बिहीबार, २२ जेठ २०८२
ताजा लोकप्रिय

राजनीतिमा को बुढो ? कस्तो बुढो ?

मङ्गलबार, २० जेठ २०८२, २० : २३
मङ्गलबार, २० जेठ २०८२

हिजो मात्रै नेपाली कांग्रेसका महामन्त्री गगन थापा जीको एउटा बयान आयो – ‘बुढा नेताले विश्राम लिए निराशा हट्छ ।’ मैले झ्वाट्ट उहाँका पूर्वसभापति गिरिजा प्रसाद कोइरालालाई सम्झेँ । को बुढो, कस्तो बुढो ? मलाई उत्तर खोज्न मन लाग्यो ।

सामान्यतया बुढो भनेको उमेरले धेरै पुगेको, शारीरिक र मानसिक रूपमा जीर्ण भइसकेको व्यक्तिलाई बुझाउँछ ।

अर्थात्, बुढो त्यो हो जसको उमेर धेरै भइसकेको छ र जो अब युवा अवस्थामा छैन ।

मैले माथि गिरिजा प्रसाद कोइरालालाई सम्झेको थिएँ, फेरि मलाई याद आयो – उनका पनि दाजु छन् त, सान्दाजु । अर्थात्, विशेश्वर प्रसाद कोइराला । क्यान्सरले थलिएको वेला पनि राष्ट्रिय मेलमिलाप नीति लिएर, ज्यान हत्केलामा राखेर नेपाल आए – एक हिसाबले प्रजातन्त्रको जग हाल्न ।

खै के भएको हो, मलाई त जम्मै बूढाहरूको मात्र पो याद आउन थाल्यो त ! पुष्पलाल बूढा, जसले जनवादी आन्दोलनको जग हाले । मनमोहन अधिकारी ७४ वर्षको उमेरमा नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री भए – इतिहासमा नमेटिने छाप छोडेर गए ।

मलाई नेपाली कांग्रेसका पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाबारे अझै सोधी–खोजी गर्न मन लाग्यो ।

गिरिजा प्रसाद कोइरालाको जन्म १९२४ जुलाई ४ मा भारतको बिहार राज्यको साहर्सा जिल्लामा भएको थियो । उनका पिता कृष्ण प्रसाद कोइराला राणा शासनविरुद्ध आन्दोलनमा संलग्न भएकाले परिवार भारतमा निर्वासित थियो । कोइराला परिवार नेपाली राजनीतिमा प्रभावशाली मानिन्छ; उनका दुई दाजुहरू – मातृका प्रसाद कोइराला र विशेश्वर प्रसाद कोइराला पनि प्रधानमन्त्री भएका थिए ।

गिरिजा प्रसाद कोइरालाले १९४७ मा विराटनगर जुट मिलको श्रमिक हडतालको नेतृत्व गरे, जुन नेपालमा श्रमिक अधिकार र राजनीतिक सचेतनाको महत्त्वपूर्ण घटना मानिन्छ । उनी नेपाली कांग्रेस पार्टीका संस्थापक सदस्य थिए र पार्टीको विभिन्न नेतृत्व भूमिकामा रहे । सन् १९९० (२०४६०) को जनआन्दोलनमा उनले प्रमुख भूमिका खेले, जसले नेपालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापना गर्‍यो ।

उनको आदर्श भनेको बहुदलीय प्रजातन्त्र, समाजवाद, र संविधानिक राजतन्त्र हो ।

गिरिजा प्रसाद कोइराला चार पटक प्रधानमन्त्री बनेः

१९९१–१९९४ः पहिलो बहुदलीय निर्वाचनपछि प्रधानमन्त्री ।
१९९८–१९९९ः अल्पमत सरकारको नेतृत्व ।
२०००–२००१ः माओवादी द्वन्द्व उत्कर्षमा ।
२००६–२००८ः लोकतान्त्रिक आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व – जतिवेला उनी ८३ वर्षका थिए ।

२००५ मा माओवादी र सात दलबीचको १२–बुँदे सहमतिमा उनले प्रमुख भूमिका खेले । २००६ मा माओवादीसँग शान्ति सम्झौता गरेपछि, २००८ मा संविधानसभामार्फत नेपाललाई गणतन्त्र घोषणा गरियो । त्यसक्रममा उनी कार्यकारी राष्ट्रप्रमुखको रूपमा पनि रहे ।

उनले सन् १९५२ मा सुष्मा कोइरालासँग विवाह गरे, जसबाट एक छोरी – सुजाता कोइराला – जन्मिइन् । सुष्माको १९६७ मा निधन भयो । 

गिरिजा प्रसाद कोइरालाको २०१० मार्च २० मा काठमाडौँमा निधन भयो ।
 
गिरिजा प्रसाद कोइराला नेपाली राजनीतिका एक अमिट व्यक्तित्व थिए, जसले लोकतन्त्र, मानव अधिकार, र गणतन्त्र स्थापनामा अमूल्य योगदान पुर्‍याए । उनको जीवन नेपालका लागि प्रेरणादायी उदाहरण हो ।
खै किन हो कुन्नि, यो प्रसङ्गमा मलाई सुशील कोइरालाको पनि बेस्सरी याद आयो ।

सुशील कोइरालाको जन्म १२ अगस्ट १९३९ मा विराटनगर, नेपालमा भएको थियो । उनका पिता बोधप्रसाद कोइराला र माता कुमुदिनी देवी थिए । सुशील कोइरालाले १९५४ मा नेपाली कांग्रेस पार्टीमा प्रवेश गरे । १९५८ मा उनले कांग्रेसद्वारा सञ्चालित भद्र अवज्ञा आन्दोलनमा सक्रिय सहभागिता जनाए ।

१९६० मा राजा महेन्द्रले बीपी कोइरालाको निर्वाचित सरकार अपदस्थ गरेपछि, सुशील कोइरालासहित धेरै कांग्रेस नेताहरू भारततिर निर्वासित भए । उनी १६ वर्षसम्म भारतमा रहे, जहाँ उनले पार्टीको मुखपत्र ‘तरुण’ सम्पादन गरे । १९७३ मा नेपाल वायुसेवाको विमान अपहरणमा संलग्न भएको आरोपमा उनी तीन वर्ष भारतीय जेलमा बसे ।

१९९६ मा कांग्रेसको महामन्त्री बने, १९९८ मा उपाध्यक्ष । २००८ मा गिरिजा प्रसादले उनलाई कार्यवाहक अध्यक्ष नियुक्त गरे, र २०१० मा पार्टीको १२औं महाधिवेशनले उनलाई अध्यक्ष निर्वाचित गर्‍यो ।
२०१३ को संविधानसभा निर्वाचनमा कांग्रेस सबैभन्दा ठुलो पार्टी बनेपछि, १० फेब्रुअरी २०१४ मा सुशील कोइराला प्रधानमन्त्री निर्वाचित भए ।

उनको नेतृत्वमा २० सेप्टेम्बर २०१५ मा नेपालले नयाँ संविधान घोषणा गर्‍यो, जसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्‍यो । २०१५ को विनाशकारी भूकम्पपछि, उनले उद्धार, राहत, र पुनर्निर्माणमा सेना र अन्तर्राष्ट्रिय सहयोगको समन्वय गरे ।

सुशील कोइराला अविवाहित थिए र सादा जीवनशैली अपनाउँथे । उनले आफ्नो सम्पत्तिको रूपमा तीन वटा मोबाइल फोन मात्र घोषणा गरेका थिए । २००६ मा जिब्रोको क्यान्सर र २०१४ मा फोक्सोको क्यान्सर भएको थियो । क्यान्सर जितेका उनी ९ फेब्रुअरी २०१६ मा काठमाडौँमा निमोनियाका कारण बिते ।

सुशील कोइराला नेपाली राजनीतिमा सादगी, इमानदारी र लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धताको प्रतीक थिए । उनको नेतृत्वमा जारी भएको संविधानले नेपालको राजनीतिक इतिहासमा नयाँ युगको सुरुवात गर्‍यो ।
अब प्रश्नको उत्तर भेटिएलाजस्तो भयो है ! मैले धेरै ‘युवा’हरू पो पाएँ त ।

पुष्पलाल युवा, बीपी कोइराला युवा, ७३ वर्षको उमेरमा प्रधानमन्त्री भएका मनमोहन अधिकारी पनि युवा ।

उत्तर त यस्तो पो आउन थाल्यो त !

जीवनभर सामन्तवादका नाइकेलाई आदर्श मानेका गिरिजा प्रसाद कोइराला ८३ वर्षको उमेरमा सबैभन्दा युवा देखिए । संविधानसभाको चुनाव गराए । नेपालमा गणतन्त्र स्थापना गरे । के उत्तर गलत हो ? 

जीवनभर सामन्तवादका नाइकेलाई आदर्श मानेका सुशील कोइराला ७६ वर्षको उमेरमा सबैभन्दा युवा देखिए । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरे । के उत्तर गलत हो ? 

 के गणतन्त्र ल्याउनु गलत थियो ? अथवा संविधान जारी गर्नु ? गगन जीको उत्तर के होला ?

बरु ती खसि परेका बुढाहरूले स्थापना गरेको व्यवस्थामा गगनजीको फरक मत आउन लागेको हो ? त्यस्तै त्यस्तै आभास हुँदैछ । 

अहिले नेपालमा अग्रगमन र पश्चगमनको लडाइँ पुनः चलेको छ । फेरि नयाँ युवा जन्मिँदै छन् – क. प्रचण्ड ।

नेपाली राजनीतिको इतिहास गहिरोगरी नियाल्दा मैले सबैभन्दा बुढो भूतपूर्व राजा रणबहादुर शाह पाएँ भने सबैभन्दा युवा गिरिजा प्रसाद कोइराला । छिट्टै गिरिजा प्रसाद कोइरालाको रेकर्ड ब्रेक हुँदैछ – त्यो नयाँ रेकर्ड क. प्रचण्डको नाममा आउँदै छ ।

मैले प्रस्ट उत्तर पाएँ । को बुढो, कस्तो बुढो ?

अब गगन जीलाई प्रश्न – कस्ता बुढाको बिदाइ चाहनुभएको ? ३० वर्षमा निधन हुने भूतपूर्व राजा रणबहादुर शाहजस्ता कि गिरिजा प्रसाद कोइरालाजस्ता ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निर्मल आचार्य
निर्मल आचार्य
लेखकबाट थप