मङ्गलबार, ०६ जेठ २०८२
ताजा लोकप्रिय

माओवादी केन्द्रको अभियान टोलीद्वारा रुकुममा जनयुद्ध पीडितहरूसँग अन्तरक्रिया

मङ्गलबार, ०६ जेठ २०८२, १३ : ३२
मङ्गलबार, ०६ जेठ २०८२

समाचार सारांश

  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रुकुमको चौरजहारीमा जनयुद्धका पीडितहरूसँग अन्तरक्रिया गरे।
  • जनयुद्धका घाइते, अपाङ्ग, सहिद परिवार र बेपत्ता व्यक्तिका आफन्तहरूले समस्या र अधिकारका विषयमा धारणा राखे।
  • प्रचण्डले समाजवादी गणतन्त्रका लागि सबैको साथ आवश्यक रहेको र बेपत्ता व्यक्तिलाई सहिदसरह मान्नुपर्ने बताए।

रुकुम ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गतको टोलीले रुकुमको चौरजहारीमा जनयुद्धका घाइते, अपाङ्ग, सहिद परिवार र बेपत्ता व्यक्तिका आफन्तहरूसँग अन्तरक्रिया गरेको छ।

चौरजहारी नगर समितिको कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा सहभागी जनयुद्धपीडितहरूले आफूहरूले भोगिरहेका समस्या तथा राज्यबाट पाउनुपर्ने अधिकारका विषयमा आफ्नो धारणा राखेका छन् ।

 घाइते अपाङ्गको उपचार, बेपत्ता व्यक्तिहरूको राज्यद्वारा मान्यता, सहिद परिवारका सन्तानको शिक्षादेखि रोजगारीसम्मका विषयमा अझै ध्यान दिनु पर्ने माग गरे । 

कार्यक्रममा अध्यक्ष प्रचण्डले जनताको पीडा बुझ्ने, संवाद गर्ने र पार्टीभित्रको समीक्षा गर्दै नयाँ रूपमै जनतामा जान अभियान सञ्चालन गरिएको बताए । पार्टीले विगतमा सहिद र घाइते परिवारका पक्षमा विभिन्न कामहरू गरेको जानकारी दिँदै सहिद घोषणामा केन्द्रबाट तलबाटै आँकडा मागिएको भए पनि विवरण पठाउँदा केही त्रुटिका कारण सबैलाई समेट्न नसकेको उनले स्पष्ट पारे । 

प्रचण्डले सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयकमा भएको ढिलाइप्रति दुःख व्यक्त गर्दै हाल बनेको समितिले अब कार्यविधिअनुसार काम गर्नुपर्ने बताए । उनले बेपत्ता व्यक्तिहरूलाई पनि सहिदसरह मान्नुपर्ने र तिनको सम्मानसाथ क्षतिपूर्ति राज्यले दिनुपर्ने स्पष्ट धारणा राखे । 

‘हामी क्रान्ति पूरा गरेर हैन, सम्झौताबाट आएको अवस्था हो,’ अध्यक्ष प्रचण्डले भने, ‘अहिलेको गणतन्त्रलाई समाजवादी गणतन्त्रमा रूपान्तरण गर्न सबैको साथ आवश्यक छ। म समाजवादी क्रान्तिको यात्रामा कमी कमजोरी सुधारेर अघि बढ्ने प्रतिबद्धता जनाउँछु।’

अभियान टोलीले मुलुकका विभिन्न ठाउँमा पुगेर जनयुद्धका पीडितहरूसँग प्रत्यक्ष संवाद गर्ने, पार्टीको कमजोरीहरूको समीक्षा गर्ने र जनतामा विश्वास पुनः स्थापना गर्ने उद्देश्य रहेको जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप