‘चीनको आलोचना गरेको होइन, तर भारतसँगको सम्बन्धमा हामीले बढी जोड दिनुपर्छ’

समाचार सारांश
- कांग्रेस नेता विमलेन्द्र निधिले नेपालको कूटनीतिक सम्बन्ध र छिमेकी सम्बन्धबारे धारणा राखेका छन्।
- उनले भारतसँगको सम्बन्धलाई प्राथमिकता दिनुपर्ने र असंलग्न परराष्ट्र नीतिको अर्थ भारतसँग व्यवहार नगर्ने नभएको बताए।
- निधिले भारत र चीनसँगको सम्बन्ध, एमसीसी र बीआरआईबारे आफ्नो धारणा राख्दै सार्कको भविष्यबारे पनि चर्चा गरे।
नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि पार्टीमा प्रभावशाली नेताका रूपमा चिनिन्छन् । दुई पटक सामान्य प्रशासनमन्त्रीका साथै उनले शिक्षा तथा खेलकुदमन्त्री उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेतको जिम्मेवारी सम्हालिसकेका छन् । उनी माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको दोस्रो मन्त्रिपरिषद्मा उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मेवारी लिएर कार्यवहाक प्रधानमन्त्री पनि बनिसकेका छन् । लामो समयदेखि राजनीतिमा रहेका निधिसँग हामीले नेपालको कूटनीतिक सम्बन्धबारे कुराकानी गरेका छौँ । भारत र चीनसँगको सम्बन्ध आइरहने उतारचढाव अन्य कूटनीतिक विषयमा रातोपाटीका लागि मधुसुधन भट्टराईले गरेको कुराकानीको सारसंक्षेप-
- पछिल्लो समय नेपालको कूटनीति निष्पक्ष र सबैतिर जोडिएको भन्ने आरोप लागिरहेको छ । तपाईंको अनुभवका आधारमा यो आरोप सत्य हो/होइन । के हुनुपर्थ्यो के भइरहेछ ?
नेपालको कूटनीति र विदेश नीति सबैतिर जोडिएकै छ । तर जुन किसिमले प्राथमिकता, सन्तुलन र वस्तुवादी दृष्टिकोणले लाग्नुपर्ने हो, त्यसमा वेला बखत कमी–कमजोरी देखिन्छ, उतार–चढाव हुन्छ । दुवै छिमेकीलाई हामीले कुनै पनि कारणले कुनै पनि अवस्थामा बदल्न सक्ने भौगोलिक अवस्था छैन । त्यसकारण दुई वटा देशसँग हाम्रो सम्बन्ध कुन किसिमको राख्ने त्योचाहिँ हामीले विचार गरेर बढ्नुपर्छ ।
हामीले दुवै देशसँग मित्रता र सौहार्दपूर्ण सम्बन्ध कायम राख्नुपर्दछ । भारतसँग हाम्रो धेरै अन्तरङ्ग सम्बन्ध छ । विश्वेश्वरप्रसाद कोइरालाको पालामा त नेपाल र भारतको सम्बन्धलाई विशेष सम्बन्धका रूपमा परिभाषित गरिन्थ्यो ।
आजकल यस्तो सम्बन्धलाई ‘युनिक रिलेसन’को टर्मिनोलोजी नाम पनि दिने गरिन्छ । तीनतिरबाट भारत र नेपालको भौगोलिक सीमा जोडिएको छ । सीमा खुला छ । त्यससँगै त्योभन्दा पनि महत्त्वपूर्ण हाम्रो सभ्यताको सम्बन्ध छ, संस्कृतिको सम्बन्ध छ । मानव मानवबिच पारिवारिक सम्बन्ध छ, वैवाहिक सम्बन्ध छ । भाषागत सम्बन्ध पनि छ । व्यापारिक र राजनीतिक सम्बन्ध त हुने नै भयो । नेपाल भारत दुवै लोकतान्त्रिक गणतान्त्रिक देश हुन् । र दुवै देश संघीय प्रणाली भएका देश हुन् ।
भारत र चीनको कम्पेरेटिभ स्टडी गर्ने हो भने भारतसँग हामी सबै दृष्टिकोणले बढी नजिक छौँ ।
भारत र चीनको कम्पेरेटिभ स्टडी गर्ने हो भने भारतसँग हामी सबै दृष्टिकोणले बढी नजिक छौँ । भौगोलिक, प्राकृतिक, सांस्कृतिक, धार्मिक, सभ्यता, पारिवारिक, बिहेवारिको दृष्टिकोणले र अन टप अफ द्याट राजनीतिक दृष्टिकोणले ।
चीन त लोकतान्त्रिक देश होइन । चीन कम्युनिस्ट कन्ट्री हो । भारतको राज्य संरचना डेमोक्रेटिक सिस्टम हो । हामीले चीनमाथि आरोप र आलोचना गरेको होइन । दुवै देशको राजनीतिक प्रणाली भिन्दाभिन्दै छ । चीनसँग हाम्रो राजनीतिक प्रणालीसँग मिल्दैन । भारतसँग फन्डामेन्टल कुराहरूमा मिल्छ । त्यसकारण नेपालमा मात्रै होइन, संसारमा जुन देशमा कम्युनिस्ट–कम्युनिस्ट देशहरूबिच मित्रता बढी राम्रो हुन्छ, डेमोक्रेटिक कन्ट्रीबिच पनि उस्तै हुन्छ । सोसलिस्ट कन्ट्रीबिच पनि त्यस्तै सम्बन्ध हुन्छ । पुँजीवादी–पुँजीवादी र तानाशाही शासन भएका देशहरूका सम्बन्ध पनि त्यस्तै हुन्छ । यो सबै कुरालाई ध्यानमा राखेर वस्तुवादी दृष्टिकोण (रियालिस्टिक अप्रोच)का आधारमा भन्दा हाम्रो सम्बन्ध भारतसँग सधैँ मित्रतापूर्ण रहनुपर्छ । सधैँ विशिष्ट किसिमको रहनुपर्नेछ । भारतसँगको सम्बन्धलाई हामीले सर्वाधिक प्राथमिकता दिनैपर्छ ।
- तर नेपालमा सत्तामा गएका दलहरूले असंलग्न परराष्ट्र नीति भन्छन्, तपाईंले भनेको विषय यसमा मेल खान्छ त ?
असंलग्न परराष्ट्र नीतिबारे मैले बुझेको आधारमा भन्ने हो भने हाम्रो भारतसँगको सम्बन्धलाई प्राथमिकता दिनुपर्यो भन्नुको अर्थ असंलग्न परराष्ट्र नीतिको खिलाफ हो भन्ने होइन । प्राथमिकता कोसँग हाम्रो बढ्ता हुन्छ भन्ने विषय त्योसँगको दैनिक कारोबार के हुन्छ भन्नेमा ‘डिपेन्ड’ गर्छ । सम्बन्धबारे राजनीतिक प्रणालीमा मात्र होइन, दैनिक जीवनमा, आर्थिक जीवनमा जोडिने विषयलाई पनि ध्यान दिनुपर्छ । तर यसको अर्थ असंलग्न हुनुको अर्थ व्यवहार नै नगर्नु भन्ने पनि होइन । हामी असंलग्न परराष्ट्र नीतिमा विश्वास नै गर्छौँ । हामी पञ्चशीलमा विश्वास गर्छौँ । हाम्रो ‘फन्डामेन्टल बेसिस अफ द फरेन पोलिसी’ अथवा ‘इन्टरनेसनल रिलेसन पोलिसी’ पञ्चशीलको सिद्धान्त हो । असंलग्न सिद्धान्त हो । त्यसमा दुईमत छँदै छैन । यी दुई सिद्धान्तलाई ध्यानमा राखेर भारतसँगको सम्बन्धलाई नेपालले प्राथमिकता दिनैपर्छ । नेपालको लोकतन्त्रलाई सुदृढ गर्न, नेपालको विकासलाई अगाडि बढाउन, डेमोक्रेसी र डेभलपमेन्ट दुवैका लागि भारतको सहयोग र भारतको समर्थन चाहिन्छ । भारतको सहयोग र समर्थन जुटाउन भारतसँग सम्बन्ध बिगारेर हुँदैन । भारतसँगको सम्बन्धलाई प्राथमिकता दिएर डेमोक्रेसी र डेभलपमेन्टमा समर्थन र सहयोग प्राप्त गर्ने कोसिस गरिरहनुपर्छ । हाम्रो विदेश नीति त्यही दिशातिर केन्द्रित हुनुपर्छ ।
नेपालमा मात्रै होइन, संसारमा जुन देशमा कम्युनिस्ट–कम्युनिस्ट देशहरूबिच मित्रता बढी राम्रो हुन्छ, डेमोक्रेटिक कन्ट्रीबिच पनि उस्तै हुन्छ । सोसलिस्ट कन्ट्रीबिच पनि त्यस्तै सम्बन्ध हुन्छ ।
- तर पछिल्लो समय भारतसँगको सम्बन्ध त्यति सौहार्द भएन, नेपालका प्रधानमन्त्रीलाई भारतको औपचारिक निमन्त्रणा नै आएन नि ?
तपाईंले ठिक भन्नुभयो । ओलीजीलाई निम्ता किन आएन भन्ने विषयको खोजी उहाँले नै गर्नुपर्छ । प्रधानमन्त्री ओलीजीले भारतप्रतिको दृष्टिकोणबारे जुन वक्तव्य संसद्मा दिनुभयो, त्यसले उहाँसँग भारतको सम्बन्ध जति सौहार्द हुनुपर्ने हो, त्यो भएन । देशको प्रधानमन्त्रीले आफ्नो पार्टीको अध्यक्षको हैसियतले मात्रै सोचेर हुँदैन । देशको प्रधानमन्त्री हुँ भन्ने सोचेर नै भारतसँगको व्यवहार गर्नुपर्दछ । र भारतबाट किन निम्ता आएन त्यसको गम्भीरतापूर्वक खोजी प्रधानमन्त्री ओलीजीले गर्नुपर्छ ।
- प्रधानमन्त्रीको अभिव्यक्तिका कारण भारतबाट भ्रमणको निम्ता नआएको हो भन्ने यहाँको बुझाइ हो ?
हो । यसका लागि धेरै प्रमाण चाहिँदैन । कसैले कसैलाई निम्ता गरेन भने उसको व्यवहारका कारण गर्दा हो । हाम्रोमा बिहेमा, भोजभतेरमा, व्रतबन्धमा निम्ता आएन, सामाजिक शिष्टाचारमा निम्ता नआउनुको अर्थ के हुन्छ ? त्यसका लागि धेरै प्रमाण धेरै अनुसन्धान गरिरहनुपर्दैन ।
- अहिले नेपाल र भारतबिच अलि ग्याप भएको सम्बन्धलाई सौहार्द बनाउन के गर्नुपर्छ ?
पहिलो विषय, भारतको राष्ट्रिय स्वार्थलाई हामीले स्वीकार गर्नुपर्छ । नेपाल सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र देशको हैसियतले भारतको पनि सम्मान गर्दै उसको राष्ट्रिय हित जे छ, त्यसमा हामीले विचार पुर्याउनुपर्छ । खासगरी अहिले भारतले आफ्नो सुरक्षाको हित खोजिरहेको छ । अहिले आतंकवाद भारतको लागि सबभन्दा चुनौतीको विषय छ । यो भारतको मात्रै चुनौती होइन । टेरोरिज्मबाट संसार आक्रान्त छ । त्यसकारणले अहिले भारतले क्रस बोर्डर टेरोरिज्मको जुन समस्या बेहोरिरहेको छ, त्यसमा हामीले साथ दिनुपर्दछ । पहिला पनि दिइराखेका थियौँ । बिचबिचमा साथ नदिएजस्तो फिल भएको छ कि क्या हो । त्यसबारे भारतसँग खुला बहस गरेर हामीले सम्बन्ध बढाउनुपर्छ । क्रस बोर्डर टेरोरिज्मको मामलामा हामीले भारतलाई साथ दिनुपर्दछ ।
- यसैमा जोडेँ, तपाईंले मधेसमा अझ भारतसँग सिमाना जोडिएको जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुन्छ । भारतसँग हाम्रो खुला सिमाना छ । भारत– पाकिस्तानको तनावपछि खुला सिमाना भएको कारण नेपाललाई अप्ठ्यारो पर्न सक्छ कि सक्दैन ?
सक्छ । अप्ठ्यारो किन पर्दैन ? तर खुला सिमानामा हुन सक्ने र भइरहेका आतंकवादप्रति सचेत हुनुपर्छ । खुला सिमानाको फाइदा पनि छ, दुरुपयोग पनि छ । यसबाट जनताले दैनिक जीवनमा आदानप्रदान गर्ने विषयमा सुविधा पनि पाउँछन् । आर्थिक, व्यापारिक, सामाजिक व्यवहारमा सुविधा पनि पाइन्छ । तर खुला सिमानालाई अवाञ्छित तत्त्वहरूले, आतंकवादीहरूले दुरुपयोग पनि गरिरहेका हुन्छन् । यसलाई नियन्त्रण गर्ने काममा दुवै देश प्रतिबद्ध हुनुपर्छ ।
- यहाँ धेरै पटक एमसीसी र बीआरआईको कुरा आयो । एमसीसीचाहिँ नेपालले स्वीकार गर्यो । तर बीआरआई स्वीकार गरेन । जसले गर्दा केही प्रश्न उठेका छन्, यहाँको धारणा के हो ?
बेल्ट रोड इनिसिएटिभ (बीआरआई) बारे हाम्रो पार्टी (नेपाली कांग्रेस)ले औपचारिक निर्णय नै गरिसकेको छ । त्यसमा लोन(ऋण)को कुरा छ । नेपालले लोन नै लिनु हुँदैन भन्ने होइन । तर ‘नट अन्डर द अम्ब्रेला अफ बेल्ट रोड एन्ड इनिसिएटिभ’ हुनु हुँदैन भन्ने हाम्रो बुझाइ हो । बेल्ट एन्ड रोड इनिसिएसन भनेको चीनको लङ टर्म स्ट्रेटेजी हो । त्योभित्र हामीले लोन लिने होइन ।
प्रधानमन्त्री ओलीजीले भारतप्रतिको दृष्टिकोणबारे जुन वक्तव्य संसद्मा दिनुभयो, त्यसले उहाँसँग भारतको सम्बन्ध जति सौहार्द हुनुपर्ने हो, त्यो भएन । देशको प्रधानमन्त्रीले आफ्नो पार्टीको अध्यक्षको हैसियतले मात्रै सोचेर हुँदैन । देशको प्रधानमन्त्री हुँ भन्ने सोचेर नै भारतसँगको व्यवहार गर्नुपर्दछ । र भारतबाट किन निम्ता आएन त्यसको गम्भीरतापूर्वक खोजी प्रधानमन्त्री ओलीजीले गर्नुपर्छ ।
चीन र नेपालबिच द्विपक्षीय सम्बन्ध र आवश्यकताका आधारमा सम्झौता गर्नुपर्छ । बीआरआईसँग सम्झौता गर्ने पक्षमा हामी छैनौँ । एमसीसीसँग त सम्झौता भइसकेको छ । एमसीसीको विरोध गर्दा अमेरिकाको सुरक्षा फौज आउँछ भनिएको थियो । अहिले हामीले एमसीसी फिर्ता लिन थाल्यो भने विषय बाहिरिएपछि लौ है फिर्ता नगर, भन्न थालेका छौँ ।
त्यसकारण ‘एमसीसी इज नट डेन्जरस थिङ फर नेपाल’ (एमसीसी नेपालको लागि खतरनाक होइन) भन्ने प्रमाणित भइसकेको छ । डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी सरकारले एमसीसी फिर्ता गर्न खोजिरहेको छ, हामीले नेपालमा लगानी नरोक है, नघटाऊ है भनेर उल्टै भनिरहेका छौँ । अब त बल्ल थाहा पाइयो नि । त्यसको अर्थ एमसीसी त्यति धेरै खतरनाक अप्रोच होइन ।
- अर्को प्रसङ्ग, भारत–पाकिस्तान द्वन्द्वले सार्कको अवस्था के हुन्छ ?
दक्षिण एसियाली सहयोग संगठन (सार्क) स्थापना गर्न नेपालले अग्रसरता लिएको नेपालको तथ्य हो । सार्क दक्षिण एसियाली देशहरूमा आपसी सम्बन्ध र विश्वास भइदिए राम्रो हुन्थ्यो । तर ‘क्रस बोर्डर टेरोरिज्म’लाई पाकिस्तानले संरक्षण दिएकाले सम्बन्धमा प्रतिकूल असर पारेको छ । भारत र पाकिस्तानको सम्बन्ध बिग्रेका कारण बैठक बस्न सकिरहेको छैन । काश्मीरको पहलगाममा भएको घटनाले दुई देशबिच सम्बन्ध बिग्रिएको छ । पाकिस्तानले आतंकवादलाई संरक्षण दिने काम नत्यागेसम्म सार्कको भविष्य अनिश्चित छ । सार्कको अध्यक्षको हैसियतले नेपालले पाकिस्तानलाई सीमापार आतंकवादलाई संरक्षण नदेऊ भनेर भन्न सक्नुपर्यो । ता कि सार्क राष्ट्रका देशहरूबिचको सम्बन्ध पुनर्स्थापित होस् ।
नेपालमा जति पनि कम्युनिस्ट मुभमेन्ट भएका छन्, उनीहरूले चीनमा गएर राजनीतिक संरक्षण र सेल्टर पाएका छैनन् । पोलिटिकल सपोर्ट पाए होलान् । सेल्टर तथा सांस्कृतिक र व्यवहारिक विषयमा उनीहरू भारतमै गएर लुकिछिपी बसेका तथ्य छन् ।
- अन्त्यमा, हामी विकासशील मुलुक हौँ, विकासमा गइरहेका छौँ । त्यसका लागि विदेश र छिमेकी मुलुकहरूसँग नेपालको सम्बन्ध कस्तो हुनुपर्थ्यो ? अहिले कस्तो भइरहेको छ ?
यसबारे मैले सुरुमै भनिहालेँ । सबैभन्दा नजिकका छिमेकी चीन र भारतसँग राम्रो सम्बन्ध हुनुपर्छ । तुलनात्मक रूपमा प्राथमिकता दिने विषय नलुकाई भन्नुपर्छ । किनभने नेपालमा जति पनि कम्युनिस्ट मुभमेन्ट भएका छन्, उनीहरूले चीनमा गएर राजनीतिक संरक्षण र सेल्टर पाएका छैनन् । पोलिटिकल सपोर्ट पाए होलान् । सेल्टर तथा सांस्कृतिक र व्यवहारिक विषयमा उनीहरू भारतमै गएर लुकिछिपी बसेका तथ्य छन् । त्यसकारण भारतसँग नेपालको विशिष्ट सम्बन्ध छ । त्यसैलाई भनिन्छ ‘स्पेसल रिलेसन’ ।
भारतसँगको सम्बन्धलाई नेपालले सकारात्मक रूपले, सही दिशामा, इमानदारीपूर्वक, दूरदर्शी भएर प्राथमिकता दिनुपर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीमा राजनीतिक प्रतिशोधको गन्ध आयो, अख्तियारले प्रश्न जन्मायो : प्रचण्ड
-
वाईसीएल अध्यक्षमा ओली लगभग पक्का, अन्य नेताको व्यवस्थापनका लागि विधान संशोधन गरिँदै
-
महिमानसिंह विष्टको रिट हेर्न नमिल्ने
-
कर्णालीको नीति तथा कार्यक्रम : नयाँ शैलीमा पुरानै विषय
-
प्रतिनिधिसभा बैठक आइतबारका लागि सर्यो
-
अख्तियारले गरेको कामकारबाहीमा सरकारलाई दोष लगाउनु अनुचित: सञ्चारमन्त्री