मङ्गलबार, ०६ जेठ २०८२
ताजा लोकप्रिय
आईसीसी वर्ल्ड कप लिग–२ प्रतियोगिताको तयारी

दीपेन्द्र ऐरी र भीम सार्कीको शतकसँगै इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली टोलीले एमसीसीलाई हरायो

मङ्गलबार, ०६ जेठ २०८२, ०९ : ५२
मङ्गलबार, ०६ जेठ २०८२

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिताअन्तर्गत आफ्नो आगामी शृङ्खलाको तयारीका क्रममा हाल इङ्ल्यान्डमा रहेको नेपाली राष्ट्रिय टोलीले सोमबार राति खेलिएको दोस्रो अभ्यास खेलमा मेरिलेबोन क्रिकेट क्लबल (एमसीसी) लाई एक सय २३ रनको फराकिलो अन्तरले हराएको छ ।

नेपाली टोलीले लगातार दोस्रो अभ्यास खेल जितेको हो । दोस्रो खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर तीन सय ३५ रन बनाएको थियो । नेपालका दुई ब्याट्सम्यानले उत्कृष्ट शतकीय पाली खेले ।

दीपेन्द्रसिंह ऐरीले एक सय १० रन बनाए । यस क्रममा उनले केवल ६७ बलको सामना गरी चार छक्का र १२ वटा चौका पनि हिर्काएका थिए । नेपाली टोलीका लागि भीम सार्कीले पनि एक सय चार रनको योगदान गरे । भीमले केवल ९० बलको सामना गरी दुई छक्का र १० चौका हिर्काएका थिए । 

नेपालका लागि बसिर अहमदले पनि अविजित ३७ रन बनाए । जवाफी ब्याटिङमा ओर्लिएको एमसीसीले भने ३५.३ ओभरमै अलआउट हुनुअघि दुई सय १२ रनमात्र बनाउन सक्यो । नेपाली बलरले पनि उत्कृष्ट प्रदर्शन गरे । सोमपाल कामीले तीन विकेट लिए । 

इङ्ल्यान्ड भ्रमणका क्रममा नेपाली टोलीले चारवटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ । नेपालले तेस्रो अभ्यास खेल मे २२ तारिखमा र चौथो अभ्यास खेल मे २६ तारिखमा खेल्नेछ । त्यसपछि नेपाली टोली लिग–२ प्रतियोगितामा सहभागी हुन स्कटल्यान्ड प्रस्थान गर्नेछ । 

नेपाली टोलीले आगामी जुन २ तारिखदेखि स्कटल्यान्डमा लिग–२ प्रतियोगिता खेल्दैछ । उक्त शृङ्खलामा नेपाल र स्कटल्यान्डका अतिरिक्त तेस्रो टोलीको रुपमा नेदरल्यान्ड्स रहेको छ । लिग–२ को जारी संस्करणमा नेपाली टोलीको अवस्था सन्तोषजनक छैन । 

आठ टोलीको सहभागिता रहेको लिग–२ तालिकामा नेपाल ६ अंकसहित सबैभन्दा तल छ । हालसम्म १२ खेल खेलेको नेपाली टोलीले केवल दुई जित र आठ हारको नतिजा निकालेको छ । नेपाली टोलीको दुई खेल भने अनिर्णीत रुपमा सकिएको छ ।  

आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिता सहभागी टोलीहरुका लागि निकै महत्त्वपूर्ण छ । यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रुपमा पनि रहेको छ । सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा संयुक्त रुपमा आयोजना हुँदैछ ।

लिग–२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् । लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरको प्ले–अफ चरण खेल्नु पर्नेछ । 

लिग–२ प्रतियोगिताको पहिलो संस्करण सन् २०१९ देखि सन् २०२३ सम्म आयोजना भएको थियो । त्यो प्रतियोगितामा तेस्रो भएको नेपालले सिधै सन् २०२३ को एकदिवसीय विश्वकपको छनोट चरण खेल्ने अवसर पाएको थियो । 

लिग–२ को पहिलो संस्करणमा ३६ खेलबाट ५० अंक बटुल्दै स्कटल्यान्ड पहिलो, समान खेलबाट ४४ अंक जोड्दै ओमान दोस्रो र समान खेलबाट ४० अंक बटुल्दै नेपाल तेस्रो भएका थिए । तीनवटै टोली सिधै विश्वकपको छनोट चरणमा पुगेका थिए । 

लिग–२ को पहिलो संस्करणमा नेपाली टोलीसँग एउटा रमाइलो संयोग जोडिएको थियो । उक्त शृङ्खलाको सुरुआती चरणका खेलमा पनि नेपालको प्रदर्शन निकै निराशाजनक थियो । तर, नेपाली टोली पछिल्ला तीन शृङ्खलामा खेलिएका कुल १२ मध्ये ११ खेलमा जित हात पार्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको थियो । 

यसका अतिरिक्त, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट सन् २०१८ मा प्राप्त एकदिवसीय मान्तयता जोगाउन पनि यो प्रतियोगिताको भूमिका रहन्छ । हाल आईसीसीबाट अस्थायी रुपमा एकदिवसीय मान्यता पाएका नेपालसहितका एसोसिएट्स सदस्य राष्ट्रको उक्त मान्यता सन् २०२६ को विश्वकप छनोटसम्म कायम रहने छ । यो सूचिमा स्कटल्यान्ड, यूएई, नेदरल्यान्ड्स, नामिबिया, ओमान, अमेरिका र क्यानडा पनि रहेका छन् ।   

त्यसैले यसपटक पनि लिग–२ प्रतियोगिता निकै महत्त्वपूर्ण रहेको छ । यसपटक लिग–२ तालिकाको माथिल्लो चारभित्र पर्न सके नेपाल सिधै विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछ । अन्यथा नेपालले छनोट चरणमा प्रवेश गर्न प्ले–अफ खेल्नु पर्नेछ । 

लिग–२ प्रतियोगिताको जारी संस्करणमा पनि हालसम्म नेपालको अवस्था निराशाजनक छ । स्कटल्यान्ड र नेदरल्यान्ड्सविरुद्धको शृङ्खलामा नेपाली टोली नयाँ प्रशिक्षकसहित मैदानमा ओर्लन लागेको हो । स्टुअर्ट लको प्रमुख प्रशिक्षकत्वमा नेपालले पहिलो ठुलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो । 

स्कटल्यान्ड भ्रमणका लागि घोषित नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, अनिल साह, भीम सार्की, आरिफ शेख, सन्दीप लामिछाने, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, नन्दन यादव र रिजन ढकाल रहेका छन् ।

लिग–२ शृंखलापछि नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग टी–२० अन्तर्राष्ट्रिय शृंखला पनि खेल्नेछ । टी–२० शृंखलाका लागि नेपाली टोलीमा रुपेशकुमार सिंह, लोकेश बम र किरण ठगुन्नालाई पनि समावेश गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप