सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राहत शिक्षकहरूले बनाए समानान्तर समिति, माग पूरा नभए असार १५ पछि आन्दोलन

‘सामाजिक सुरक्षा कोषमा जाने, आन्तरिक प्रतिस्पर्धामा नजाने’
बुधबार, ३१ वैशाख २०८२, १५ : ४९
बुधबार, ३१ वैशाख २०८२

सारांश

  • शिक्षक महासंघसँगको सहमतिप्रति असन्तुष्ट रही राहत शिक्षकहरूले नयाँ राष्ट्रिय समिति गठन गरेका छन्।
  • नयाँ समितिका अध्यक्ष विष्णु खत्रीले सामाजिक सुरक्षा कोषमा आवद्धता, आन्तरिक प्रतिस्पर्धा नगर्ने लगायतका माग राखेका छन्।
  • समितिले ९ बुँदे माग पूरा नभए असार १५ गतेपछि आन्दोलन गर्ने चेतावनी दिएको छ।
  • राहत शिक्षकहरूले उमेर हद हटाउनुपर्ने र गोल्डेन ह्याण्डसेकको सुविधाको माग गरेका छन्।

काठमाडौँ । सरकार र शिक्षक महासंघबिच भएको सहमतिप्रति असहमति जनाउँदै राहत शिक्षकहरूले छुटै राष्ट्रिय समिति गठन गरेका छन् । हालै महोत्तरीको बर्दिबास भएको भेलाले विष्णु खत्रीको अध्यक्षमा २९ सदस्यीय नयाँ नेपाल राहत शिक्षक राष्ट्रिय समिति गठन गरेका हुन् । 

बुधबार संवाद डबलीमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खत्रीले सामाजिक सुरक्षा कोषमा जाने, आन्तरिक प्रतिस्पर्धा नगर्ने लगायतका माग राखे । ‘राहत दरबन्दीमा कार्यरत सम्पूर्ण शिक्षकहरूलाई पेसागत सुनिश्चिततासहित योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गरी उमेर हदसम्म पेसागत निरन्तरता दिनुपर्छ, कार्यरत सम्पूर्ण राहत शिक्षकहरूको बिरामी बिदाको अभिलेख कायम गरी अनिवार्य वा स्वैच्छिक अवकाश हुँदाका बखत आर्थिक सुविधा उपलब्ध गराउनु पर्छ’ खत्रीले भने । 

त्यसैगरी खत्रीले राहत शिक्षकहरूलाई सरुवा गर्नुपर्ने, दुर्गम भत्ताको व्यवस्था गरिनुपर्ने बताए । आफूहरूले ९ बुँदे माग पूरा नभए असार १५ गतेपछि आन्दोलनमा उत्रिने अध्यक्ष खत्रीले जानकारी दिए । 

पत्रकार सम्मेलनमा महासचिव जीवन तिमिल्सिनाले राहत शिक्षकलाई शिक्षा सेवा आयोगको खुल्ला परीक्षामा सहभागी हुन चाहने राहत दरबन्दीमा कार्यरत शिक्षकहरूलाई उमेर हद हटाउनु बताए । उप–महासचिव कृष्णप्रसाद अधिकारीले अनिवार्य वा स्वैच्छिक अवकाश हुँदाका बखत गोल्डेन ह्याण्डसेकको सुविधा उपलब्ध हुनु पर्ने बताए । 

त्यस्तै समितिका केन्द्रीय सदस्य इन्द्रजीत देवकोटाले प्रशासनिक कार्यमा राहत शिक्षकलाई पनि नियुक्तिका आधारमा वरिष्ठता कायम हुनु माग समेत राखे । 

नेपाल राहत शिक्षक राष्ट्रिय समितिको नवौँ र दशौँ पूर्ण बैठकले सर्वसम्मत ‘सम्पूर्ण राहत शिक्षकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरी उमेर हदसम्म पेसागत निरन्तरता दिने’ भन्ने निर्णय गरेर उक्त निर्णय लत्त्याइ सरकारसँग वार्तामा जाँदा ‘आन्तरिक परीक्षाद्वारा सफल भए स्थायी हुने र असफल भए गोल्डेन ह्याण्डसेक लिने’ भन्ने विषय राखेको भन्दै अधिकांश राहत शिक्षकहरूले विरोध जनाउँदै छुटै समिति गठन गरेका छन् । 

खत्री नेतृत्वको समितिले सरकारले पूरा गर्न सक्ने माग मात्रै राखेर अगाडि बढ्ने पनि जनाएको छ । 

  • यस्तो ९ बुँदे मागहरू 

१. राहत दरबन्दीमा कार्यरत सम्पूर्ण शिक्षकहरूलाई पेसागत सुनिश्चितता सहित योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गरी उमेर हदसम्म पेसागत निरन्तरता दिनु पर्ने ।

२. कार्यरत सम्पूर्ण राहत शिक्षकहरूको बिरामी बिदाको अभिलेख कायम गरी अनिवार्य वा स्वैच्छिक अवकाश हुँदाका बखत आर्थिक सुविधा उपलब्ध गराउनु पर्ने ।

३. सरुवाको व्यवस्था हुनु पर्ने ।

४. दुर्गम भत्ताको व्यवस्था हुनु पर्ने ।

५. प्रशासनिक कार्यमा नियुक्तिका आधारमा वरिष्ठता कायम हुनु पर्ने ।

६. औषधि उपचार खर्च सुविधाको व्यवस्था हुनु पर्ने । 

७. शिक्षक सेवा आयोगको खुल्ला परीक्षामा सहभागी हुन चाहने राहत दरबन्दीमा कार्यरत शिक्षकहरूलाई उमेर हद हटाउनु पर्ने । 

८. अनिवार्य वा स्वैच्छिक अवकाश हुँदाका बखत गोल्डेन ह्याण्डसेकको सुविधा उपलब्ध हुनु पर्ने । 

९. अनिवार्य/स्वैच्छिक वा विविध कारणले रिक्त हुन आउने राहत कोटालाई स्वतः स्वीकृत दरबन्दीमा रूपान्तरण गरी खुल्ला विज्ञापनको माध्यमबाट पदपूर्ति गरिनु पर्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप