२ मिनेट ४४ सेकेण्डमा श्रम स्वीकृति जारी गर्ने नीति कसरी भयो असफल ?

समाचार सारांश
- तत्कालीन श्रममन्त्रीले एक घण्टाभित्रै श्रम स्वीकृति दिने घोषणा गरे पनि हाल विभागले आवेदन दिएकै दिन श्रम स्वीकृति जारी गर्ने जनाएको छ।
- विभागका महानिर्देशकका अनुसार, पहिले ७-१० दिनसम्म लाग्ने श्रम स्वीकृति प्रक्रियालाई सुधार गर्दै अब कागजात पूरा भए २ मिनेटमै जारी गर्न सकिने व्यवस्था मिलाइएको छ।
- श्रम स्वीकृति प्रक्रियामा सुधार ल्याउनका लागि विभागले फेमिस सफ्टवेयर प्रयोगमा ल्याएको छ, जसले अनलाइन आवेदन र स्वीकृतिलाई सहज बनाउनेछ।
काठमाडौँ । २०८० चैत २५ गते वैदेशिक रोजगार कार्यालय ताहाचलमा पत्रकार सम्मेलन गर्दै तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति जारी हुने घोषणा गरेका थिए । उनले सम्पूर्ण प्रक्रिया पूरा भएको खण्डमा दुई मिनेट ४४ सेकेण्डभित्रै श्रम स्वीकृति जारी गर्न सकिनेसमेत बताएका थिए । सबै प्रक्रिया पूरा गर्न भनेर उनले तत्कालका लागि एक घण्टाभित्र श्रम स्वीकृति जारी गरिने घोषणा गरेका थिए ।
अहिले भने वैदेशिक रोजगार विभागले एक घण्टाभित्रको साटो आवेदन दिएकै दिन श्रम स्वीकृति जारी गर्ने जनाएको छ । एक घण्टाभित्र श्रम स्वीकृति दिने नीति असफल भएपछि विभागले पुनः आवेदन दिएकै दिनमा श्रम स्वीकृतिको थालनी गरेको हो ।
विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले आवेदन दिएकै दिन श्रम स्वीकृति जारी गर्ने व्यवस्था गरिएको बताए । ‘मैले बुझ्दा ७÷१० दिनदेखि वेटिङमा रहेको देखियो । सात दिनको टोकन नै छोड्ने गरेको रहेछ । अनि मैले यसो विश्लेषण गरेँ । कति जना छन् ? दिनभरमा कसले कति काम गर्न सक्छ ?,’ महानिर्देशक भट्टराईले भने, ‘दिनभरमा कति जारी गर्नुपर्ने रहेछ ? एक जनाको भागमा कति पर्दोरहेछ भनेर पत्ता लगाएँ । सबै प्रक्रिया पूरा गरेको खण्डमा २ मिनेट पनि लाग्दैन । तत्कालै जारी गर्न सकिन्छ । तर, सबै प्रक्रिया पूरा गरेर कागजात अपलोड गरेको हुनुपर्छ ।’
आफू आउनुअघि नै श्रम स्वीकृति जारी गर्ने हकमा समस्या रहेको बताउँदै उनले ती समस्या समाधान गरेर अघि बढेको बताए । अब दीर्घकालीन रूपमा समेत समस्या नआउनेगरी काम गरिएको उनको भनाइ छ । श्रम स्वीकृति जारी गर्ने अनलाइन प्रणाली धेरै पुरानो रहेको बताउँदै उनले त्यसलाई परिमार्जन गर्ने प्रक्रियासमेत अगाडि बढाइएको बताए ।
महानिर्देशक भट्टराईले रातभर एप्लाई गरेकाहरूको हकमा बिहान ‘क्यू’मा बसिरहेको हुने र एक नम्बरको पूरा नगरी दोस्रो नम्बरमा जान नसकिने प्रस्ट पार्दै एक नम्बरमा परेको मान्छेको बिहान १० बजे कर्मचारी आएपछि १० बजेर २ मिनेटमै स्वीकृतिको प्रक्रिया सकिने दाबी गरे ।
‘त्यसरी हेर्दा २ मिनेटमै जारी हुने रहेछ । तर, २ मिनेटमै जारी हुन्छ भनेर भनिदियो भने कुनै कारणले हुन नसक्दा २ मिनेटमा किन जारी भएन भनेर प्रश्न उठ्ने भयो,’ उनले भने, ‘अलि पछाडि पालो रहेछ भने स्वाभाविक रूपमा समय लाग्ने भयो ।’
त्यसका लागि अहिले वैदेशिक रोजगार कार्यालयमा २० जना जति कर्मचारीलाई श्रम स्वीकृतिको कार्यमा खटाइएको छ ।
- कर्मचारीको प्रगतिले भद्रगोल
तत्कालीन समयमा ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा २० वटा कम्प्युटर र २० जना कर्मचारी परिचालन गरिएको थियो । त्यसका लागि सिफ्ट अनुसार बिहान ७ बजेदेखि राति ७ बजेसम्म श्रम स्वीकृतिका लागि मिलाइएको थियो । तर, अर्याल मन्त्री पदबाट हटेसँगै शरतसिंह भण्डारी श्रममन्त्री बने ।
मन्त्री बनेलगत्तै भण्डारीले विभागका तत्कालीन महानिर्देशक डण्डुराज घिमिरेलाई मन्त्रालयमा फिर्ता बोलाएर सूर्यबहादुर खत्रीलाई विभागको महानिर्देशक बनाए । त्यसपछि बिस्तारै श्रम स्वीकृतिको विषयमा गुनासो आउन थाले ।
विभागमा भद्रगोल भएपछि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको महानिर्देशक रहेका भट्टराईलाई वैदेशिक रोजगार विभागको महानिर्देशक बनाएर पठाइयो । यसअघि जीवलाल भुसाललाई महानिर्देशक बनाएर पठाएको थियो । तर, उनी जान नमानेपछि भट्टराईलाई पठाइएको हो ।
७ देखि १० दिनसम्म पनि श्रम स्वीकृति जारी नभएको देखेपछि भट्टराईले त्यसको सुधार थालेका थिए । ‘७ देखि १० दिनसम्म पनि आवेदन पेन्डिङ भएको देखेपछि यसको सुधार गर्नुपर्छ भनेर लागेको थिएँ । अहिले आवेदन दिएकै दिनमा श्रम स्वीकृति जारी गर्ने भनेका छौँ,’ उनले भने ।
श्रमिकले आफ्नै मोबाइल वा कम्प्यूटरबाट अनलाइन आवेदन दिन सक्ने र श्रम स्वीकृति पनि अनलाइनबाटै प्राप्त गर्न सक्छन् । वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (फेमिस) सफ्टवेयर परामर्शदाताका एक जना प्राविधिकलाई विभागमा डेडिकेटेड रूपमा खटाइएको थियो । श्रम स्वीकृतिका लागि श्रमिकले मुख्य गरी पासपोर्ट, भिसा र रोजगारदातासँगको सम्झौता पत्र पेस गर्नुपर्नेछ ।
त्यस्तै, श्रमिकले बीमा, कल्याणकारी कोष र सामाजिक सुरक्षा कोषको शुल्क भुक्तानी गरेको हुनुपर्नेछ । श्रमिकलाई सहज रूपमा श्रम स्वीकृति प्रदान गर्न वैदेशिक रोजगार विभागले फेमिस सञ्चालनमा ल्याएको छ । सोही आधारमा श्रमिकले अनलाइनमार्फत आवेदन दिनुपर्ने र अनलाइनमार्फत नै श्रम स्वीकृति हुने विभागको भनाइ छ ।
श्रम स्वीकृतिका लागि कर्मचारीहरूले अनेक बहाना बनाउने गरेको मेनपावर व्यवसायीहरूको आरोप थियो । कहिले सर्भरमा समस्या आयो भन्ने, कहिले नेट छैन, कम्प्युटर बिग्रियो भन्ने जस्ता अनेक बहाना गरेर श्रम स्वीकृतिका लागि झुलाउने गरेको एक व्यवसायीले बताए ।
विभागका महानिर्देशक भट्टराई भने अबदेखि सम्पूर्ण काजगात पेस गरेको खण्डमा श्रम स्वीकृतिमा कसैले बहानाबाजी गरेमा तत्काल कारबाही हुने बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादी आन्दोलनबारे अन्तर्राष्ट्रिय प्रजातन्त्र संघले के भन्यो ?
-
डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध
-
प्रभु साहको प्रश्न– ‘मानव तस्करी घटनामा प्रधानमन्त्री किन मौन ?’
-
भोजपुरी भाषा सिकाउँदै वीरगञ्ज महानगर
-
किर्ते मुद्दामा दुहुँ गाउँपालिकाका लेखापाल प्रहरीको नियन्त्रणमा
-
माओवादी नेताहरुद्वारा सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट