आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

अमेरिकाको १० सहरमा ‘कमेडी दरबार इन अमेरिका’ हुने

आइतबार, ०४ जेठ २०८२, ०८ : ३७
आइतबार, ०४ जेठ २०८२

काठमाडौँ  । अमेरिकामा ‘कमेडी दरबार इन अमेरिका’ हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै आर्यन फिल्मस् प्रोडक्सन प्राइभेट लिमिटेडले यसको जानकारी दिएको हो । कम्पनीले शनिबार बिहान ‘कमेडी दरबार’ निर्माता कम्पनी माया इन्टरटेन्मेन्ट स्टुडियोसँग औपचारिक सम्झौता गरेको हो ।

कार्यक्रमका लागि आर्यन फिल्मस्का तर्फबाट सिइओ गोपाल कटुवाल तथा ‘कमेडी दरबार’ निर्माण कम्पनीकी श्रद्धा प्रसाईँले हस्ताक्षर गरेकी थिइन् । कार्यक्रम सम्झौताको हस्ताक्षरपछि बोल्दै आर्यन फिल्मस्का सिइओ कटुवालले आफ्नो कम्पनीले फिल्म तथा म्यूजिक भिडियो निर्माणमा लामोसमयदेखि सक्रिय रहँदै आएको भएपनि अन्तर्राष्ट्रिय स्तरमा पहिलोपटक काम गर्न लागेको बताउँदै अमेरिकाका बढिभन्दा बढी नेपालीका माझमा पुग्ने लक्ष्य राखेको बताए।

यसैगरी ‘कमेडी दरबार’की निर्देशक श्रद्धा प्रसाईँले आफ्नो कार्यक्रमको अन्तर्राष्ट्रिय यात्रालाई लिएर उत्साहित रहेको बताइन्। ‘सेप्टेम्बर अक्टोबरमा  ‘कमेडी दरबार इन अमेरिका’ लिएर हामी अमेरिका आउँदैछौं । हामी एकदमै उत्साहित भएर पर्खिरहेका छौँ‘, उनले भनिन् ।

यसैगरी आर्यन फिल्मसका अध्यक्ष रमेश एमके पौडेलले हाँसो एउटा औषधिसमेत रहेको उल्लेख गर्दै नेपालीभाषीको मनोरञ्जनको चाहानालाई पूरा गर्न अमेरिकामा कार्यक्रम गर्न लागिएको बताए। पौडेलले अमेरिका १० वटा राज्यका १६ स्थानमा कार्यक्रम गर्ने योजना रहेको जानकारी दिए।

‘अमेरिकामा बसोबास गर्ने हाम्रा नेपाली दाजुभाइका लागि हाम्रो कार्यक्रमले हाँसोको औषधिको काम गर्नेछ । अमेरिकाका १० राज्यका १६ भिन्न स्थानमा कार्यक्रम गर्ने हाम्रो योजना छ‘, उनले भने ।

कार्यक्रम टेक्सास, न्यूयोर्क, ओहायो, मेरिल्याण्ड, भर्जिनिया, क्यालिफोर्निया, कोलोराडो, न्यू जर्सी, फ्लोरिडा र ओक्लोहामामा आयोजना हुनेछ ।

अमेरिकाको कार्यक्रमको व्यवस्थापनका अमेरिका बस्दै आएका चर्चित नेपाली व्यवसायी तथा समाजसेवी पासाङ लामा जोडिएका छन् । लामा सन् २०२० मा रिटेल व्यवसायीमा नम्बर एक अवार्ड पाउन सफल व्यवसायीसमेत हुन् । लामाका अमेरिकाका विभिन्न राज्यमा डेढ सय वढी ग्यास स्टेसन तथा रिटेल स्टोर सञ्चालनमा छन् ।

कार्यक्रमका लागि डेढदेखि दुई करोड नेपाली रुपैयाँ खर्च हुने अनुमान पौडेलले गरेका छन् । कार्यक्रममा ‘कमेडी दरबार’का अधिकांश कलाकार सहभागी थिए । उनीहरुले पनि अमेरिकामा कार्यक्रम हुन लागेको खुसी व्यक्त गर्दै पूर्ण मनोरञ्जनका लागि तयार रहन अमेरिकावासी नेपालीहरूलाई आग्रह गरे।

कार्यक्रममा सुजाता श्रेष्ठ, विश्वास तिम्सिना, पवित्रा साकी, सुन्दर खनाल, हिमेश पन्त तथा विकास अर्याल उपस्थिति थिए ।

आर्यन फिल्मस् सिनेमा तथा म्यूजिक भिडियो निर्माणमा संलग्न कम्पनी हो । कम्पनीले आफ्नो व्यानरमा ‘रुद्रप्रिया’, ‘राज्जा रानी’, ‘तिम्रो मेरो साथ’ लगायतका सिनेमा निर्माण गरिसकेको छ । कम्पनीले बोधी एचडी च्यानलमार्फत डिजिटल प्लेटफर्मसमेत सञ्चालन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप