मङ्गलबार, १३ जेठ २०८२
ताजा लोकप्रिय

राजावादीको आन्दोलन निष्क्रिय पार्ने रणनीति बनाउन एमाले जनसंगठनको बैठक  च्यासलमा

सोमबार, १२ जेठ २०८२, ०९ : ४८
सोमबार, १२ जेठ २०८२

समाचार सारांश

  • एमाले जनसंगठनका पदाधिकारीहरूको बैठक च्यासलमा सुरु भयो, जहाँ जेठ १५ गतेको जनप्रदर्शनको तयारीबारे छलफल भयो।
  • बैठकमा महासचिव शंकर पोखरेलको उपस्थिति थियो, र यसले राजवादीहरूको आन्दोलनको प्रतिवाद गर्ने रणनीति बनाउने निर्णय गर्यो।
  • एमालेले गणतन्त्र दिवसको अवसरमा जनसमुदायलाई सहभागी हुन आह्वान गरेको छ, किनकि राजवादीहरूले राजसंस्था पुनर्स्थापनाको लागि आन्दोलन गर्ने घोषणा गरेका छन्।

काठमाडौँ । नेकपा एमाले जनसंगठनका पदाधिकारीको बैठक सुरु भएको छ । 

एमाले जनसंगठन संयन्त्रको आयोजनामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा जेठ १५गते एमालेले आयोजना गर्ने जनप्रदर्शनको तयारीमा केन्द्रित रहेको छ ।

 महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको बैठकमा नेताहरू एमाले उपमहासचिव विष्णु रिमाल, सचिवहरू योगेश भट्टराई,लेखराज भट्ट,पद्मा अर्याल,गोकर्ण विष्ट लगायत सहभागी छन् । 

आइतबार बसेको एमाले सचिवालय बैठकले जेठ १५ गते राजवादीको आन्दोलनको प्रतिवाद गर्ने र ७ दशक लामो बलिदानी संघर्षको बलबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उक्त दिनलाई विशेष उत्सवका रूपमा मनाउन जनसमुदायलाई आह्वान गर्ने निर्णय गरेको थियो । 

२०६५ जेठ १५ गते पहिलो संविधानसभाको बैठकले गणतन्त्र घोषणा गरेको हो । जेठ १५ गतेबाटै राजावादीहरूले पनि आन्दोलन गर्ने जनाएका छन् । उनीहरूले राजसंस्था पुनर्स्थापना नभएसम्म आन्दोलन नरोक्ने बताउँदै आएका छन् । त्यसका लागि उनीहरूले नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ गठन गरी गतिविधि गर्दै आएका छन् ।

 राजसंस्था पुनर्स्थापनाको आन्दोलनमा राप्रपा, राप्रपा नेपाललगायत राजावादी, पुनर्रुत्थानवादीहरूको पनि साथ रहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरूको आन्दोलन रोक्न निर्देशन दिइसकेका छन् ।सोही अनुसार सोमबारको बैठकबाट राजावदीको आन्दोलन निष्क्रिय पार्ने रणनीति तय गर्ने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप