बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय
केभिन डे ब्रयुनको भावनात्मक बिदाइ

१६ उपाधि र प्रशिक्षक ग्वार्डियोलाको आँखामा आँसुदेखि रङ्गशाला परिसरमा प्रतिमासम्म

बुधबार, ०७ जेठ २०८२, ०९ : ५५
बुधबार, ०७ जेठ २०८२

समाचार सारांश

  • म्यानचेस्टर सिटीले बर्नमाउथलाई ३-१ गोलले पराजित गर्यो, तर केभिन डे ब्रुयनलाई भावनात्मक बिदाइ गरियो।
  • डे ब्रुयनले म्यानचेस्टर सिटीमा १० वर्ष बिताए, क्लबलाई १६ वटा उपाधि दिलाए, र उनको बिदाइमा रंगशालामा प्रतिमा बनाइने घोषणा गरियो।
  • डे ब्रुयनले म्यानचेस्टर सिटी छाड्ने र अमेरिकी क्लब सिकागो फायरमा जाने चर्चा छ, तर उनले औपचारिक घोषणा गरेका छैनन्।

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको आफ्नो पछिल्लो खेलमा म्यानचेस्टर सिटीले बर्नमाउथलाई ३–१ गोलले पराजित ग¥यो । घरेलु मैदानमा जित हात पारे पनि म्यानचेस्टर सिटीका लागि शनिबारको रात खल्लो बन्न पुग्यो । 

यहि खेलपछि म्यानचेस्टर सिटीले आफ्ना प्रभावशाली बेल्जियन मिडफिल्डर केभिन डे ब्रुयनलाई भावनात्मक बिदाइ ग¥यो । इत्तिहाद रंगशालामा म्यानचेस्टर सिटीको जर्सी लगाएर डे ब्रुयन अन्तिम पटक मैदानमा देखा परे । 

३३ वर्षीय डे ब्रुयनको बिदाईको क्षण वास्तवमै भावनात्मक थियो । त्यो क्षणमा म्यान सिटीका अनुभवी प्रशिक्षक पेप ग्वार्डियोलाले पनि आँसु थाम्न सकेनन् । प्रभावशाली खेलाडी डे ब्रुयनलाई बिदाइ गर्दाको क्षणलाई उनले आफ्नो जीवनकै सबैभन्दा दुःखद दिनको संज्ञा पनि दिन भ्याए ।

‘यो हाम्रा लागि दुःखद क्षण हो । म्यानचेस्टर सिटीले केभिन डे ब्रुयनलाई सधैं एक महान खेलाडीका रुपमा सम्झिरहने छ,’ निकै भावुक देखिएका प्रशिक्षक ग्वार्डियोलाले भने, ‘डे ब्रुयन सधैं हामीमाझ नै रहने छन् ।’ 

सहकर्मी खेलाडी, प्रशिक्षण टोली, क्लबका पदाधिकारी र अपार समर्थकलाई साक्षी राख्दै डे ब्रुयनलाई बिदाइ गरिरहँदा रङ्गशाला परिसरमा उनको प्रतिमा बनाइने घोषणा पनि गरियो । कप्तान डे ब्रुयनले यसअघि नै क्लब छाडने घोषणा गरिसकेका छन् । 

प्रिमियर लिगका यी महान खेलाडीका लागि क्लबमा आफ्नो अन्तिम सिजन सुदख भने रहेन । म्यान सिटी प्रिमियर लिगको उपाधि चुम्नबाट चुक्यो । जारी सिजनमा सहभागी २० वटै टोलीले एक–एक खेल खेल्न बाँकी रहँदा म्यान सिटी ६८ अंकसहित तालिकाको तेस्रो स्थानमा आसिन छ । 

‘म्यानचेस्टर सिटीको बसाई मेरा लागि सुखद रह्यो । क्लब परिवारले ममाथि गरेको भरोस र अगाध स्नेहप्रति म सधैं आभारी रहने छु । मेरो उलब्धि र सफलताहरुमा तपाइँहरुको सबैभन्दा ठुलो योगदान रहेको छ,’ बिदाईको क्षणमा डे ब्रुयनले भने । 

बेल्जियन राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्यसमेत रहेका मिडफिल्डर डे ब्रुयनले म्यानचेस्टर सिटीमा १० वर्ष बिताए । उनी सन् २०१५ मा जर्मन क्लब भीएफएल उल्फ्सबर्गबाट म्यानचेस्टर सिटीमा आबद्ध भएका थिए । 

यो अवधिमा उनी म्यानचेस्टर सिटीको थुप्रै सफलताको साक्षी बने । म्यानचेस्टर सिटीको थुप्रै सफलतामा त उनी आफै पनि महत्त्वपूर्ण कारण बने । म्यानचेस्टर सिटीमा रहँदा जितेको १६ वटा उपाधिले पनि उनलाई क्लबको इतिहासमा सफल खेलाडीका रुपमा उभ्याउन मद्दत पुर्यायो ।

म्यानचेस्टर सिटी छाडेर उनी कता जान्छन्, अहिले नै पक्का भइसकेको छैन । तर, उनी अमेरिकी क्लब सिकागो फायरमा आबद्ध हुने गतिलै चर्चा छ । डे ब्रुयन आफैले भने यस विषयमा औपचारिक रुपमा केही बताएका छैनन् । 

डे ब्रुयनले म्यानचेस्टर सिटीलाई सन् २०२२–२३ सिजनमा च्याम्पियन्स लिगको उपाधि दिलाए । उनले सन् २०२४ मा क्लबलाई फिफा क्लब विश्वकपको उपाधि चुमाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे । उनले ६ पटक म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि पनि चुमाए ।

उनले दुईपटक म्यान सिटीलाई एफए कपको उपाधि दिलाउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरे । उनको आगमनपछि म्यान सिटीले सन् २०१९ र सन् २०२३ मा एफए कपको उपाधि उचालेको थियो । पाँचपटक क्लबलाई लिग कपको उपाधि दिलाउन पनि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरे । 

डे ब्रुयनले म्यान सिटीलाई तीनपटक सुपर कपको उपाधि पनि दिलाएका थिए । म्यानचेस्टर सिटी बसाईका क्रममा उनी दुईपटक घरेलु लिगमा वर्षको सर्वोत्कृष्ट फुटबलर पनि घोषित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप