मङ्गलबार, ०६ जेठ २०८२
ताजा लोकप्रिय
राजनीति

सरकार ढल्ने अवस्थामा पुग्यो: वर्षमान पुन

मङ्गलबार, ०६ जेठ २०८२, १३ : ५०
मङ्गलबार, ०६ जेठ २०८२

समाचार सारांश

  • माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकार ढल्ने अवस्थामा पुगेको बताए।
  • उनले नयाँ सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने र पहिलो पार्टीले दाबी गर्नुपर्ने बताए।
  • गभर्नर नियुक्ति प्रकरण र बिचौलियाको चलखेलका कारण सरकार ढल्ने अवस्था आएको पुनको भनाइ छ।

पोखरा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकार ढल्ने अवस्थामा पुगिसकेको बताएका छन् ।  मंगलबार पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले वर्तमान केपी ओली नेतृत्वको सरकार ढलेमा नयाँ सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताए । 

‘सरकार ढल्यो भने पहिलोले दाबी गर भनेका छौँ । तेस्रो पार्टीले १८ महिना सरकार चलाएर रेकर्ड बनाएका छौँ, दोस्रोले पनि १ वर्ष चलाएको छ’, उनले भने, ‘अब पहिलोलाई बहुमत एमाले र माओवादी विना पनि पुग्छ । पहिलोले नेतृत्व दाबी गर भन्ने हाम्रो भनाइ हो । बहुमत नै पुगेन भने हामी सोच्छौँ ।’

पहिलो पार्टीले सरकार नचलाए फ्रेस म्यान्डेटका लागि जनतामा जानु उपयुक्त हुने उनको सुझाव छ । कांग्रेस र एमालेले एक अर्कालाई तर्साउन माओवादीसँग संवाद भएको हल्ला गरिएको भन्दै उनले त्यस्तो हल्लामा कुनै सत्यता नरहेको बताए । 

उनले वर्तमान सरकार माओवादीका कारण नभई आफ्नै कारण ढल्ने पनि दाबी गरे । गभर्नर नियुक्ति प्रकरणले सरकार ढल्ने अवस्था बनेको पनि पुनको भनाइ थियो । 

उनले अहिले चर्चा गरिएका व्यक्तिहरू गभर्नर नियुक्त नहुने पनि तर्क गरे । ‘गभर्नर खाली हुनुभन्दा १ महिना अघि नयाँ गभर्नर सिफारिस हुनुपर्थ्यो । अहिले रिक्त भएको २ महिनासम्म नियुक्ति हुन सकेको छैन’, उनले भने, ‘अहिले चर्चा गरिएका मान्छे पनि नियुक्त हुँदै छैनन् । किनकि उनी पनि बिचौलियाले रुचाइएका व्यक्ति होइनन् । यही कारण सरकार ढल्नेजस्तो भइरहेको छ ।’

सरकार बिचौलियाले नै सञ्चालन गरिरहेको पुनले दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप