बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी यादव पक्राउ

बिहीबार, ०८ जेठ २०८२, १७ : ११
बिहीबार, ०८ जेठ २०८२

समाचार सारांश

  • धनुषामा श्रीमतीको हत्यामा संलग्न हरिराम यादव पक्राउ परेका छन्। उनले श्रीमती अञ्जली यादवलाई कुटपिट गरी घरबाट निकालेका थिए र उनको शव घरमा फेला परेको थियो।
  • श्रीमतीको हत्या गरी फरार भएपछि प्रहरीले उनलाई जनकनन्दनी गाउँपालिकाको खजुरी रेल्वे स्टेसनबाट पक्राउ गरेको हो।
  • घटनापछि १० महिनाकी छोरीसहित फरार रहेका यादवविरुद्ध मृतक अञ्जलीका पिताले किटानी जाहेरी दिएका थिए र हाल थप अनुसन्धान जारी छ।

धनुषा । धनुषा जिल्लाको लक्ष्मिनिया गाउँपालिका–५, बनिनियाँमा भएको जघन्य कर्तव्य ज्यान घटनामा फरार रहेका प्रतिवादी हरिराम यादवलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।  जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार २०८१ साल फागुन १७ गते दिउँसो १ बजे ४० वर्षीय यादवले आफ्नी २५ वर्षीया श्रीमती अञ्जली यादवमाथि कुटपिट गरी घरबाट निकालेका थिए । 

त्यसयता हरिराम करिब ३–४ दिनदेखि सम्पर्कविहीन रहेको र उनको घरमा ताला लागेको सूचनाका आधारमा स्थानीयवासीले शङ्का जनाउँदै प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले हरिरामको घरमा ताल्चा फोडी जाँच गर्दा भुईंतल्लामा रहेको कुल देवताको पूजा कोठामा नयाँ सिमेन्ट ढलान गरिएको पाइएको थियो । उक्त स्थानमा उत्खनन गर्दा करिब दुई फिट मुनिबाट नाङ्गो अवस्थामा अञ्जली यादवको शव फेला परेको प्रहरीको भनाइ छ । 

घटनापछि यादव करिब १० महिनाकी छोरीसहित फरार थिए । मृतक अञ्जलीका पिता शिवधारी यादवले आफ्ना ज्वाइँ हरिरामविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएपछि घटनामा प्रतिवादीको संलग्नता पुष्टि भएको थियो । 

जाहेरीका आधारमा जिल्ला अदालत धनुषाबाट पक्राउ अनुमति प्राप्त गरी खोजी जारी रहँदा २०८२ साल जेठ ८ गते बिहान ९ बजे जनकनन्दनी गाउँपालिका–४ स्थित खजुरी रेल्वे स्टेसनबाट प्रतिवादी यादवलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए ।

हाल घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको र प्रतिवादीसँगै फरार भएकी छोरीको अवस्थाबारे पनि खोजी तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । -न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप