मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

दुई ठुला पार्टी मिलेर बनेको सरकारले पोलिसी डिपार्चर गर्न सकेन : अर्थविद्  पौडेल

शनिबार, १७ जेठ २०८२, १० : ३२
शनिबार, १७ जेठ २०८२

समाचार सारांश

  • अर्थविद् डा. रमेश पौडेलले बजेट समीक्षा गर्दै बजेट निजी क्षेत्रमैत्री भएको बताए। उनले दिर्घकालिन सोचका साथ काम गर्नुपर्नेमा जोड दिए।
  • डा. पौडेलले अनौपचारिक अर्थतन्त्रलाई औपचारीकतर्फ ल्याउनुपर्ने र खर्चको अनुमान गरेर पनि पुँजीगत खर्च गर्न नसकिएको बताए।
  • राजस्व वृद्धिका लागि कर र गैर कर दुवैमा ध्यान दिनुपर्ने, स्वास्थ्य र शिक्षामा लगानी बढाउनुपर्ने तथा युवा लक्षित कार्यक्रम कार्यान्वयनमा जोड दिनुपर्ने डा. पौडेलको भनाइ छ।

काठमाडौँ ।  अर्थविद् तथा योजना आयोगमा पूर्व सदस्य डा रमेश पौडेलले बजेट समीक्षा गर्दा राम्रो र निजी क्षेत्रमैत्री आएको बताएका छन् । शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले गरेको पोस्ट बजेट कार्यक्रम डा पौडेलले बजेटले निजी क्षेत्रलाई पनि खुसी बनाएको बताए । उनले दिर्घकालिन सोचले काम गर्न सके प्रतिफल आउने बताए ।

पोलिसी डिपार्चरको लागि दुई ठुला पार्टी मिलेर बनेको सरकारले केही गर्न सक्ने अवस्था भए पनि गर्न नसकेको उनको भनाइ छ । अर्थतन्त्रको आधा हिस्सा अनौपचारिक रहेको कारण दुई ठुला दलको सरकारले सुधारको लागि पोलिसी डिपार्चर गर्ने आशा भएपनि त्यो गर्न नसकेको उनले बताए । 

'औपचारिक भन्दा अनौपचारिक अर्थतन्त्र बढी भएको छ । अनौपचारिक अर्थतन्त्रलाई औपचारीकतर्फ बढाउनु पर्छ । यसले कर वृद्धि हुन्छ,' उनले भने ।

कोभिडपछि अर्थतन्त्रमा समस्या देखिएकोले करको विषयमा सरकारले केही काम गर्न सक्ने अवस्था रहेको तर त्यसो हुन नसकेको उनले उल्लेख गरे ।  खर्चको अनुमान गर्न सकेपनि पुँजी खर्च गर्न नसकिने अवस्था रहेको उनले बताए । 

'जिडिपिको ५ प्रतिशत मात्रै पुँजीगत खर्च हुने गरेको छ । यो विषयमा ध्यान दिनुपर्छ । खर्च निकै कम हुने गरेको छ। थैली बढाउनु पर्ने अवस्था थियो । तर त्यस्तो हुन सकेन,' उनले भने ।

राजतन्त्रपछि सबै करमा वृद्धि भएको उनले बताए । एक खर्ब ७० अर्ब अन्तशुल्क बढेको छ । २००७ अघि र पछिको अवस्थामा आयकर १० गुणाले बढेकोले यो निकै राम्रो भएको उनको भनाइ छ ।  

'राजस्व भनेको कर र गैर कर बाट उत्पादन हुन्छ । ८५ प्रतिशत कर बाट राजस्व आइरहेको छ । गैर कर राजस्व वृद्धिमा पनि हामीहरुले काम गर्नु पर्ने हुन्छ । आयातमा आधारीत कर भएको अवस्थामा हामीले यसमा पनि सुधार गर्नु पर्ने अवस्था देखिन्छ । थैली बढाउनका लागि ध्यान दिनु पर्छ । त्यसमा ध्यान गएको देखिँदैन,' उनले भने । 

'पैसा भयो भने राम्रो खर्च हुने भएकाले पैसा उठ्छ कि उठ्दैन भन्ने शंकाको सुविधा रहन्छ,' उनले भने । स्वास्थ्य र शिक्षामा गर्ने खर्चलाई बढाउनु पर्ने उनले बताए । अहिले ११ प्रतिशतको हाराहरीमा रहेको यसमा क्षेत्रमा भएको खर्चलाई १८ प्रतिशतसम्म पुर्‍याउनु पर्ने उनले बताए । 

अहिले बजेट बढाएको खण्डमा १० वर्ष पछि नेपालको मानव विकासमा पनि टेवा पुग्ने उनले बताए । बुढ्यौलीमा खर्च गरिएको भए पनि बच्चाहरुमा लगानी बढाउनु पर्ने उनको भनाइ छ । प्रदेशलाई काठमाडौँ जतिको बनाउनु पर्ने अवस्था रहेको उनले उल्लेख गरे । 
 
चालु खर्चको कुरा गर्दा अनुगनमन फितलो रहेकोले यसलाई योजना आयोग, अर्थमन्त्रालय र सम्बन्धित मन्त्रालयले ध्यान दिनु पर्ने उनले बताए । युवालक्षित कार्यक्रमहरु सकारात्मक रहेको पौडेलले बताए । 

राम्रो कार्यक्रम भएपनि कार्यान्वयनमा ध्यान दिनु पर्ने आवश्यकता रहेको उनको भनाइ छ । बजेटमा कमजोरी भनेको स्रोतमा नै समस्या रहेको उनले बताए । आन्तरिक ऋणका भार बढ्दा लगानीका लागि समस्या हुन सक्ने भएकोले यस तर्फ सजक हुन आवश्यक रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप