आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय
भिजिट भिसा प्रकरण

गृहमन्त्रीलाई महँगो पर्दै भिजिट भिसाका नाममा मानव तस्करी प्रकरण, राजीनामा दिन दबाब

शनिबार, १० जेठ २०८२, २१ : २२
शनिबार, १० जेठ २०८२

समाचार सारांश

  • भिजिट भिसा मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग उठेको छ, विपक्षी दल र कांग्रेस नेता कोइरालाले पनि समर्थन गरेका छन्।
  • अख्तियारले गरेको अनुसन्धानमा गृह मन्त्रालयका अधिकारीहरूको संलग्नता देखिएको आशंका, र सेटिङमा संलग्न कर्मचारीहरूसँगै बिचौलियाको सम्बन्ध गृहमन्त्रीको सचिवालयसम्म पुगेको आरोप छ।
  • गृहमन्त्री लेखकले भने आफूमाथि लागेको आरोपलाई अस्वीकार गर्दै छानबिनमा सहयोग गर्न तयार रहेको बताएका छन्, तर रास्वपा र अन्य दलहरूले राजीनामाको माग गरेका छन्।

काठमाडौँ । भिजिट भिसाको आडमा भइरहेको मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि नै प्रश्न उठेपछि उनले राजीनामा दिनुपर्ने आवाज उठ्न थालेको छ । प्रतिपक्षी दल रास्वपाका साथसाथै गृहमन्त्रीकै पार्टीका प्रभावशाली नेता डा शेखर कोइरालाले समेत उनले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने धारणा राखेका हुन् । 

त्रिभुवन विमानस्थल हुँदै भिजिट भिसाका नाममा मानव तस्करी हुने घटना नयाँ भने होइन । तर, सम्बन्धित निकायको उदासीनताका साथै आपसी सेटिङका कारण यो समस्या समाधान हुन नसकिरहेको यथार्थका बिच पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेसँगै विवाद थप बल्झिन पुगेको हो । 

अख्तियारले बुधबार त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयसँगै अरू केही ठाउँमा छापा मारेको थियो । ट्राभल एजेन्सी र एउटा मेनपावर सञ्चालकको कार्यालयमा समेत छापा मारेर कागजात र डिजिटल डिभाइस जफत गरेर अनुसन्धान सुरु गरिएको अख्तियार स्रोतका भनाइ छ । 

बिचौलियासँग मिलेर भिजिट भिसाका नाममा सेटिङमा विदेश जानेहरूबाट रकम असुल्ने गरेको आशंका अख्तियारको छ । सोही आशंकापछि अख्तियारले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख (सहसचिव) तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिइएको थियो । हाल उनलाई छाडिएपनि यो प्रकरणमा गृह मन्त्रालयकै जिम्मेवार अधिकारीहरुको संलग्नता रहेको आशंकासहित छानबिन चलिरहेको छ ।

सेटिङमा संलग्न कर्मचारी मात्र नभई बिचौलियाको समेत गृहमन्त्री रमेश लेखकको सचिवालयसम्म सम्पर्क भेटिएको भन्दै उनीमाथि व्यापक प्रश्न उठाइएको हो । यससँगै सादगी नेता मानिने लेखकले विगतमा सत्तामा रहेकाहरूमाथि उठाएको नैतिकताको प्रश्न अब उनीमाथि तेर्सिएको छ । 

गृहमन्त्री लेखकले अध्यागमन कार्यालयका तत्कालीन प्रमुख (सहसचिव) सुरेश पन्थीलाई हटाएर गत असोज २३ मा भट्टराईलाई जिम्मेवारी दिएका थिए । विवादास्पद पृष्ठभूमिका भट्टराईलाई पठाए लगत्तै अध्यागमनमा भिजिट भिसाको सेटिङ बढेको आरोप लाग्दै आएको थियो । सोही विषयमा अख्तियारसम्म उजुरी परेको र अख्तियारले छापा मार्ने सुइँको पाएसँगै हतारहतार गृहमन्त्रीले भट्टराईलाई मंगलबार नै मन्त्रालय तानेको आरोप लागेको छ । 

त्यसपछि पनि गृह मन्त्रालयले थप १४ जना कर्मचारीलाई विमानस्थल कार्यालयबाट तानेको छ । मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले अहिलेसम्म दुई पटक गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट ९ नायब सुब्बा, चार कम्प्युटर अपरेटर र एक सहायक कम्प्युटर अपरेटरलाई तानेर अन्यत्र पठाएको हो । 

मानव तस्करी जस्तो गम्भीर अपराधजन्य कार्यमा गृह मन्त्रालय र त्यसकै नेतृत्व जोडिइरहेको बेला सँगसँगै दैनिक ४० लाख रुपैयाँसम्म संकलन भएका समाचारहरू आएका छन् । सो रकम कहाँ–कहाँ पुग्थ्यो र यसमा क–कसको संलग्नता थियो भन्ने सवाल छानबिनपछि प्रस्ट होला नै तर, अहिले नै गृहमन्त्रीको नाम समेत मुछिएको भन्दै उनले राजीनामा दिँदै छानबिनमा सघाउनुपर्ने आवाज उठेको हो ।   

पार्टीको अभियानमा व्यस्त रहेकाले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले यो विषयमा औपचारिक धारणा बाहिर ल्याइसकेको छैन । यद्यपि सो पार्टीका नेता सुदन किरातीले गृहमन्त्री लेखकलाई पदबाट राजीनामा दिन सुझाव दिएका छन् । 

शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै किरातीले गृहमन्त्रीलाई स्वतन्त्र छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएका हुन् । उनले भने, ‘गृहमन्त्रीज्यू, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने गरेको मानव तस्करीबारे आफूलाई नै स्वतन्त्र छानबिनको माग गर्दै पदबाट राजीनामा दिएर उच्च नैतिकताको प्रदर्शन गरिदिनुहोस् । त्यसैमा जनता, देश र राजनीतिको भलो हुनेछ।’

शनिबार नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि गृहमन्त्रीको राजीनामाको माग गर्दै स्वतन्त्र छानबिनको वातावरण बनाउनुपर्ने बताएको छ। 

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी प्रकरणमा गृहमन्त्री र उनका सचिवालयको संलग्नता सार्वजनिक भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल राजीनामा दिन गृहमन्त्रीलाई आग्रह गरिएको हो । 

विज्ञप्तिमा भनिएको छ, ‘विगतमा सांसद रमेश लेखकले नै सदनमा, ‘‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’’ भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौँ ।’

साथै यस मुद्दालाई लिएर आगामी दिनमा सदन अवरुद्ध हुँदा त्यसले उत्पन्न गर्ने नेपाली राजनीतिप्रति घृणाको कारक नहुन पनि रास्वपाले सरकारलाई सुझाव दिएको छ । 

  • शेखर पनि राजीनामाकै पक्षमा 

हाल भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री केपी ओली मौन छन् । यस्तै एमाले र कांग्रेस पनि संस्थागत रूपमा यो विषयमा मौन छ । तर, लेखककै पार्टी कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले भने लेखकले राजीनामा दिनुपर्ने सार्वजनिक धारणा राखेका छन् । 

कोइरालाले लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएका हुन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने धारणा व्यक्त गरे ।

उनले विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजीनामा दिँदा उनकै नैतिकता सघाउ पुग्ने बताए । कोइरालाको यो अभिव्यक्तिपछि कांग्रेसभित्रै हल्लीखल्ली मच्चिएको एक केन्द्रीय नेताले शनिबार साँझ रातोपाटीलाई बताए ।

  • बचाउमा लेखक

आफूमाथि प्रश्न उठिरहँदा लेखक भने बचाउमा उत्रिएका छन् । उनले शनिबार सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै आफ्नो विरुद्ध नियोजित रूपमा झुट्टा प्रचारबाजी भइरहेको दाबी गरे । 

उनले भने, ‘मेरा विरुद्धमा नियोजित र षडयन्त्रमूलक ढंगबाट झुट्टा प्रचारबाजी भइरहेको छ । म सबैलाई के आग्रह गर्न चाहन्छु भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन मेरो सार्वजनिक जीवनमा, मेरो राजनीतिक जीवनमा, यदि एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको प्रमाणित कसैले गर्‍यो भने, प्रमाणित भयो भने म पदबाट होइन म राजनीतिबाट राजीनामा दिन्छु ।’

उनले अब यो बारेमा विस्तृत कुरा १३ गते प्रतिनिधिसभामा बोल्ने समेत बताए । राजीनामाको आवाज उठाइँदा उनी आफूलाई निर्दोष देखाउनैमा तल्लीन देखिएका हुन् ।  

तर, उक्त बैठकमा प्रतिपक्षीले जोडदार रूपमा अघि बढाउने तयारी गरेका छन् । माओवादीका एक सांसदले यो विषय गम्भीर रहेकाले संसद् अवरुद्ध पार्नेसम्मको तयारी रहेको बताए । 

  • गृह मन्त्रालयको अर्को विज्ञप्ति

यो प्रकरणले राजनीति तातिरहेका बेला गृह मन्त्रालय पनि बचाउमै उत्रिएको छ । गृह मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका समाचारप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको सहसचिव छवि रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

मन्त्रालयले आफ्ना तर्फबाट कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा संलग्नता नरहेको र भविष्यमा पनि नहुने दाबी गरेको छ । 

 

‘विषयको गम्भीरतालाई मध्यनजर गर्दै सत्यतथ्यमा आधारित समाचार मात्र प्रकाशन र प्रसारण गरिदिनु हुन सबैमा अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयले मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्न गृह प्रशासन निरन्तर क्रियाशील रहेको बताउँदै सबै प्रकारका अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको समेत बताएको छ । यसै सन्दर्भमा, नीतिगत तथा संस्थागत सुधारका कार्यहरू समेत अघि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।

भिजिट भिसाका सन्दर्भमा उठेको सवाल गम्भीर रहेको र जनस्तरबाट समेत सेटिङका सन्दर्भमा प्रश्न उठाइएकाले विषय त्यत्तिकै सेलाउने देखिँदैन । यस्तै प्रतिपक्षीले विषयलाई जोडदार रूपमा अघि बढाउने तयारी गरिसकेकाले सरकारकै लागि यो विषय टाउको दुखाइ बन्ने कतिपयको बुझाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप