शुक्रबार, ०२ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

बिहीबार, ०१ जेठ २०८२, १५ : ०५
बिहीबार, ०१ जेठ २०८२

समाचार सारांश

  • विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।
  • कास्कीको पोखरामा हाईस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ जना घाइते।
  • चितवनमा स्कुटरलाई स्कार्पियोले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु, स्कार्पियो चालक पक्राउ।
  • सर्लाही, कञ्चनपुर र सिराहामा भएका दुर्घटनामा पैदलयात्री, ट्याक्टरबाट खसेका व्यक्ति र मोटरसाइकल चालकको मृत्यु।

काठमाडौँ । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।   

  • कास्की, पोखरा महानगरपालिका-३२ लामेआहालस्थित सडकमा धादिङबाट पोखरातर्फ जाँदै गरेको ग.१ ज ८६३० नम्बरको हाईस अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा हाईसमा सवार ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा पोखरा महानगरपालिका-२५ हेम्जा बस्ने ५१ वर्षीया झाङमाया गुरुङ, धादिङ ज्वालामूखी गाउँपालिका-५ खरी घर भएकी ४५ वर्षीया तिल कुमारी आचार्य र धादिङ निलकण्ठ नगरपालिका-२ भुलभुले बस्ने १५ वर्षीय आगम गुरुङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका हाईसमा सवार अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।  
  • चितवन, भरतपुर महानगरपालिका-२ लायन्सचोकस्थित सडकमा बा.प्र.०६-०१ प ११७३ नम्बरको स्कुटरलाई बा.१५ च १७३७ नम्बरको स्कार्पियोले गए राति ठक्कर दिँदा स्कुटर चालक सोही महानगरपालिका-१५ मंगलपुर बस्ने ५३ वर्षीय दिपक ढुङ्गानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
  • सर्लाही, ब्रहम्पुरी गाउँपालिका-२ भेल्ही फुलजोरस्थित सडकमा बीआर ३० डब्लु ३२५२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-२ बस्ने ५० वर्षीय राम प्रताप पण्डितको मृत्यु भएको छ । मोटरसाइकलले गए राति ठक्कर दिँदा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल वीरगन्जमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत २ जनाको एलएस न्यूरो अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । 
  • कञ्चनपुर, भीमदत्त नगरपालिका-९ ब्रहमदेवस्थित सडकमा म.१ त ९२५ नम्बरको ट्याक्टरबाट खसेर सोही नगरपालिका-८ तिलाचौर बस्ने ४२ वर्षीय नकुल रानाको बुधबार दिउँसो मृत्यु भएको छ । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
  • सिराहा, धनगढीमाई नगरपालिका-९ मिलन चोकस्थित सडकमा प्र.३-०२-००६ प ४११७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-१२ गुठी बस्ने २७ वर्षीय नागेश्वर यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सप्तऋषि अस्पताल लहानमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप