शुक्रबार, १६ जेठ २०८२
ताजा लोकप्रिय

प्रधानमन्त्री कप भलिबल : हेल्प नेपाल र पुलिस क्लबलाई उपाधि

बिहीबार, १५ जेठ २०८२, २२ : २८
बिहीबार, १५ जेठ २०८२

समाचार सारांश

  • पोखरामा सम्पन्न प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल क्लब लिगमा पुरुषतर्फ टिप टप र महिलातर्फ नेपाल पुलिस क्लबले उपाधि जिते।
  • टिप टपले गण्डकी प्रदेशलाई पराजित गर्दै लगातार तेस्रो पटक उपाधि जित्यो भने पुलिसले न्यु डायमण्डलाई हरायो।
  • विजेता टोलीले काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्, पुरुष लिग माल्दिभ्समा र महिला नेपालमा हुनेछ।

कास्की । पोखरामा सञ्चालन भएको नवौँ संस्करणको ‘प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष भलिबल क्लब लिग’को उपाधि पुरुषतर्फ टिप टप हेल्प नेपाल स्पोर्टस् क्लबले तथा महिलातर्फ नेपाल पुलिस क्लबले जितेको छ । 

नेपाल भलिबल सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा यही जेठ ८ गतेदेखी सुरु भएको उक्त प्रतियोगिता  आज भएको फाइनल प्रतिस्पर्धामा घरेलु टोली गण्डकी प्रदेशलाई ३–२ सेटले हराउँदै टिपटपले लगातार तेस्रो पटक उपाधि जितेको हो । च्याम्पियन बनेको टिपटपले रु आठ लाख पुरस्कार पायो । उपविजेता गण्डकीले रु चार लाख पुरस्कार प्राप्त गर्यो । 

उक्त खेलमा गण्डकी प्रदेशले सुरुआती दुई सेट २५–२० र २७–२५ अङ्कले जित्यो भने हेल्प नेपालले तीन सेट २५–२२, २५–१४ र १५–८ अङ्कले जित्यो ।  यसैगरी महिलातर्फ टिप टप न्यु डायमण्ड युथ स्पोर्टस एकेडेमीलाई ३–१ ले हराउँदै पुलिस क्लबले उपाधि जित्यो ।

उक्त खेलमा पुलिसले पहिलो सेट २५–२० अङ्कले जित्यो भने दोस्रो सेट डायमण्डले २५–२२ अङ्कले  जित्यो । तेस्रो सेट निकै प्रतिस्पर्धामक बन्यो । उक्त सेट पुलिसले २८–२६ अङ्कले जित्यो । पुलिसले चौथो सेट २५–१४ अङ्कले जित्दै लगातार तेस्रो पटक उपाधि जित्न सफल भयो । पुलिसले रु आठ लाख तथा उपविजेता न्यू डायमण्डले रु चार लाख पुरस्कार पायो । 

यसैगरी तृतीय भएका पुरुषतर्फ पुलिस र महिलातर्फ एभरेष्ट भलिबल क्लबले समान रु दुई लाखका दरले पुरस्कार पाए । प्रतियोगितामा महिलातर्फ नेपाल पुलिसकी उषा भण्डारी र पुरुषतर्फ हेल्प नेपालका मुशवहर रजा उत्कृष्ट हुँदै जनही रु ५० हजार पुरस्कार पाए ।

प्रतियोगिताका विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले पुरस्कार वितरण गरे । महिला तथा पुरूषतर्फका विजेता टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् ।

पुरूष काभा क्लब च्याम्पियन्स लिग तीन महिनापछि मालदिभ्समा हुनेछ । महिला प्रतियोगिता भने नेपालमा आयोजना हुने नेपाल भलिबल सङ्घले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप