सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय
भिजिट भिसा प्रकरण

उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्दैन : विपक्षी दलहरू

मङ्गलबार, १३ जेठ २०८२, १२ : ०१
मङ्गलबार, १३ जेठ २०८२

समाचार सारांश

  • विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति नबन्दासम्म सदन चल्न नदिने अडान लिएका छन्।
  • सभामुखले प्रमुख प्रतिपक्षी दलका सांसद वर्षमान पुनलाई बोल्न दिएपछि पुनले गृहमन्त्रीको सचिवालयको संलग्नताको विषय उठाए।
  • विपक्षी सांसदहरूले गृहमन्त्रीको राजीनामा र उच्च स्तरीय छानबिन समितिको माग गर्दै नाराबाजी गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भयो।

काठमाडौँ । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने बताएका छन् ।

 प्रतिनिधिसभाको आजको बैठक सुरु हुने बित्तकै विपक्षी सांसदहरूले उठेर विरोध जनाए पछि सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनलाई बोल्न दिए । 

पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको दायरामा राखेको र त्यो विषयमा गृहमन्त्री रमेश लेखकको सचिवालय पनि जोडिएको देखिएकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरे । 

‘गृहमन्त्रीज्यूको सचिवालय जोडिएको कुरा आइरहेका छन् । उहाँमाथि र उहाँको सचिवालयमाथि आरोप लागेपछि उहाँले निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गरिदिनुपर्छ । र घटनाको छानबिनका लागि उच्च स्तरीय छानबिन आयोग बन्नुपर्छ । त्यो नहुँदासम्म संसद् चल्न सक्दैन,’ पुनले भने । 

पुनको भनाइ सकिएपछि पनि विपक्षी सांसदहरू उठेपछि सभामुख घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाललाई बोल्न समय दिए । उनले पनि गृहमन्त्रीले मार्ग प्रशस्त गर्न माग गर्दै उच्च स्तरीय छानबिन समिति नबन्दासम्म सदन चल्न नसक्ने बताए ।

त्यसपछि सभामुखले कांग्रेस सांसद श्याम घिमिरेलाई बोल्न समय दिएसँगै विपक्षीले नाराबाजी सुरु गरेका थिए । लगत्तै सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप