बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: गृहमन्त्रीको राजीनामा बटमलाइनदेखि यातायात सञ्चालनबारे अझै अन्योल

मङ्गलबार, २० जेठ २०८२, ०० : ००
मङ्गलबार, २० जेठ २०८२

आज २०८२ जेठ १९ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

१. ओली र देउवासामु प्रचण्डको अडान

संसदको गतिरोध खुलाउने विषयमा सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेता छलफलमा बसे पनि सहमति जुट्न सकेन । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितको छलफल निष्कर्षमा पुग्न नसकेको हो ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म संसदमा अवरोध कायम राख्ने अडान प्रस्तुत गरेको बताइएको छ । विपक्षी दल रास्वपाले पनि भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान कायम राखेको छ ।

२. सरकारी वार्ता टोली र यातायात व्यवसायीबीच सहमति, तर बन्दबारे अझै अन्योल

आन्दोलनरत यातायात व्यवसायी र सरकारी वार्ता टोली छलफल सकिएको छ भने सहमतिमा हस्ताक्षर भएको छ।

सोमबार राति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको तेस्रो चरणको बैठकमा सहमतिमा हस्ताक्षर भएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिए।

३. सुदूरपश्चिमका पूर्वमुख्यमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा
सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घ बहादुर सोडारीविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा बिगो कायम गर्दै सोमबार भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिबानाको मागसहित विशेष अदालतमा आरोपपत्र पेस गरेको हो ।

४. सर्वोच्च अदालतमा लगियो प्रधानमन्त्री र अर्थमन्त्रीविरुद्ध अवहेलना मुद्दा
प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलविरुद्ध सोमबार सर्वोच्च अदालतमा अवहेलना मुद्दा लगिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बजेट वक्तव्यमा राखिएको प्रावधान सर्वोच्च अदालतको परमादेश विपरीत रहेको भन्दै मुद्दा पेस गरेका हुन् ।

५. एकै व्यक्तिका तीन वटा थर
कर्णाली डेभलपमेन्ट बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय नेपालगञ्जमा प्रहरीको हिरासतमा छन् । सल्यानको राई परिवारमा जन्मिएर हुर्किएका उनी नेपालगञ्ज बस्न थालेपछि राय थरले चिनिएका थिए भने लखनउ पुगेर लुक्ने क्रममा उनले आफूलाई गुप्ता भन्ने गर्दथे ।

६. पृथ्वीनारायण शाहको तस्बिर नोटमा राख्न एमाले सांसदको प्रस्ताव
पृथ्वीनारायण शाहको तस्बिर नेपाली नोटमा राख्न एमाले सांसद सूर्यबहादुर थापाले प्रस्ताव गरेका छन् । सोमबार अर्थ समितिको बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन् ।  

७. देउवाले थपे भ्रातृ संस्थाका तदर्थ समितिको समयावधि
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृ संस्थाका तदर्थ समितिको म्याद थप्ने निर्णय गरेका छन् । सोमबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा देउवाले इतर समूहका नेताहरूको विरोधका बिच भ्रातृ संस्थाको म्याद थप्ने निर्णय गरेका हुन् ।

८. अनेरास्ववियुको अध्यक्षमा ५ सचिव भिड्ने
नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको अध्यक्षका लागि पाँच जनाबिच प्रतिस्पर्धा हुने भएको छ । हालका १० जना सचिवमध्येबाट पाँच जना प्रतिस्पर्धामा उत्रिने भएका हुन् । ३२ वर्षे उमेर हदका कारण चार जना उपाध्यक्ष र एक जना महासचिव अध्यक्षको प्रतिस्पर्धाबाट बाहिरिएपछि नेतृत्वका लागि सचिवहरूबिच प्रतिस्पर्धा हुन लागेको हो ।

९. कुन महानगर र उपमहानगरलाई कति अनुदान ?
सरकारले देशभरका ६ महानगरलाई झण्डै पौने १२ अर्ब अनुदान दिने भएको छ । यस्तै, उपमहानगरहरूलाई ११ अर्बभन्दा बढी अनुदान दिने भएको छ । 

१०. प्रदेश सरकारले दिने उपचार खर्च लिन सकस
सुदूरपश्चिम प्रदेश सरकारले विपन्न नागरिकका लागि मिर्गौला, मुटु रोग, क्यान्सर सहित गम्भीर प्रकृतिको रोग उपचार गर्न एक लाख रुपैयाँ दिने गरे पनि कार्यविधिमा रहेको झन्झटिलो प्रक्रियाका कारण सेवाग्राहीलाई सास्ती हुने गरेको छ । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।

११. विश्वकप लिग २: नेपालको ऐतिहासिक जित, १ विकेटले स्कटल्याण्ड स्तब्ध

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज डन्डीमा भएको खेलमा नेपालले स्कटल्याण्डलाई १ विकेटले स्तब्ध पार्दै ऐतिहासिक जित निकालेको छ।

स्कटल्याण्डले दिएको २९७ रनको विशाल लक्ष्य पछ्याउँदै नेपालले ४९.५ ओभरमा ९ विकेटको क्षतिमा लक्ष्य भेट्टाउँदै रोमाञ्चक जित दर्ता गर्यो।

१२. कोशी प्रदेशलाई दिने अनुदान रकम निरन्तर घट्दो

संघीय सरकारले दिने विभिन्न अनुदानको रकम कोशी प्रदेशमा निरन्तर घट्दै गएको छ । अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको अन्तरसरकारी वित्तीय हस्तान्तरणको विवरणमा कोशी प्रदेशलाई चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष ८ करोड रुपैयाँ कम दिइने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप