यस्तो छ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आगामी वर्षको बजेट

काठमाडौँ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १३ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संसद्मा बजेट प्रस्तुत गर्दै नागरिक उड्डयन मन्त्रालयका विभिन्न कार्यक्रम समावेश गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार गरी बुटिक विमानस्थलमा विकास गर्न ४ अर्ब १५ करोड विनियोजन गरिएको छ । त्यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय हबमा विकास गर्ने योजना समेत बजेटमा समेटिएको छ ।
यस्तो छ पर्यटन मन्त्रालयको बजेट :
१. पूर्वाधारको विकास, गुणस्तरीय सेवा विस्तार र बजारीकरणका माध्यमबाट नेपाललाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा ब्राण्डिङ गरिनेछ । छिमेकी मुलुकका पर्यटकलाई लक्षित गरी प्रवर्द्धनका विशेष प्याकेज सञ्चालन गरिनेछ ।
२. पर्या–पर्यटन, पर्वतीय तथा साहसिक पर्यटन, धार्मिक र सांस्कृतिक पर्यटनका प्रमुख गन्तव्य स्थलहरूमा पर्यटक लक्षित सेवा विस्तार गरिनेछ । प्राकृतिक, सांस्कृतिक, साहसिक, चलचित्र, आरोग्य र खेलमा आधारित पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछ । स्थलमार्गबाट आउने पर्यटकहरूलाई लक्षित गरी स्वागत तथा सेवा केन्द्र स्थापना गरिनेछ ।
३. पर्यटकीय गन्तव्यको विकासमा निजी क्षेत्रको लगानी आकर्षित गरिनेछ । राष्ट्रिय निकुञ्ज, आरक्ष तथा संरक्षित क्षेत्रमा जङ्गल सफारी, पदयात्रा र पर्या–पर्यटकीय पूर्वाधार विकासमा जोड दिइनेछ । प्रमुख पर्यटकीय क्षेत्रमा हिल स्टेसन, होटल, लज, रिसोर्ट लगायतका पर्यटन पूर्वाधार निर्माणका लागि वन क्षेत्र लगायत सरकारी स्वामित्वको जमिन लिजमा दिने व्यवस्था गरिनेछ ।
४. निजी क्षेत्रसँगको सहकार्य र पर्यटन बोर्डको सहजीकरणमा पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न सुरक्षित पर्या–पर्यटन पदमार्गहरूको विकास गरिनेछ । शुक्लाफाँटा–खप्तड, बर्दिया–रारा, लुम्बिनी–मुक्तिनाथ, सौराहा–गोसाईँकुण्ड, जनकपुरधाम–कालिञ्चोक, कोशीटप्पु–सगरमाथा र केचना–पाथिभरा पदयात्रा सञ्चालन गरिनेछ । त्यसैगरी खप्तड, रामारोशन, बडिमालिका, बुढीनन्दा, रारा, स्वर्गद्वारी र मुक्तिनाथसम्मको पर्या–पर्यटन पदमार्ग विकास गरिनेछ । हिमाल आरोही तथा पदयात्रीको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था मिलाइनेछ ।
५. होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योग सरह आयकर तथा विद्युत् महसुल छुट दिइनेछ । होटल, मोटल, रेष्टुरेन्ट, जङ्गल सफारी लगायतका पर्यटन व्यवसायमा कार्यरत श्रमिकहरूका लागि सेवा शुल्कका माध्यमबाट प्रोत्साहन गर्न कानूनी व्यवस्था गरिनेछ ।
६. सगरमाथा, पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम, मुक्तिनाथ, स्वर्गद्वारी, रारा, खप्तड लगायतका प्रमुख धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यहरूमा पूर्वाधार विकास गरिनेछ। लुम्बिनी क्षेत्रको संरक्षण, विकास र प्रवर्द्धन गर्न बृहत लुम्बिनी गुरुयोजना तयार गरी कार्यान्वयनमा लगिनेछ । स्वयम्भुनाथ, हनुमानढोका, पशुपतिनाथ र वौद्धनाथ क्षेत्रमा सन्ध्याकालीन सम्पदामार्ग विकास गरिनेछ ।
७. पुष्पलाल मध्यपहाडी राजमार्ग नजिकका आकर्षक स्थलहरूमा पर्यटन पूर्वाधारको विकासमा जोड दिइनेछ । कर्णाली, भेरी, गण्डकी, त्रिशुली, कोशी लगायतका प्रमुख नदीहरूमा र्याफ्टिङ लगायत पर्यटन प्रवर्द्धनका क्रियाकलाप सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ ।
८. नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायमा छुट्याई संस्थागत सुदृढीकरण गरिनेछ । आगामी आर्थिक वर्षभित्र नेपाललाई हवाई उडान सुरक्षा सूचीबाट बाहिर ल्याउन आवश्यक कार्य गरिनेछ । आन्तरिक हवाई सेवालाई थप सुरक्षित र पहुँचयोग्य बनाइनेछ ।
९. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो यात्रु चापलाई व्यवस्थापन गर्न क्षमता विस्तार गरी बुटिक विमानस्थलमा विकास गर्न रु. ४ अर्ब १५ करोड विनियोजन गरेको छु । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय हबमा विकास गरिनेछ ।
१०. गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटक र श्रमिकको लागि किफायती हुने गरी सञ्चालनमा ल्याउन विमानस्थल परिसरमा आवश्यक सुविधा उपलब्ध गराइनेछ । यस विमानस्थलबाट कार्गो सेवा सञ्चालन गर्न विशेष सहुलियत दिइनेछ ।
११. नेपालमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गरिरहेका वायुसेवा कम्पनीहरूलाई भैरहवा र पोखरा विमानस्थलबाट निश्चित सङ्ख्यामा उडान सञ्चालन गर्न थप प्रोत्साहन र सहुलियत दिइनेछ । वैकल्पिक विकास वित्तको उपयोग गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाइनेछ ।
१२. झापाको भद्रपुर, दाङको टरिगाउँ र ताप्लेजुङको सुकेटार विमानस्थलको क्षमता विस्तार गरिनेछ । सुर्खेतमा प्रादेशिक विमानस्थलको पूर्व तयारी सम्पन्न गरी निर्माण कार्य थालनी गरिनेछ । तेह्रथुमको चुहानडाँडा, डडेल्धुराको अजयमेरु र उदयपुरको सगरमाथा विमानस्थलको विस्तृत आयोजना प्रतिवेदन तयार गरिनेछ । आन्तरिक विमानस्थलहरूको पूर्वाधार विकासका लागि रु. ५० करोड छुट्याएको छु ।
१३. उडान चाप कम भएका आन्तरिक विमानस्थलहरूको वैकल्पिक प्रयोग योजना बनाइनेछ । निजी क्षेत्रसँगको साझेदारीमा यस्ता विमानस्थललाई हवाई उड्ययनसम्बन्धी तालिम तथा प्याराग्लाइडिङ्ग, प्यारासुट, अल्ट्रालाइट, स्काइडाइभिङ्ग जस्ता साहसिक पर्यटनमा प्रयोग गरिनेछ । नयाँ आन्तरिक विमानस्थलको निर्माण र विस्तार गर्दा आर्थिक तथा व्यावसायिक सम्भाव्यतालाई मुख्य आधार बनाइनेछ ।
१४. नेपालको प्राचीन इतिहास, संस्कृति र पुरातात्त्विक सम्पदाको संरक्षण गरिनेछ । अर्घाखाँचीको पणेनामा संस्कृत व्याकरणका प्रतिपादक पाणिनि ऋषिको स्मृतिमा पाणिनि ज्ञान उद्यान निर्माण गरिनेछ । ऐतिहासिक तथा पुरातात्त्विक महत्वका अभिलेखहरूको डिजिटल आर्काइभीङ् गर्न आवश्यक बजेट छुट्याएको छु ।
१५. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लागि रु. १३ अर्ब २८ करोड बजेट विनियोजन गरेको छु ।