युवा सङ्घको महाधिवेशन आजदेखि, अध्यक्षमै रस्साकस्सी बढी

समाचार सारांश
- राष्ट्रिय युवासंघको १०औँ महाधिवेशन पोखरामा सुरु हुँदैछ, जसमा नयाँ नेतृत्व चयन हुनेछ। उद्घाटन समारोह अमरसिंह चौरमा र बन्दसत्र पोखरा सभागृहमा हुनेछ।
- महाधिवेशनमा पदाधिकारीको संख्या घटाइएको छ र उमेरहद तोकिएको छ। अध्यक्षका लागि क्षितिज थेबे, महाराज गुरुङ, र सुमन पुरी मुख्य प्रतिस्पर्धी हुन्।
- अध्यक्ष पदका लागि थेबेलाई दोहोर्याउन दबाब छ, तर उनले इच्छा देखाएका छैनन्। सुमन पुरी र अन्य नेताहरूले पनि दाबी प्रस्तुत गरेका छन्, र नयाँ नेतृत्व चयनको प्रयास भइरहेको छ।
पोखरा । नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवासंघको १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा हुँदैछ । महाधिवेशनको उद्घाटन समारोह पोखराको अमरसिंह चौरमा हुनेछ भने बन्दसत्र पोखरा सभागृहमा हुने बताइएको छ ।
महाधिवेशनको तयारी पूरा भैसकेको इन्चार्ज राजीव पहारीले बताए । उद्घाटनलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । यसपटक पदाधिकारी सङ्ख्या घटाइएको छ ।
साबिक १७ बाट घटाएर ९ बनाउन लागिएको छ । उमेर सीमा ४० वर्षमा सीमित गरिएको पहारीले बताए । महाधिवेशनले अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, उपमहासचिव, चार सचिवसहित १५१ सदस्यीय नयाँ समिति चयन गर्नेछ ।
नेतृत्वमा हालका अध्यक्ष क्षितिज थेबेसहित पाँच नेताले आकाङ्क्षा देखाएका छन् । उपाध्यक्षहरू महाराज गुरुङ, कृष्णहरि केसी, प्रकाश गौतम र महासचिव सुमन पुरी अध्यक्ष बन्न इच्छुक छन् । तर यीमध्ये क्षितिज, महाराज र सुमनलाई मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको छ ।
पार्टी नेतृत्वले थेबेलाई अध्यक्ष दोहोर्याउन दबाब दिएको बुझिएको छ । ‘अध्यक्ष ज्यूले हालकै अध्यक्षलाई दोहोर्याउन दबाब दिनुभएको छ । अन्य धेरै प्रतिस्पर्धी भएका कारण सर्वसम्मत भनेर थेबेलाई सर्वसम्मतको प्रयास छ,’ एक नेताले भने, ‘लगभग यही हुन्छ होला ।’
थेबेले चाहिँ पुनः दोहोरिने इच्छा नदेखाएका उनी निकट नेताहरू बताउँछन् । युवासंघकै पूर्व अध्यक्ष महेश बस्नेत, इन्चार्ज राजीव पहारी लगायत नेता चाहिँ नयाँ नेतृत्वको खोजीमा छन् । पहारीले त केही दिनअघि सार्वजनिक कार्यक्रममै थेबे नदोहोरिने बताएका थिए । थेबे पनि सर्वसम्मतमा मात्र नेतृत्व लिने, निर्वाचनमा प्रतिस्पर्धा नगर्ने लाइनमा छन् ।
महासचिव सुमन पुरीलाई अध्यक्षको बलियो दाबेदारका रूपमा अगाडि सारिएको छ । दुई पटक उपाध्यक्ष भएपछि सर्वसम्मत गर्ने नाममा उनी महासचिव बनेका थिए । उनी निर्वाचनका लागि एक समूहबाट लगभग तयार अवस्थामा छन् । लुम्बिनीका पूर्व मुख्यमन्त्री लीला गिरीका भान्जा समेत रहेका पुरी उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् ।
त्यसो त उपाध्यक्ष महाराज गुरुङले पनि अध्यक्ष पदका लागि तयारी गरिरहेका छन् । उनी पूर्वमन्त्री पार्वत गुरुङका भान्जा हुन् । गुरुङले आफू युवा आन्दोलनको अनुभवी भएको र संगठनलाई नयाँ दिशा दिन सक्ने भन्दै बलियो दाबी गरेका छन् । प्रकाश गौतम लामो समयदेखि अध्यक्षको तयारीमा छन् । उनले उपाध्यक्षमध्ये आफू वरिष्ठ रहेको दलिल पेस गरेका छन् । कृष्णहरि केसीले पनि नेतृत्वमा दाबी गरेका छन् ।
महाधिवेशनले एक महिला उपाध्यक्षसहित दुई उपाध्यक्ष चयन गर्नेछ । खुला उपाध्यक्षमा राकेश राई, ध्रुव खड्का, मोबिन आलम, राजन थापा, बलराम बेलबासेको चर्चा छ भने महिला उपाध्यक्षमा शारदा पछाईं, निशा लिम्बु, रेसु तामाङ र अनुपमा राई चर्चामा छन्।
महासचिव पदमा उपमहासचिव र सचिवहरूमध्ये धेरैले आकाङ्क्षा देखाएका छन् । राजन थापा, निरोज पौडेल, खेम शर्मा, पर्वत भण्डारी, विनय शाह, कुबेर अधिकारी र महेश चौलागाईं रेसमा छन् । तर सबैजसो ओलीको आशीर्वाद कुरिरहेका छन् । सर्वसम्मत बनाउने भन्दै पोखरामा विभिन्न चरणको बैठक बसिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिसम्बन्धी विधेयकमा गगन थापाको नेतृत्वमा कांग्रेसका ७ संशोधन प्रस्ताव
-
राजावादीको जनजागरण अभियान सुरू हुँदै, जमलबाट शुभारम्भ
-
‘कुलिङ पिरियड’ को प्रावधान यथावत रहन्छ : मन्त्री गुप्ता
-
रवि लामिछानेको मुद्दामा आदेश आउँदै, सर्वोच्च परिसरमा समर्थकको भीड (तस्बिरहरू)
-
राममाया रानाभाटसँग प्रधानमन्त्रीको भेट
-
शिक्षा उपसमितिले बुझाएको प्रतिवेदनमा राहत शिक्षकले किन जनाए आपत्ति ?