‘रिप्लेसमेन्ट’ का रूपमा जोडिएर अब्बल प्रदर्शन गर्ने यी खेलाडी

समाचार सारांश
- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८ औँ संस्करणमा विभिन्न टोलीका ‘रिप्लेसमेन्ट’ खेलाडीको उत्कृष्ट प्रदर्शन रह्यो।
- चेन्नई सुपर किंग्सका आयुष म्हात्रे, डेवाल्ड ब्रेविस र उर्विल पटेलले उत्कृष्ट प्रदर्शन गरे भने सनराइजर्स हैदराबादका हर्ष दुबेले पनि राम्रो प्रदर्शन गरे।
- शार्दूल ठाकुरले लखनउ सुपर जायन्ट्स र मुस्तफिजुर रहमानले दिल्ली क्यापिटल्सबाट खेलेर रिप्लेसमेन्ट खेलाडीको रूपमा प्रभाव पारे।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८ औँ संस्करणमा ७१ खेल सकिएको छ । अब प्रतियोगितामा तीन खेल मात्र खेलिन बाँकी छ । पहिलो क्वालिफायर खेलमा पञ्जाब किङ्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरु फाइनलमा पुगिसकेको छ ।
शुक्रबार हुने एलिमिनेटर खेलमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सको सामना गर्दैछ । उक्त खेलमा विजयी हुने टोलीले फाइनल प्रवेशका लागि आइतबार दोस्रो क्वालिफायर खेलमा पञ्जाब किङ्सको सामना गर्नेछ । त्यसपछि आगामी मंगलबार प्रतियोगिताको फाइनल खेल खेलिने छ ।
१८ औँ संस्करणका क्रममा केही खेलाडी घाइते भएर प्रतियोगिताबाट बाहिरिएका थिए । केही खेलाडी भने राष्ट्रिय टोलीबाट खेल्न स्वदेश फर्किएका थिए । यस्ता खेलाडीको स्थानमा नयाँ खेलाडीलाई ‘रिप्लेसमेन्ट’ गरिएको थियो ।
यसरी, ‘रिप्लेसमेन्ट’ का रूपमा विभिन्न टोलीसँग जोडिएका खेलाडीले पनि जारी आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । लिग चरणको खेलमा अंक तालिकाको अन्तिम स्थानमा रहेको टोली चेन्नई सुपर किङ्सका केही ‘रिप्लेसमेन्ट’ खेलाडीले उत्कृष्ट प्रदर्शन गरे ।
यो आईपीएलमा मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादसँग पनि केही ‘रिप्लेसमेन्ट’ खेलाडी जोडिएका थिए । प्रतियोगिताको बिचमा विभिन्न क्लबसँग ‘रिप्लेसमेन्ट’ खेलाडीका रूपमा जोडिएर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको बारेमा यहाँ चर्चा गरिएको छ ।
आयुष म्हात्रे (चेन्नई सुपर किङ्स)
जारी आईपीएलका चर्चित ‘रिप्लेसमेन्ट’ खेलाडी हुन्, आयुष म्हात्रे । उनी चेन्नई सुपर किङ्ससँग जोडिएका थिए । उनले चेन्नईका लागि सात खेल खेल्दै कुल दुई सय ४० रन बनाए । उनको औसत ३४.२८ र स्ट्राइक रेट १८८.९७ रह्यो ।
चेन्नईसँग जोडिनुअघि युवा ब्याट्सम्यान म्हात्रेले विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । विजय हजारे ट्रफीमा उनले शतक बनाएका थिए । उनी ‘लिस्ट ए’ प्रतियोगिताको एकै खेलमा एक सय ५० वा त्योभन्दा बढी रन बनाउने सबैभन्दा कम उमेरका भारतीय खेलाडी पनि थिए ।
त्यसपछि उनले आईपीएल खेल्न चेन्नईमा ट्रायल पनि दिएका थिए । कप्तान ऋतुराज गायकवाड घाइते भएपछि उनले आईपीएल खेल्ने अवसर पाएका थिए । उनले मुम्बई इन्डियन्सविरुद्ध आईपीएलमा ‘डेब्यू’ गर्दै १५ बलमा ३२ रन बनाएका थिए ।
त्यसपछि उनले सनराइजर्स हैदरावादविरुद्ध पनि १९ बलमा ३० रन बनाएका थिए । उनको सबैभन्दा उत्कृष्ट प्रदर्शन भने रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध थियो । बेंगलुरुविरुद्धको त्यो खेलमा उनले केवल ४८ बलको सामना गरी ९४ रन बनाएका थिए । त्यो खेलपछि उनी आईपीएलमा अर्धशतक बनाउने तेस्रो सबैभन्दा कम उमेरका ब्याट्सम्यान बनेका थिए ।
डेवाल्ड ब्रेविस (चेन्नई सुपर किङ्स)
जारी सिजनको आईपीएलमा ‘रिप्लेसमेन्ट’ का रूपमा प्रवेश गरेर उत्कृष्ट प्रदर्शन गर्ने अर्का खेलाडी डेवाल्ड ब्रेविस हुन् । उनले पनि चेन्नई सुपर किङ्सबाट आईपीएल खेल्ने अवसर पाएका हुन् । उनले जारी आईपीएलको ६ पालीमा कुल दुई सय २५ रन बनाए ।
यस क्रममा उनको औसत ३७।५० र स्ट्राइक रेट १८० रह्यो । उनी आईपीएलको मेगा अक्सनमा पनि सहभागी थिए । तर, मेगा अक्सनमा उनलाई कसैले पनि खरिद गरेन । खेलका क्रममा गुरजपनित सिंह घाइते भएपछि ब्रेविसले ‘रिप्लेसमेन्ट’ खेलाडीका रूपमा आईपीएल खेल्ने अवसर पाएका हुन् ।
२२ वर्षीय ब्याट्सम्यान ब्रेविसले प्राप्त अवसरलाई राम्रो सदूपयोग पनि गरे । उनले आफूले खेलेको ६ मध्ये पाँच खेलमा त कम्तीमा ३२ रन बनाए । बेंगलुरुविरुद्धको खेलमा भने उनी शून्य रनमै पेभेलियन फर्किएका थिए ।
त्यो खेलमा पनि समयभित्रै ‘रिभ्यू’ लिन चुक्दा उनी आउट भएका थिए । उनले यो सिजनको आईपीएलमा १७ वटा छक्का प्रहार गरे । यो सिजन उनी चेन्नईका लागि दोस्रो सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडी हुन् ।
उर्विल पटेल (चेन्नई सुपर किङ्स)
अन्य खेलाडीको स्थानमा ‘रिप्लेसमेन्ट’ का रूपमा प्रवेश गरेर आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने अर्का खेलाडी हुन्, उर्विल पटेल । उनले पनि चेन्नई सुपर किङ्सबाटै खेल्ने अवसर पाएका हुन् । जारी सिजनको आईपीएलमा उनले तीन खेल खेल्दै कुल ६८ रन बनाए ।
उनको औसत २२.६६ र स्ट्राइक रेट २१२.५० रह्यो । ‘रिप्लेसमेन्ट’ खेलाडीका रूपमा आईपीएल क्लबमा स्थान पाउनुअघि उर्विलले मुश्ताक अली ट्रफीको २०२४–२५ सिजनमा उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यो प्रतियोगितामा उर्विलले ६ पाली खेल्दै २९ छक्का प्रहार गरेका थिए ।
उक्त प्रतियोगितामा कुनै पनि खेलाडीले प्रहार गरेको यो सर्वाधिक छक्का पनि थियो । यसका अतिरिक्त उक्त ट्रफीमा उनी टी–२० क्रिकेटमा सबैभन्दा कम बलमा शतक प्रहार गर्ने दोस्रो खेलाडी पनि बनेका थिए । त्यसैले उनी आईपीएल क्लबको आँखामा परेका थिए ।
जारी आईपीएलमा उनलाई घाइते खेलाडी वंश वेदीको स्थानमा टोलीमा स्थान दिइएको थियो । जारी सिजनको आईपीएलमा ‘रिप्लेसमेन्ट’ खेलाडीका रूपमा उनले आफ्नो पहिलो खेलको दोस्रो बलमै छक्का प्रहार गरेर धेरैलाई चकित बनाएका थिए ।
हर्ष दुवे (सनराइजर्स हैदराबाद)
‘रिप्लेसमेन्ट’ का रूपमा प्रवेश गरेर आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने अर्का खेलाडी हुन्, हर्ष दुबे । उनले सनराइजर्स हैदराबादबाट आईपीएल खेल्ने अवसर पाएका हुन् । उनले तीन खेल खेल्दै पाँच विकेट लिए ।
हैदराबादको टोली लिग चरणबाटै बाहिरिएकाले हर्षले आफ्नो थप क्षमता देखाउने अवसर पाएनन् । तर, हर्षका रूपमा हैदराबाद यस्तो खेलाडी पायो, जसमाथि क्लबले लामो समयसम्म भरोस गर्न सक्छ । उनले आईपीएलको आफ्नो पहिलो खेलमा ४४ रन खर्चिएर एक विकेट लिएका थिए ।
त्यसपछि उनले आफ्नो दोस्रो खेलमा केवल २० रन खर्चिएर एक विकेट हात पारेका थिए । उनले आफ्नो तेस्रो खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध ३४ रन खर्चिएर तीन विकेट लिएका थिए । उक्त खेलमा आन्द्रे रसेल त अम्पायरले आउट दिनुअघि नै पेभेलियन फर्किएका थिए ।
कार्बिन बोस (मुम्बई इन्डियन्स)
‘रिप्लेसमेन्ट’ का रूपमा प्रवेश गरेर आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने अर्का खेलाडी कार्बिन बोस हुन् । उनले मुम्बई इन्डियन्सबाट आईपीएल खेल्ने अवसर पाएका थिए । दक्षिण अफ्रिकाका ३० वर्षीय अलराउन्डर खेलाडी कार्बिनले तीन खेल खेल्दै कुल ४७ रन बनाए भने एक विकेट पनि लिए ।
कार्बिनलाई अर्का दक्षिण अफ्रिकी बलर लिजाड विलियम्सको स्थानमा मुम्बईले टोलीमा स्थान दिएको थियो । उनले यो सिजन आईपीएलमा मुम्बईका लागि केवल तीन खेल खेले । तर, टोलीका लागि उनले महत्वपूर्ण योगदान गरे ।
टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले ब्याटिङतर्फ १० बलमा २० र २२ बलमा २७ रन बनाएका थिए । यसका अतिरिक्त उनले लखनउ सुपर जायन्ट्सविरुद्ध किफायति बलिङ गर्दै चार ओभरमा केवल २६ रन खर्चिएर एक विकेट लिएका थिए ।
शार्दूल ठाकुर (लखनउ सुपर जायन्ट्स)
जारी आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने अर्का ‘रिप्लेसमेन्ट’ खेलाडी शार्दूल ठाकुर हुन् । उनी ‘रिप्लेसमेन्ट’ खेलाडीका रूपमा लखनउ सुपर जायन्ट्सबाट मैदानमा ओर्लिएका थिए । उनले १० पालीमा १३ विकेट लिए ।
यद्यपि, लखनउ प्रतियोगिताको लिग चरणबाटै बाहिरिन पुग्यो । लगातार आठ सिजनपछि यसपटक शार्दूललाई मेगा अक्सनमा कुनै पनि टोलीले खरिद गरेका थिएनन् । त्यसपछि उनी एसेक्सका लागि काउन्टी क्रिकेट खेल्ने तयारीमा थिए ।
सोही क्रममा लखनउले उनलाई ‘रिप्लेसमेन्ट’ खेलाडीका रूपमा टोलीमा स्थान दिएको थियो । शार्दूल आबद्ध भएलगत्तै लखनउले एकपछि अर्को उत्कृष्ट प्रदर्शन गरेको थियो । शार्दुलले आफ्नो अघिल्लो दुई खेलमै ६ विकेट लिएर टोलीका लागि महत्वपूर्ण योगदान गरेका थिए । उनले सनराइजर्स हैदराबादविरुद्ध ३४ रन खर्चिएर चार विकेट लिएका थिए । उक्त खेलमा लखनउ विजयी भएको थियो ।
मुस्तफिजुर रहमान (दिल्ली क्यापिटल्स)
जारी आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने अर्का ‘रिप्लेसमेन्ट’ खेलाडी मुस्तफिजुर रहमान हुन् । उनले दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्ने अवसर पाएका थिए । उनले आईपीएलमा तीन खेल खेल्दै चार विकेट पनि लिए ।
दिल्ली क्यापिटल्सले ज्याक फ्रेजर म्याकगर्कको स्थानमा उनलाई टोलीमा स्थान दिएको थियो । मुस्तफिजुरले सबैभन्दा गतिलो प्रदर्शन दिल्लीको लिग चरणको अन्तिम खेलमा पञ्जाब किङ्सविरुद्ध गरेका थिए ।
त्यो खेलमा उनले पञ्जाबका प्रियांश आर्या, शशाङ्क सिंह र मार्को यानशेनको विकेट लिएका थिए । त्यो खेलमा दिल्ली ६ विकेटले विजयी भएको थियो । यो सिजन अस्थायी रिप्लेसमेन्ट भएकाले अर्को सिजनका लागि दिल्लीले उनलाई रिटेन गर्न (आफूसँग राख्न) पाउने छैन । अर्को सिजन दिल्लीले उनलाई आफूसँग राख्न चाहेमा अक्सनमार्फत खरिद गर्नुपर्नेछ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यविन्दु अस्पताललाई एक सय शय्यामा स्तरोन्नति गर्ने निर्णय
-
थाइल्यान्डकी ओपलले पहिरिइन् मिस वर्ल्ड- २०२५ को ताज
-
डाइभर्सन बनाएर ‘एसियन हाइवे’ सञ्चालनमा
-
रुससँग सीमा जोडिएका युक्रेनका ११ गाउँ खाली गर्न आदेश
-
सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनेका लागि ‘हेल्पलाइन’ सेवा
-
गाजाको मानवीय अवस्था युद्ध सुरु भएदेखि अहिलेसम्मकै गम्भीर : संयुक्त राष्ट्रसङ्घ