प्रचण्डपछि पार्टी कसरी चल्छ भन्ने बहस निरर्थक, उत्तराधिकारीको श्रृंखला तयार छ : वर्षमान पुन

भक्तपुर । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वपछि माओवादी पार्टी कुन रूपमा चल्छ भन्नेबारेको बहस निरर्थक रहेको बताएका छन् ।
पार्टी सम्बद्ध योङ कम्युनिष्ट लिग (वाइसीएल) को बागमती प्रदेशको अधिवेशनलाई सोमबार भक्तपुरमा उद्घाटन गर्दै पुनले उपयुक्त समय आएपछि विधिबाटै पार्टीको भावी नेतृत्व तय हुने बताए ।
अध्यक्ष प्रचण्डले नै पार्टीको गत महाधिवेशनमा नेतृत्वको श्रृंखला तयार पार्ने विधि प्रस्ताव गरेको भन्दै पुनले सबै तहका पार्टी कमिटी र जनवर्गीय सङ्गठनहरूमा त्यस प्रकारको अभ्यास आरम्भ भएको उल्लेख गरे ।
पार्टी नेतृत्व भनेको व्यक्ति नभई टिम भएको र नेताहरूकोबिचबाट चयन भएको नेताले पार्टी हाँक्ने उनले उल्लेख गरे । ‘कति मान्छेहरु भन्छन् कमरेड प्रचण्डपछि तिम्रो पार्टीमा नेता को हो ? माओवादी पार्टी रहन्छ ? हामी भन्छौँ रहन्छ र पार्टी चल्छ । अध्यक्षजस्तो टावरिङ पर्सनालिटी त नहोला तर, उहाँले जसरी हामीले विधिमा नेतृत्व पङ्क्तिलाई तयारी गरेका छौँ । नेतृत्व टिमबाट तयार हुन्छ । नेताहरूको बिचबाट एउटा नेताले नेतृत्व गर्छ’, पुनले भने, ‘कमरेड प्रचण्डकै प्रस्तावमा हामीले गतमहाधिवेशनबाट जनवादी ढङ्गले नेतृत्वको श्रृंखला तयार गर्नेबारे विधि बनाएका छौँ ।’
प्रचण्डले जनयुद्धको तयारी, जनयुद्ध सञ्चालन, शान्ति प्रक्रिया हुँदै समाजवादको आधार तयार पार्ने कामसम्मको नेतृत्व गरेको भन्दै पुनले पछिल्लो समय उनीप्रति थप आकर्षण बढेको दाबी गरे । ‘कमरेड प्रचण्ड र पार्टी नेतृत्वप्रति देशभर जनतामा आकर्षण बढेको छ’, पुनले भने ।
तत्कालीन आकस्मिकता र सामूहिक आवश्यकताको बिचबाट नेतृत्वको जन्म हुने उनको भनाइ थियो । ‘अध्यक्ष कमरेड प्रचण्ड र उहाँका पुस्ताका नेताहरू इतिहासको आवश्यकता र आकस्मिकताले पैदा गरेका नेताहरू हुनुहुन्छ । प्रचण्डको नेतृत्व प्राधिकारका रूपमा निर्माण भएको थियो’, उनले भने ।
पुनले अझै केही समय प्रचण्डको नेतृत्वलाई बलियो र सम्मानित बनाएर लैजानुपर्नेमा पार्टीभित्र कसैको फरक मत नरहेको स्पष्ट गरे । फरक प्रसङ्गमा पुनले वर्तमान काँग्रेस–एमाले गठबन्धन सरकार बिचौलिया र स्वार्थ समूहले बनाएको हो भन्ने आमजनताबिचमा स्थापित भएको बताए । गाउँ गाउँसम्म अहिलेको सरकार बिचौलियाको हो भन्ने स्थापित भएको दाबी उनले गरे ।
‘अध्यक्ष प्रचण्डसहित हामीले सांसदबाटै यो सरकार बिचौलियाले बनाएको हो भन्दै आयौँ । सुरुमा हाम्रो कुरालाई सरकारबाट हट्दाको पीडा भन्ने गरिन्थ्यो । एक वर्ष बित्दै गर्दा अहिले सबै जसोले त्यही भन्न थाले’, पुनले भने, ‘गाउँ गाउँका जनता र गृहणीहरुसम्मले यो सरकारलाई बिचौलियाले बनाएको सरकार भनिरहेका छन् । अझ कतिपय अवस्थामा त हामीले कम भनेको जस्तो हुने गरेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित भएपछि छायो खुसियाली
-
बागमती सफाइ महाअभियान १३ औँ वर्ष प्रवेश
-
मिथिला नगरपालिकामा तालाबन्दीले कामकाज ठप्प
-
चलचित्र ‘जनै हराएको बाहुन’ भदौ ६ गते प्रदर्शन हुने
-
१० बजे १० समाचार : गभर्नरको विषय गठबन्धनलाई नै भारी पर्दै, सिंहदरबारमा बालेन शाहको खोजी
-
एनआरएनएसम्बन्धी परमादेश कार्यान्वयन भएको भन्दै सर्वोच्चलाई परराष्ट्रको पत्र