बिहीबार, १५ जेठ २०८२
ताजा लोकप्रिय
राजावादी प्रदर्शन

तीनकुने प्रदर्शन : फूल रोप्न खाली क्यारेट लैजानेदेखि स्याउ, सुन्तला चोर्नेसम्मलाई मुद्दा

सोमबार, १२ जेठ २०८२, १५ : २३
सोमबार, १२ जेठ २०८२

काठमाडौँ । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा ६१ जनाविरुद्ध मुद्दा चलाइएको छ ।

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले यहाँस्थित जिल्ला अदालतमा सोमबार अभियोगपत्र दायर गरेको हो । बाँकी चार नाबालकविरुद्ध बाल अदालतमा मुद्दा दायर गर्ने तयारी गरिएको छ ।

सरकारी वकिलले दुई वटा मिसिल तयार गरी दुर्गा प्रसाई, धवल शमशेर राणा, रवीन्द्र मिश्रसहित ५० जनाविरुद्ध राज्य विरुद्ध, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने र संगठित अपराध कसुरमा मुद्दा चलाएको छ ।

बाँकी ११ जनाविरुद्ध भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसमेतको जाहेरीका आधारमा आपराधिक उपद्रव कसुरमा मुद्दा चलाइएको छ । आपराधिक उपद्रव कसुरमा मुद्दा दायर भएका भाटभटेनी लुटपाटमा संलग्न रहेका देखिन्छन् ।

आपराधिक उपद्रवमा मुद्दा दायर भएका ११ जना इन्ड्राइभ र पठाओ चालक, टेम्पो चालक, आन्दोलन हेर्न आएर फूल रोप्न भनी खाली क्यारेट लग्नेलगायत रहेका छन् । तीमध्ये केहीले आफूहरूलाई राजावादी प्रदर्शनबारे थाहा समेत नभएको बयान प्रहरीसामु दिएका छन् । 

यस्तो छ जिल्ला सरकारी वकिलले प्रतिवादी बनाएका ११ जनाको बयान:

प्रतिवादी श्रवण लामा

  • बालकुमारीमा बसी इलेक्ट्रिसियन र पठाओ–इन्ड्राइभ चलाउँदै आएको।
  •  भाटभटेनीमा तोडफोड भैरहेको देखेपछि के भएको रहेछ भनेर हेर्न गएको ।
  • सामान चोरी भैरहेको, फालिरहेको, प्रहरीलाई ढुङ्गा हानिरहेको देखेपछि आन्दोलनकारीसँग मिसिएर उनीहरुको उक्साहटमा तोडफोड गरी फालिएको फ्रिज र क्यारेटमा आगो लगाएको ।
  • कुनै पार्टी र राजनीतिक दलसँग आवद्ध नभएको ।
  •  राजसंस्था पुर्नस्थापनका लागि सो दिन भएको आन्दोलनबारे सामाजिक सञ्जाल हेरेर थाहा पाएको ।
  • त्यसैदिन बालकुमारीबाट पक्राउ ।

 प्रतिवादी समीर मगर

  • त्यसदिन कोठामै बसिरहेकोमा भाटभटेनीमा हल्ला भएको सुनेपछि गएकोमा त्यहाँ तोडफोड भैरहेको देखेको  ।
  • कम्पाउन्डमा बसिरहेको बेला भाटभटेनीको सेक्युरिटी गार्डले धाराको पाइपले हिर्काएपछि रिस उठी भुइँमा रहेको नरिवलले सेक्युरिटीलाई र त्यसपछि भुइँमा रहेको बेल्चाले नजिकै पार्किङ गरिराखेकोे गाडीको दुवैतर्फको सिसामा हानेको ।
  • हालसम्म कुनै दलको सदस्यता नलिएको । 
  • चैत १७ गते कोठाबाट पक्राउ 
  • तीनकुने घटना, घर तथा सवारीसाधन आगजनी र पत्रकारको हत्याबारे सुनिथाहा पाएको ।

 प्रतिवादी रविरंजन कुमार सिंह

  • कोठामै बसिरहेको बेला भाटभटेनीमा हल्ला भएपछि पुगी स्टोरबाट यार्सागुम्बा लेखिएको रक्सी र एक किलो स्याउ लगेको ।
  • तीनकुने घटनामा संलग्न नरहेको, त्यसबारे सामाजिक सञ्जालमा भिडियो हेरी थाहा पाएको ।
  • चैत १७ गते भाटभटेनी नजिकै रहेको आफ्नै कोठाबाट पक्राउ ।

प्रतिवादी एलिसा राई

  • त्यसदिन साँझ ४–५ बजेतिर कोठाबाहिर हावा खाँदै बसिरहेकोमा नाम थाहा नभएकी छिमेकी दिदीले भाटभटेनी लुटपाट गरी सामान लिएर जाँदैछन् रे हामी पनि जाउँ न के रहेछ भनेपछि सँगै गएको ।
  • त्यहाँ पुग्दा भाटभटेनीको अगाडिको सिसा प्रदर्शनकारीले फुटाइसकेको ।
  • कसैले सामान फुटाउँदै र कसैले लाँदै गरेकोमा ११–१२ वर्षको सानो केटोले कुद्दै खाली क्यारेट ल्याइ आन्टी एकछिन समाइदिनु न भनेपछि म समाउन्न त्यहाँ राख हेरिदिन्छु भनेको ।
  • क्यारेट रुँग्दै बसेकोमा त्यो केटो नआएपछि खाली क्यारेट त हो फूल रोप्न हुन्छ भनेर लगेर गएको ।
  • चैत १६ गते पक्राउ ।

प्रतिवादी आशिक कुमार महत्तो

  • डेराबाट खाजा खान भनी भाटभटेनी पछाडिको गल्लीमा निस्किएको होहल्ला सुनेपछि गएको ।
  • मानिसहरुले विभिन्न सरसामान बोकी लगिरहेको देखेपछि एक डबल ब्ल्याक र दुई वटा ज्याक डेनिस रक्सी लिएर गएको ।
  • तीनकुने घटनामा सरिक नभएको, त्यसबारे सामाजिक सञ्जालबाट थाहा पाएको ।
  • चैत १७ गते कोटेश्वरस्थित कोठाबाट नियन्त्रणमा लिएको ।

प्रतिवादी गोबिन्दा राय

  • तीनकुने घटनामा प्रत्यक्ष संलग्न नभएको, त्यसबारे भिडियो हेरिथाहा पाएको ।
  • भाटभटेनी नजिकै होस्टल भएकाले अन्य साथीहरूसहित त्यहाँ पुगेकोमा गेटमा साथीहरुले ११ थान टिसर्ट, दुई थान बच्चाले लगाउने कट्टु दिएपछि लिई भागेको ।
  • चैत १७ गते पक्राउ 

 प्रतिवादी सुशिल कुमाल

  • ललितपुर रुट नम्बर १४ को टेम्पो चालक ।
  • तीनकुनेमा भएको प्रदर्शनले बाटो बन्द हुने थाहा पाएपछि लगनखेलमा टेम्पो पार्किङ गरेर कोटेश्वर फर्किएको ।
  • कोठानजिकै भाटभटेनीमा तोडफोड गरी लुटपाट गरेर सामान लगिरहेको देखेर आफू पनि त्यहाँ पुगी ८–नौ थान टिसर्ट, चार थान स्याउ, एक थान सुन्तला लिइगएको ।
  • पक्राउपछि पाउरोटी खाइसकेकोमा अन्य सामान तीनकुनेस्थित प्रहरी चौकीमा बुझाएको ।

 प्रतिवादी निर्मला कार्की

  • देब्रे खुट्टामा समस्या देखिएपछि उपचारका लागि काठमाडौँ आई छोराको डेरामा बसेको एक महिना भएको । उपचारसँगै काम पनि शुरु गरेको ।
  • त्यसदिन ग्वार्कोको थेरापी सेन्टरमा गई औषधि उपचार गराइ फर्किरहँदा भाटभटेनीमा लुटपाट भैरहेको देखेर भित्र गएको ।
  • चार थान स्याउ र १ थान सुन्तला लिई फरार भएको ।
  • फलफूललगायत सामान लानेबाहेक अन्य गतिविधिमा संलग्न नभएको ।

प्रतिवादी प्रेम कुमार महत्तो

  • कोटेश्वरस्थित डेरा कोठामा बसिरहेको बेला भाटभटेनीमा होहल्ला भएपछि त्यहाँको अवस्था थाहा पाएको ।
  • भाटभटेनी कम्पाउन्डमा प्रवेश गरी तीन बोतल अर्ना र एक बोतल बर्डभाइजर बियर बोकी गएको ।

 प्रतिवादी राधेश्याम यादव

  • तीनकुने घटनाबारे सामाजिक सञ्जालमा भिडियो हेरिथाहा पाएको ।
  • होस्टल नजिकै भाटभटेनीमा तोडफोड भएको थाहा पाएपछि त्यहाँ गई १४ थान टिसर्ट, दुई थान बच्चाको कट्टु लिई गएको ।
  • होस्टलमा टिसर्ट र कट्टु लुकाइछिपाइ राखेको अवस्थामा चैत १७ गते पक्राउ ।

प्रतिवादी दिनेश महत्तो

  • होस्टलको वार्डेनले भाटभटेनीमा तोडफोड भैरहेको बताएपछि गएको ।
  • धेरैले लुटपाट गरिरहेको देखेपछि हेरेर बसेको ।
  • एक जनाले खाली कार्टुन बोकी बाहिर ल्याइ फालेकोमा त्यसमा चार बट्टा चुरोट देखेपछि उठाइ लिई गएको ।
  • आफू चुरोट नखाने भएकाले होस्टलमा बस्ने अन्य दाइहरुलाई दिएको ।
  • अश्रुग्यास प्रहार हुन थालेपछि त्यहाँबाट भागी होस्टलमा गइबसेको ।
  • दुर्गा प्रसाई र रविन्द्र मिश्रलाई सामाजिक सञ्जालबाट चिनेकोमा तीनकुने घटनामा संलग्न अन्य आरोपीलाई नचिन्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

काशीराम बजगाई
काशीराम बजगाई
लेखकबाट थप