपर्‍यो भन्ने कुरा भएको हुनाले ठिक छ, नयाँ ढंगको समाजवादी लोकतान्त्रिकमा आधारित समाजवादतिर जाने हो भनेर माओवादी नेतृत्वले भनिसकेपछि त्यतिबेला सदासयता देखाएको हो ।

तर दुःखको कुरा, नानीदेखिको बानी भनेजस्तो उहाँले फेरि उही पुरानै कुरा देखाइहाल्नुभयो । संसदवादमा खेल्ने र रमाउन थाल्नुभयो । त्यसकारण यो एउटा शिक्षा भयो भन्छु म । कसैलाई दोष दिनुभन्दा पनि पाठ सिकेर अब उहाँबाट हुँदो रहेनछ, आशा गर्नु भनेको फलदायी कुरा हुँदो रहेनछ भन्ने निष्कर्षमा म पुगेको छु । अब नयाँ युवा पुस्ता वैकल्पिक ढंगले जाउँ भनेर जुन शक्ति उदय भइराखेको छ, तिनीहरूसँग सहकार्य गरेर देशमा एउटा बलियो र भरपर्दो शक्ति दिनुपर्छ भन्ने मलाई लाग्छ । मेरो प्रयत्न त्यसमै केन्द्रित छ ।

baburam Bhattarai (5)

  • शान्ति प्रक्रियामा आएपछिको १८ वर्ष कांग्रेस र एमालेसँग लसपस गरेर बिग्रिएँ भन्दै प्रचण्ड आम जनतामा जानुभएको छ । वर्ग समुदायसँग माफी पनि माग्नुभएको छ । सच्चिन्छु भन्नुभएको छ । त्यो सम्भावना देखिन्छ ?

यसमा म केही टिप्पणी गर्न चाहन्नँ । बाहिर आइराखेकै छन् । बिहान र दिउँसो के हुन्छ ? राति के हुन्छ ? त्यसैले म त्यता टिप्पणी गर्न चाहन्नँ । अब उहाँबाट आशा गर्नु उपयुक्त हुँदैन । त्यो जनतालाई धोकामात्रै हो ।

  • त्यसोभए पर्दाभित्र एउटा, पर्दा बाहिर अर्को कुरा गर्ने कम्युनिस्टहरू बढी ढोंगी हुने रहेछन् त ?

कम्युनिस्ट वा गैरकम्युनिस्ट म भन्दिनँ । हाना आरेट भन्ने एक जना दार्शनिक हुनुहुन्छ । उहाँले क्रान्ति सम्पन्न भएको भोलिपल्ट क्रान्तिकारीहरू अवसरवादीमा परिणत हुन्छन् भनेर लेख्नुभएको थियो । त्यसकारण यो सबै देशमा उस्तै हुन्छ । मानिस जन्मदैमा खराब भन्ने हुँदैन । खराब र राम्रो दुवै गुणसहितको मान्छे हुन्छ । जब मानिस सत्तामा पुग्छ, तब उल्टो रुपान्तरण हुन थाल्छ । स्वार्थी, लोभी हुँदै जाने क्रमले बिग्रिन्छ ।

अब नयाँ युगमा पुगेपछि नयाँ ढंगले जानु परेन ? जमिनसम्मको यात्रा हामी गाडीमा जान्छौँ । समुद्र आएपछि समुद्रमै गाडी लिएर गयो भने दुर्घटना परिहाल्छ नि ।

त्यसरी नै हाम्रो माओवादी आन्दोलनमा लागेका साथीहरूको ठुलो तप्का विचलित भएका छन् । उहाँहरूबाट सुध्रने सम्भावना म देख्दिनँ । तर त्यो आन्दोलनभित्र रहेका, हिजो दुःख, कष्ट भोगेका र अब नयाँ आउने साथीहरू मिल्यौँ भने देशमा छिटै भरपर्दो शक्ति निर्माण गर्न सकिन्छ ।

  • माओवादी शक्ति निर्माणमा तपाईंको पनि ठुलो त्याग र समर्पण थियो । अहिले बाहिर बसेर चित्रण गर्दैगर्दा माओवादी केन्द्रको भविष्य कस्तो देख्नुहुन्छ ?

माओवादी आन्दोलनको चरण पूरा भइसकेको छ । जसरी हामीले नेपालको अनुकूलतामा नयाँ ढंगले आन्दोलनलाई लिएर जाँदा संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुगेको हो । यदि हामीजस्तो मानिसले नयाँ ढंगले प्रयोग नगरेको भए या शास्त्रीय ढंगले मात्रै जान्छु भनेको भए त्यो आन्दोलन कि त पेरु कि त थाइल्याण्ड जस्ता देश भएर सिद्धिएर जानेथियो ।

२०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि त्यो अध्याय पूरा भयो । विकास र समृद्धि ल्याउने नयाँ युगमा हामी प्रवेश गर्‍यौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति पनि बदलियो । यसले हाम्रो विचारलाई पनि परिवर्तन गरेर पार्टीलाई नयाँ ढंगले लानुपर्छ भनेकै हो ।

माओवादीका धेरै साथीहरूले अझै पनि यी कुरा बुझ्नुुहुन्न । बाबुरामले माओवादी छोड्यो भन्दैछन् । माओवादी आन्दोलन पूरा भएको हो । अब नयाँ युगमा पुगेपछि नयाँ ढंगले जानु परेन ? जमिनसम्मको यात्रा हामी गाडीमा जान्छौँ । समुद्र आएपछि समुद्रमै गाडी लिएर गयो भने दुर्घटना परिहाल्छ नि । समुद्रमा पुगेपछि कि पानीजहाज कि हवाइजहाज चढ्नु परेन ? त्यसकारण संघीय लोकतान्त्रिक गणतन्त्र जारी गर्नुसम्मको एउटा यात्रा थियो । त्यसमा माओवादी आन्दोलनले प्रमुख भूमिका खेल्यो । यसमा अरुले सहयोग गरे ।

baburam Bhattarai (1)

त्यसपछिको यात्रा समृद्धिको हो, त्यसमा नयाँ विचारसहितको नयाँ शक्ति चाहिन्छ भन्ने मेरो सुविचारित भनाइ हो । त्यसकारण माओवादीभित्रका साथीहरूले पुनर्विचार गर्नुपर्छ । त्यहीँभित्र बसेर बनाउँछु भनेर कतै पुग्दैन ।

अहिले माओवादीको नेतृत्व गरेका पुराना साथीहरू थकित र गलित भइसक्नुभएको छ । उहाँहरू बाहिर कार्यकर्तालाई हिजोको क्रान्तिकारी देखाउनुहुन्छ । भित्रभित्रको गतिविधि बाहिर छरपस्ट भएर आइसकेको छ ।

हिजोमात्र टर्कीका कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) का नेता अब्दुल्लाह ओकलानले २५ वर्ष जेलमा बसिसकेको अवस्थामा अब आन्दोलनको औचित्य छैन भनेर त्यो आन्दोलन विघटन गर्न भन्नुभएछ । गोन्जालोको पनि त्यस्तै भयो । उहाँ जेलमै मर्नुभयो । आन्दोलन सकियो । टर्कीको पीकेके पनि वामपन्थीहरूको ठुलो आन्दोलन हो ।

त्यसकारण फर्केर हेर्दा हामीले धेरै बुद्धि–विवेक प्रयोग गरेर माओवादी आन्दोलनलाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुर्‍याएछौँ । त्यतिबेला बाबुराम अवसरवादी हो भनेर आरोप लगाए । मैले सिर्जनशीलता प्रयोग गरी त्यसो नगरेको भए पीकेकेजस्तै माओवादी आन्दोलन खतरामा थियो भनेर भन्न खोजेको हो । त्यसो नगरेको भए संघीय लोकतान्त्रिक गणतन्त्र आउँदैनथ्यो ।

४० सूत्रीय मागको ड्राफ्ट मैले नै गरेको हो । भित्री रूपमा युद्ध त एउटा साधन थियो । तत्कालीन लक्ष्य संविधान सभामार्फत संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने थियो । यान्त्रिक ढंगले गएको भए अहिलेको उपलब्धि हुने थिएन ।

अहिले माओवादीको नेतृत्व गरेका पुराना साथीहरू थकित र गलित भइसक्नुभएको छ । उहाँहरू बाहिर कार्यकर्तालाई हिजोको क्रान्तिकारी देखाउनुहुन्छ । भित्रभित्रको गतिविधि बाहिर छरपस्ट भएर आइसकेको छ । यसबाट सिक्नुपर्छ साथीहरूले । त्यसकारण नयाँ ढंगले जानुपर्छ । म आग्रह गर्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप