बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संस्कृति

सप्तरीस्थित ठकन झाको ‘त्रिशक्ति मन्दिर’

बिहीबार, ०१ जेठ २०८२, १५ : १९
बिहीबार, ०१ जेठ २०८२

सप्तरी निवासी स्वर्गीय पं. ठकन झा एक नामी तान्त्रिक थिए । ‘ठकन’ उनको बालापनको बोलाउने नाम थियो र पछि यही नामबाट उनी आफ्नो कार्यक्षेत्रमा प्रख्यात भए तर उनको कागजी नाम नारायण झा थियो । उनले घोघडिहाबाट माध्यमिक शिक्षा र बनारसबाट तीन विषयमा स्नातकोत्तर प्राप्त गरी आचार्यको उपाधि प्राप्त गरेका थिए । उनी ‘दैवज्ञ’ र ‘त्रिपुल आचार्य’को पदवीबाट विभूषित भए । 

राजविराजमा २०१३ पुस १३ गते त्रिभुवन स्मारक (हालको गजेन्द्र स्मारक)लाई राजा महेन्द्रले अनावरण गरेका थिए । स्थानीय जसकारण चौरडिया (बडीगद्दी) ले निर्माण गराएको त्यस स्मारकको अनावरण मुहूर्तमा यिनै नारायण झा पुरोहित थिए । कर्मकाण्ड विधामा उनको दक्खलबाट प्रशन्न भएर राजा महेन्द्रले उनलाई ‘दैवज्ञ’ पदवी प्रदान गरेका थिए ।

त्रिपुल आचार्य नारायण झाले शिष्यहरूलाई दिक्षा पनि दिने गरेका थिए । नेपाल र भारतमा उनका शिष्य छन् । उनी श्रीमद्भागवत् र देवी भागवत पुराण वाचन गरी आएका थिए । यसरी उनको वास्तविक चिनारी गुरु, पण्डित दैवज्ञ नारायण झा शास्त्री (त्रिपाल आचार्य) का रूपमा थियो । तथापि उनलाई सर्वसाधारणले तान्त्रिक ठकन झा भनेरै पुकारे ।Trishakti Temple (6)

सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका– ७, विष्णुपुरका श्यामादेवी (माता) तथा पं. जयकृष्ण झाको पुत्रका रूपमा १९८४ जेठ २७ गते जन्मेका उनको देहावसान ८४ वर्षको उमेर (२०६८ कार्तिक १०) मा भयो । उनका पितामह पं. बिर्जु झा निकै कहलिएका ज्योतिष थिए । उनलाई दरभंगा महाराज कामेश्वर सिंहको दरबारमा उच्च स्थान प्राप्त थियो । दरभंगा महाराजबाट उनलाई सय बिघा जग्गा दान प्राप्त भएको थियो । उनैका नाति नारायण झाले ज्योतिषी, वास्तुशास्त्र–हस्तरेखा विज्ञ, कर्मकाण्डका पुरोधा, वेदपुराणका वाचक‌ तथा गुरु–शिष्य परम्पराका संवाहक भएर जनजनको सेवा मात्र गरेनन् आदि शक्ति–त्रिशक्ति देवी चण्डी, काली, भगवतीको प्रतिमासँगै मुक्तेश्वर शिवलिङ्ग स्थापना गरेर मन्दिरहरूको निर्माण गरी लोक कल्याणका लागि कृत्य समेत गरेर गएका छन् ।

पं. दैवज्ञ नारायण झा जीवनभर व्यस्त रहे । उनले आफ्नो जीवनको अन्तिम अध्यायमा मात्र मन्दिरको निर्माण कार्यलाई दिन सके । मुक्तेश्वर शिवलिङ्गको स्थापना पनि छोराहरूले सम्पन्न गरे । त्रिशक्ति मन्दिरको प्राण प्रतिष्ठाको केही समयपछि उनको देहावसान भयो । 

पं. दैवज्ञ नारायण झाका चारजना छोराहरूमा विनोद झा, प्रमोद झा, अमोद झा र सुबोध झा छन् । तीनजना छोराले पिताका वृत्तिलाई निरन्तरता दिएका छन् भने सुबोध झा राष्ट्रिय राजधानीमा कार्यरत छन् । 
मन्दिरमा पुजारीका रूपमा भेटिएका माहिला छोरा प्रमोद झाका अनुसार मन्दिरमा देवी–देवताहरूको दैनिक रूपमा पूजा हुँदै आएको छ । स्थानीय समुदायले धार्मिक गतिविधि गर्दै आएका छन् । यस मन्दिरबारे बाहिरका मानिसहरूमा प्रचारप्रसार हुन सकेको छैन । 

यो मन्दिर राजविराज–सखडा सडकमा विष्णुपुर नहरचौकदेखि २०० मिटर उत्तरमा छ, सडकदेखि पूर्वपटि १०० मिटरभित्र । सडकदेखि मन्दिरतिर जाने साँगुरो गल्ली छ, सडकबाट मन्दिर देखिँदैन । सडकमा मन्दिर जाने बाटो भनी कुनै संकेत राख्नुपर्ने देखिन्छ । जेठा छोरा विनोद झाका अनुसार सडकबाट मन्दिरतिर जाने गल्लीको मुखमा पक्की प्रवेशद्वार निर्माण गरी दिन विष्णुपुर गाउँपालिकाका मेयर उमेश यादवलाई आग्रह गरिएको छ ।

मन्दिरको अवस्थिति हेर्दा यहाँ अझै केही निर्माण व्यवस्थापनको काम बाँकी छ । यस मन्दिरको प्रचारप्रसार हुन सके दर्शनार्थी बढ्ने देखिन्छ । 

मन्दिर मानसिक शान्ति र आनन्द प्राप्त गर्ने एक पवित्र स्थलका रूपमा रहेको हुन्छ । मन्दिरको शान्त र पवित्र वातावरणले व्यक्तिलाई मानसिक शान्ति प्रदान गर्छ । thakan

मन्दिर सामुदायिक एकताको केन्द्र हुन्छ । जहाँ आउने–जाने क्रममा समुदायका मानिस भेटिन र संवाद गर्न सक्छन् । 
कला, वास्तुकला, धार्मिक रीतिरिवाज र सांस्कृतिक सम्पदाको संरक्षणका रुपमा समेत रहेको हुन्छ मन्दिर । त्यसैले कुनै पनि मन्दिर जहिले जो जसले बनाए पनि त्यसको संरक्षण स्थानीय समुदायदेखि स्थानीय निकायसम्मले गर्दै आएको छ । यसर्थ यस मन्दिरको प्रवर्द्र्धन र प्रचारप्रसार गर्नतिर सरोकारवालाहरूले चासो देखाउन आवश्यक छ ।
(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दक्खल राख्छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अजयकुमार झा
अजयकुमार झा
लेखकबाट थप