प्राविधिक शिक्षा : सम्भावनाको नयाँ बाटो

नेपालजस्तो विकासोन्मुख देशमा प्राविधिक शिक्षा समृद्धिको मेरुदण्ड मानिन्छ । युवा जनशक्तिलाई दक्ष र उत्पादनशील बनाउन प्राविधिक शिक्षा अत्यन्त महत्त्वपूर्ण र उपयोगी छ । सीपमुखी, व्यावसायिक तथा व्यावहारिक शिक्षाले विद्यार्थीलाई विशेष दक्षता तथा सीपको विकास गराउँछ भने यस्तो शिक्षाको अध्ययनपछि विद्यार्थी रोजगारी वा स्वरोजगारमा लाग्न सक्षम र दक्ष भई आत्मनिर्भर हुन्छन् ।
आजको २१औँ शताब्दीमा राष्ट्रको विकासको मेरुदण्ड भनेकै दक्ष जनशक्ति हो । त्यसैले अब परम्परागत किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप, प्राविधिक दक्षता र नवीनतम सोच आवश्यक बनिरहेको छ । यही आवश्यकता पूरा गर्न प्राविधिक शिक्षा सम्भावनाको नयाँ र सबल बाटो बनेको छ । नेपालको प्राविधिक शिक्षा र व्यावसायिक तालिम प्रणालीलाई विकास, नियमन र प्रवर्द्धन गर्न २०४५ सालमा नेपाल सरकारद्वारा स्वायत्त संस्थाको रूपमा स्थापना गरिएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)मार्फत सञ्चालन गरिएका विभिन्न छोटो तथा लामो प्राविधिक कार्यक्रमबाट उत्र्तीण भएका विद्यार्थीमध्ये करिब ६० प्रतिशत युवा रोजगारमा वा स्वरोजगारमा संलग्न छन् ।
राष्ट्रिय तथ्यांक (नेपाल लिभिङ स्ट्यान्डर्ड सर्वे २०२२–२३) ले नेपालको कुल बेरोजगारी दर १२.६० प्रतिशत देखाएको छ भने विगत पाँच वर्षमा १.२ प्रतिशतले वृद्धि भएको र युवाहरूमा बेरोजगारी दर अझै उच्च रहेको प्रतिवेदन प्रस्तुत गरेको छ । विशेष गरी युवामा बेरोजगारी अझै भयावह बन्दै गएको छ, जसले देशको समग्र विकासमा चुनौती खडा गरिरहेको छ । यस्तो अवस्थामा प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकतामा राखेर योग्य, सक्षम र उत्पादनशील जनशक्ति निर्माण गर्नु समयको माग हो । सूक्ष्म, लघु र घरेलु उद्यमको प्रवर्द्धन, निजी क्षेत्रसँग सहकार्य र रोजगारी सिर्जनाका अवसर विस्तार गर्नु आवश्यक छ । साथै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) जस्ता संस्थाहरूको संरक्षण, सुदृढीकरण र पहुँच विस्तार गर्नु बेरोजगारी न्यूनीकरणको महत्त्वपूर्ण आधार बन्न सक्छ ।
प्राविधिक शिक्षाले थोरै खर्चमा ठुला सम्भावनाहरू जन्माउँछ । विशेष गरी मध्यम तथा न्यून आय भएका परिवारका युवाका लागि यो उज्यालो भविष्यको कुञ्जी साबित हुन सक्छ । अब राज्यले शिक्षा नीतिको केन्द्रमा व्यावहारिक सीपलाई राख्दै युवालाई केवल रोजगार खोज्ने होइन, रोजगारदाता बन्न प्रेरित गर्नुपर्ने समय आएको छ । स्वास्थ्य, कृषि, सूचना प्रविधि, इन्जिनियरिङ, होटल व्यवस्थापन जस्ता क्षेत्रमा दक्षता हासिल गरी देशमै अवसर सिर्जना गर्न सकिन्छ । स्वरोजगारको सम्भावना र आत्मनिर्भरताको आधार बनेको प्राविधिक शिक्षा नै अब हाम्रो भविष्यको मूल जग हो भन्नेमा कुनै शंका छैन । जबसम्म अरुको भर नपरी आफूमा कुनै सीपयुक्त ज्ञान हुन्छ, तबसम्म आत्मनिर्भर बन्न सकिन्छ । अर्थात् जब व्यक्तिमा आफैँसँग कुनै सीप, दक्षता वा ज्ञान हुन्छ, तब उसले अरूको भर पर्नुपर्दैन र उसले आफैँले आफ्नो जीवनयापन अगाडि बढाउन सक्छ ।
आजको प्रतिस्पर्धात्मक विश्वमा दक्ष जनशक्ति प्रत्येक क्षेत्रमा अनिवार्य भएको छ, चाहे त्यो स्वास्थ्य सेवा, सूचना प्रविधि, निर्माण, पर्यटन, कृषि वा औद्योगिक उत्पादन किन नहोस् । नेपालमा औद्योगिक विकास, पूर्वाधार निर्माण, सूचना प्रविधिको विकासजस्ता क्षेत्रमा दक्ष जनशक्तिको कमी महसुस गरिएको छ भने प्रविधि प्रयोग गर्ने संस्था, अस्पताल, निजी कम्पनी तथा सरकारी निकायहरू दक्ष व्यक्तिको खोजीमा छन्, साथै विदेशमा कोरिया, जापान, युरोप र अस्ट्रेलियामा नेपाली दक्ष कामदारहरूको अत्यधिक माग छ, विशेष गरी स्वास्थ्य सेवा, निर्माण, कृषि र प्रविधि क्षेत्रमा वैदेशिक रोजगारीको अवसर छ ।
युवाहरूलाई सीपमूलक शिक्षासँग जोड्दै दक्ष जनशक्ति उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले यस वर्षदेखि प्रवेश परीक्षा नलिई माध्यमिक शिक्षा परीक्षा (एसईइ) को ग्रेड प्वाइन्ट एभरेज (जीपीए)को आधारमा भर्ना गर्ने निर्णय गरेको छ । यो पहलले युवाहरूलाई व्यावहारिक ज्ञानमार्फत आत्मविश्वासी, रोजगारमुखी र नवप्रवर्तनशील बन्न प्रेरणा दिनेछ । जब शिक्षा सरल र समावेशी बन्छ, तब समाजले नयाँ युगमा पाइला टेक्छ—जहाँ सीप नै शक्ति र प्रगतिको आधार हो ।
सीपमूलक तथा प्राविधिक शिक्षाको पहुँचलाई सरल र समावेशी बनाउने उद्देश्यले गरिएको यो निर्णयले विद्यार्थीलाई अतिरिक्त प्रवेश परीक्षाको झन्झटबाट मुक्त गर्दै सिधै इच्छानुसारका विषयमा नाम लेखाउने अवसर प्रदान गर्नेछ । यसबाट ग्रामीण तथा आर्थिक रूपमा कमजोर वर्गका विद्यार्थीलाई पनि प्राविधिक शिक्षातर्फ आकर्षित गरिने अपेक्षा गरिएको छ । यो पहलले युवालाई व्यावहारिक ज्ञानमार्फत आत्मविश्वासी, रोजगारमुखी र नवप्रवर्तनशील बन्न प्रेरणा दिनेछ । जब शिक्षा सरल र समावेशी बन्छ, तब समाजले नयाँ युगमा पाइला टेक्छ— जहाँ सीप नै शक्ति र प्रगतिको आधार हो ।
- व्यावहारिक सीप : भविष्यको जग
प्राविधिक शिक्षाले युवाहरूलाई केवल किताबी ज्ञान होइन, उनीहरूको सीपमा आधारित व्यावहारिक तालिम प्रदान गर्छ । स्वास्थ्य, इन्जिनियरिङ, कृषि, सूचना प्रविधि, होटल व्यवस्थापनजस्ता क्षेत्रमा प्राविधिक शिक्षा लिएर धेरै युवा आफ्नै देशमै आत्मनिर्भर बन्न थालेका छन् ।
आजका युवाले इन्जिनियरिङ, कृषि, सूचना प्रविधि, स्वास्थ्य र होटल व्यवस्थापनजस्ता क्षेत्रमा व्यावहारिक ज्ञान हासिल गरी आफूलाई आत्मनिर्भर बनाइरहेका छन् । यो सीपले उनीहरूलाई रोजगारी खोज्ने होइन, सिर्जनशील समेत बनाइरहेको छ । आफने देशमै केही नयाँ गर्ने, आफनै पौरखमा भरोसा गर्ने संस्कार यो शिक्षाबाट विकसित हुँदै छ । प्राविधिक सीप भनेको केवल पेसा मात्र होइन, भविष्य निर्माणको जग हो, जहाँ आत्मविश्वास, सिर्जनशीलता र योगदानको भावना एकसाथ हुर्किन्छ । आजको युगमा व्यावहारिक सीपले मात्र सफलता सम्भव छ भन्ने तथ्य युवाहरूले बुझ्न थालेका छन् र यही बोधले उनीहरूलाई उज्ज्वल भविष्यतर्फ उन्मुख गराइरहेको छ ।
एसईईपछि तीन वर्षे डिप्लोमा वा १८ महिने प्रमाणपत्र तहको पाठ्यक्रम पूरा गरेका विद्यार्थी सजिलै रोजगारीमा जान सक्ने अवस्था छ । खासगरी ग्रामीण तथा दुर्गम भेगमा स्वास्थ्य सहायक (एचए) फार्मेसी लगायत पेसामा माग उच्च छ । प्राविधिक शिक्षाले विदेश रोजगारीको अवसर खोजिरहेका युवालाई आवश्यक सीप प्रदान गर्ने भएकाले उनीहरू अन्तर्राष्ट्रिय श्रम बजारमा पनि प्रतिस्पर्धी बन्न सक्छन् । खासगरी सूचना प्रविधि, स्वास्थ्य, निर्माण तथा कृषिजस्ता क्षेत्रमा प्राविधिक दक्षता प्राप्त युवाहरूको माग विश्वभर बढेकाले नेपालका लागि अवसरको खानी बन्न सक्नेछ ।
- नवप्रर्वतन र उद्यमशीलता
प्राविधिक शिक्षाले केवल जागिरको बाटो मात्र होइन, व्यवसाय र उद्यमशीलताको ढोका पनि खोलिदिन्छ । सीप भएको व्यक्ति आफूले साना उद्योग खोल्न सक्छ, सेवामूलक संस्था सञ्चालन गर्न सक्छ वा कृषि उद्यमी बन्न सक्छ । यो आत्मनिर्भर समाज र अर्थतन्त्रका लागि अति आवश्यक पाटो हो ।
प्राविधिक शिक्षा केवल जागिर पाउने उपाय मात्र होइन, व्यवसाय र उद्यमशीलताको उज्यालो ढोका समेत हो । सीपयुक्त युवा आफ्नै क्षमता र ज्ञानका भरमा साना या ठुला उद्योग स्थापना गर्न सक्छन्, सेवामूलक संस्था सञ्चालन गर्न सक्छन्, वा आधुनिक कृषि प्रणालीमार्फत सफल उद्यमी बन्न सक्छन् । जब युवामा व्यावहारिक ज्ञान र सीप हुन्छ, तब उनीहरूलाई विदेश जानुपर्ने बाध्यता हुँदैन; जानै परे पनि उनीहरू आफ्नै पेसासँग सम्बन्धित मर्यादित र सम्मानजनक रोजगारीमा जान सक्छन् । सीपयुक्त युवाहरू केवल श्रमिक होइनन्, दक्ष जनशक्ति हुन्, जसले संसारका जुनसुकै कुनामा पनि आफ्नो प्रतिभा कुशलतापूर्वक देखाउन सक्छन् । प्राविधिक शिक्षाले आत्मनिर्भरता, आत्मविश्वास र सशक्त भविष्यको ढोका खोलिदिन्छ । त्यसैले व्यावहारिक सीपले युवाहरूको मात्र होइन, राष्ट्रको पनि समृद्धि सुनिश्चित गर्छ । यस्ता सीपहरूले आत्मनिर्भर समाज र समृद्ध अर्थतन्त्रको निर्माणमा ठुलो भूमिका खेल्छन् । त्यसैले आजको आवश्यकता भनेको प्राविधिक शिक्षालाई प्राथमिकतामा राखी प्रत्येक युवालाई सक्षम र सशक्त बनाउनु हो ।
- प्राविधिक जनशक्तिको माग
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) द्वारा सन् २०२२ मा गरिएको श्रम–बजार विश्लेषणमा आधारित प्रक्षेपण अनुसार, सन् २०३० सम्म स्वास्थ्य, कृषि, निर्माण, पर्यटन लगायत क्षेत्रमा लाखौँ दक्ष जनशक्तिको आवश्यकता पर्नेछ । विशेष गरी कृषिमा ६ लाखभन्दा बढी, निर्माण क्षेत्रमा ६ लाखभन्दा बढी, स्वास्थ्य क्षेत्रमा एक लाख र पर्यटन क्षेत्रमा दुई लाख जनशक्ति आवश्यक पर्ने देखाइएको छ । यसले स्पष्ट गराउँछ कि व्यावहारिक सीपयुक्त शिक्षामा आधारित प्राविधिक शिक्षा समयको माग हो । युवाहरूले समयमै सही तालिम र दक्षता हासिल गरे भने उनीहरूले स्वदेशमै रोजगारीका भरपूर अवसर प्राप्त गर्न सक्नेछन् । साथै यो मागलाई सम्बोधन गर्न सरकारले प्राविधिक शिक्षाको पहुँच, गुणस्तर र सम्बन्धित तालिम कार्यक्रमहरूको प्रभावकारिता बढाउन थप आवश्यक छ ।
प्राविधिक शिक्षा अब वैकल्पिक विकल्प होइन, जीवनको अनिवार्य आवश्यकता बनिसकेको छ । यो शिक्षाले युवाहरूलाई केवल किताबी ज्ञानमा सीमित नराखी, व्यावहारिक सीप र व्यावसायिक दक्षतामा पारङ्गत बनाउँछ । आजको प्रतिस्पर्धात्मक युगमा सफलता प्राप्त गर्न प्राविधिक ज्ञान अपरिहार्य छ । यसले युवाहरूलाई आत्मनिर्भर बनाउनुका साथै देशभित्रै रोजगारीका अवसर सिर्जना गर्छ । पछिल्लो समयको प्राविधिक शिक्षा प्रणालीले एकेडेमिक शिक्षामा पनि व्यावहारिकता र रोजगारीमुखी पाटोलाई प्राथमिकता दिइरहेको छ, जसले दीर्घकालीन रूपमा उत्पादनशील जनशक्तिको विकासमा टेवा पुर्याउँछ । प्राविधिक शिक्षामार्फत सशक्त युवा शक्ति तयार हुँदै छ, जसले समृद्ध राष्ट्र निर्माणको आधार मजबुत बनाउँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण एसियाली युथ टेबल टेनिस प्रतियोगिताका विजेता खेलाडीलाई प्रधानमन्त्रीले दिए बधाई
-
सुपारी आयात हुँदा २५ अर्ब बराबर राजस्व संकलन भइरहेकाे छ : मन्त्री भण्डारी
-
क्यान विभाजनसम्बन्धी दुई विधेयक समितिमा पठाइयो
-
बागमतीका तत्कालीन मेयरविरूद्ध चौथो मुद्दा दायर, ५६ करोड ७१ लाख भ्रष्टाचारको आरोप
-
पप गायिका टेलर स्विफ्टप्रति ट्रम्प किन आक्रोशित ?
-
सगरमाथा संवाद २०२५ सम्पन्न : २५ बुँदे घोषणापत्र जारी