अवैध बिउ उत्पादक र वितरकलाई के हुन्छ कारबाही ?

समाचार सारांश
- सुनसरीका विभिन्न स्थानबाट अवैध बिउ बरामद भयो, जसमा नेपालका कम्पनीहरू संलग्न थिए।
- अवैध बिउ उत्पादन र बिक्री गर्ने कम्पनीहरूलाई कारबाही गरिने, जसमा जरिवाना र अनुमतिपत्र खारेज हुनसक्नेछ।
- अनुगमनको क्रममा १ हजार २५ किलोग्राम अवैध धान र तरकारीको बिउ फेला परेको थियो, साथै प्रमाणपत्र बिना बिउ बिक्री गरेको पनि पाइयो।
विराटनगर । सुनसरीका विभिन्न स्थानबाट शुक्रबार ठुलो परिमाणमा अवैध बिउ बरामद भयो । बरामद भएका बिउ उत्पादक कम्पनीहरू भने नेपालकै हुन् । उनीहरुले सरकारले सूचीकृत नगरेका जातका बिउ जथाभाबी प्याकिङ गरेर विक्री गरेको अनुगमनको क्रममा फेला परेको थियो ।
अवैध तरिकाले बिउ बजारमा पठाउने बिउ उत्पादकहरूमा राष्ट्रिय बिउ विजन कम्पनी प्रा.ली. मोरङ, कृषक बिउ उत्पादक समूह गौरादह–६ झापा, भूमि सिड मोरङ विराटनगर, कञ्चन बिउ उत्पादक उद्योग प्रा.ली. मेचीनगर झापा, मेची कृषक बहुमुखी सहकारी संस्था लि. मेचीनगर झापा, तमोर बिउ उत्पादक बिर्तामोड–७ झापा, इस्ट वेष्ट सिड कम्पनी, विराटनगर रहेका छन् । अवैध तरिकाले बिउ उत्पादन गर्ने, वितरण गर्नेलाई कारबाहीको प्रक्रिया सुरु गरिएको प्रदेश कृषि मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डेले बताए ।
कोशी प्रदेश बिउ विजन ऐन २०८१ तथा बिउ बिजन नियमावली २०८१को प्रावधान अनुसार उनीहरूलाई कारबाही गरिने उनको भनाइ छ । ‘प्रदेशको कानुन र नियमावली अनुसार कारबाही प्रक्रिया अगाडि बढ्छ,’ पाण्डेले भने, ‘प्रदेशबाट कारबाही गर्नका लागि पर्याप्त कानुन व्यवस्था नभएको अवस्थामा बिउ बिजन ऐन २०४५ अनुसार कारबाहीको लागि सङ्घीय सरकारमा लेखि पठाउँछौँ ।’
प्रदेश बिउ बिजन ऐनको दफा ११, १२, १३ मा सूचित वा पञ्जीकृत बिउ बिजन मात्रै विक्री वितरण गर्न पाइने, बिक्रीका लागि अनुमति लिनुपर्ने, अनुमति पत्रको नियमित नवीकरण गर्नुपर्नेलगायतका व्यवस्था छ । यदि कानुन विपरीत कार्य गरेमा अनुमतिपत्र खारेज गर्न सक्ने व्यवस्था प्रदेश बिउ बिजन ऐनको दफा १४ मा उल्लेख छ ।
यस्तै अनुमति नलिई, सूचिकृत नभएका बिउ विक्री गरेका कारण किसानलाई क्षति भए क्षतिपूर्ति भराउने पनि दफा २३ मा कानुनी व्यवस्था छ । त्यस्ता मुद्दा भने प्रदेश बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रले गर्नेछ । केन्द्र नरहेको अवस्थामा बिउ बिजन प्रयोगशालाले नै केन्द्रको अधिकार प्रयोग गर्ने व्यवस्था छ ।
उक्त ऐनको दफा २६ मा दण्ड र सजायको व्यवस्था छ । जहाँ अनुमति बिना उत्पादन गर्ने, विक्री गर्नेलाई ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिमाना गर्न सक्ने व्यवस्था छ ।
अवैध बिउ कसरी बरामद भयो ?
कोशी प्रदेश सरकार उद्योग कृषि तथा सहकारी मन्त्रालयका बाली विकास अधिकृत योगेन्द्र यादव र बिउ निरीक्षक पुरुषोतम जोशीको नेतृत्वको टोलीले शुक्रबार सुनसरीका विभिन्न स्थानमा अनुगमन गरेको थियो । त्यसक्रममा १ हजार २५ किलोग्राम अवैध धानको तथा अन्य बालीका जातको बिउ बरामद भएको थियो । जसमा बीबी ११ जातको धानको बिउ ९ सय २० किलो, एमटियु ७०२९ जातको बिउ ३० किलो, कोमल १ सय १ किलो, सोना मन्सुली ६५ किलो र तरकारीको म्याद गुज्रेको बिउ ४ किलो रहेको छ ।
यस्तै कृषि सामग्री कम्पनी लिमिटेड इटहरीबाट बिउ व्यवसाय प्रमाणपत्र नभएका व्यवसायीलाई पनि धानको बिउ उपलब्ध गराएको भेटिएको अनुगमनमा गएका बिउ निरीक्षक जोशीले बताए । जसमा भोक्राहा नर्सिंङ गाउँपालिकामा एक जना व्यवसायीलाई यसरी धानको बिउ उपलब्ध गराएको पाइएको हो ।
अनुगमन गर्दा बिउ व्यवसायीहरूले अनुमति पत्र नवीकरण नगरेको, अनुमति पत्र नलिई बिउ विजन बिक्री गरेको र स्थलगत पसलमा जाँदा टोली आएको थाहा पाएपछि धेरै पसल बन्द गरेर व्यवसायीहरू हिँडेका थिए । यसअघि सङ्घीय सरकार मातहतमा दर्ता र नवीकरण भएका बिउ बिजन उत्पादक तथा विक्री केन्द्रहरू हाल भने प्रदेशलाई हस्तान्तरण गरिएको छ ।