बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय
कविता

घुलनशील प्रेम

बुधबार, ०७ जेठ २०८२, १४ : ४५
बुधबार, ०७ जेठ २०८२

कफी र पानी
तिमी र म घुल्यौँ
तातो पानीमा
एक सानो कपको कफी
मेरो एक जवाफ बनेर ।

मैले मेरा लागि समय निकालेकी छु
बिक्री भण्डारको तुल हेर्दै
तिमीलाई पर्खेकी म
आफ्ना लागि राख्ने बानी परिसकेकी छु
म तिमीलाई सधैँ सम्झन्छु
मेरो कप जसले भन्छ— सधैँ ढिलो
तर म पर्खने बहानामा
बिस्तारै पिउँछु ।

म प्रकृतिको जरुवाको सफा पानी
तिमी मिसिन आयौ काला दाना बनेर ।

आगो बाल्यौ
तिमीलाई राम्रो बनाउन म उम्लन पुगेँ
समयका लागि त्याग गर्दै
तिमीलाई ममा घुलेर
र म बदलिएँ ।

हामी एक भयौँ
तिमी पानीमा मिसियौ
म कफी बनेँ
समयको मुडमा 
तिमीलाई ममा मिलाएर
समयले चुस्की लियो
कसैले मलाई तिमीबाट छुट्ट्याउन सक्दैन
तिम्रो तितोपनको स्वादमा
समय बैँसिएर
कफी र पानी
पानी र कफी
बलियो र उत्साही पेय बनेर
जसले मलाई पागल बनाउँथ्यो ।

अलिकति कम कफीसँग
धेरै कफीमा म घोलिएर
समयलाई श्वेत भैरवी बनाएकी छु—
भारी आँखा भएकी
समयको एक चुस्कीमा ।

ओठमा तीतोपन होइन
सुगन्धले स्फूर्ति जगाउँछ 
चिनीविहीन तितो नै
कफीको मिठो स्वाद हो—
प्रकृतिको स्वाद हो
ओशोले भनेझैँ स्वतन्त्रताको स्वाद हो 
तितोपनको जिउँदो, निर्विवाद स्वादमा
कफीले हैन, समयले मलाई डोर्‍याउँछ नदीतिर ।

आशा छ— जीवनमा एक दिन
यस्तै स्वाद हुनेछ 
यही अनुभूतिको स्वादमा रमाएर
कफीको परम आनन्दको स्वादमा
तिमीसित म मिलेकी छु ।

यो एक इच्छा होइन
जीवनको प्रेम हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पूजा शर्मा (प्रकृतिप्रेमी)
पूजा शर्मा (प्रकृतिप्रेमी)
लेखकबाट थप