१२ बजे १२ समाचार: भिजिट भिसा प्रकरणमा बिचौलिया दोषी ठहर कर्मचारीलाई सफाइ, बेंगलुरु आईपीएल च्याम्पियन

आज २०८२ जेठ २० गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
१. भिजिट भिसा प्रकरणः बिचौलिया दोषी ठहर हुँदा अध्यागमनका कर्मचारीलाई सफाइ
जिल्ला अदालत काठमाडौँले सेटिङमा भिजिट भिसामा विदेश पठाएको आरोपमा मुद्दा दायर भएका अध्यागमन कार्यालयका ९ अधिकृतसहित १९ जनालाई सफाइ दिएको छ।सेटिङमा नक्कली कागजात बनाएर भिजिट भिसामा व्यक्तिहरूलाई विदेश पठाएको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालयले अध्यागमनका ९ जना अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा चलाएको थियो ।
उक्त मुद्दामा जिल्ला अदालत काठमाडौँका न्यायाधीश रामप्रसाद शर्माको एकल इजलासले तीन जना बिचौलियालाई दोषी ठहर गर्दै अध्यागमनका ९ अधिकृतसहित अन्यलाई सफाइ दिएको हो।
२. यातायात व्यवसायीद्वारा देशव्यापी हडताल फिर्ता
यातायात व्यवसायीले दुई दिनदेखि जारी देशव्यापी हडताल फिर्ता लिएका छन् । मंगलबार साँझ बसेको यातायात व्यवसायीको बैठकले हालका लागि हडताल फिर्ता लिने निर्णय गरेको हो।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गरेसँगै यातायात व्यवसायी आन्तरिक छलफलमा जुटेका थिए ।
३. अपराध
काठमाडौँको धापासी र ललितपुरको सनराइज अपार्टमेन्टबाट अनलाइन सट्टेबाजी खेलाएको आरोपमा पक्राउ परेकाहरू अधिकांश भिजिट भिसामा दुबई गएर फर्केकाहरू पाइएको छ । पक्राउ परेका १७ जना मध्ये ११ जना दुबईमा भिजिट भिसामा गएर बेटिङको काम सिकेपछि नेपाल फर्केको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।
४. निलम्बन
काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे निलम्बनमा परेका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरुगाईले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।
५.बजेट
सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत विदेशमा नेपाली लगानीकर्तालाई लगानी गर्न सशर्त रूपमा खुला गरेको छ । बजेट वक्तव्यको बुँदा नम्बर ८० मा सरकारले वार्षिक निर्यातको एक चौथाइ रकमसम्म विदेशमा लगानी गर्न पाउने कानुनी व्यवस्था गरिने उल्लेख गरेको हो ।
६. वर्षा
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले यस वर्ष तीन प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने भएकाले विपद् बढ्ने जोखिम रहेको बताएका छन् । उनले प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको छलफलमा गण्डकी लुम्बिनी र कर्णाली प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने जानकारी दिँदै पूर्वतयारीमा जुट्नुपर्ने बताएका हुन् ।
७.आयात शुल्क
तेल र बोसोजस्ता वस्तुहरूको मुद्रास्फीति नियन्त्रण गर्न भारतले कच्चा तथा प्रशोधित खाने तेलको आयात शुल्क घटाएको छ । २०२५ अप्रिलमा उपभोक्ता मूल्य सूचकाङ्कअनुसार खाद्यान्न मुद्रास्फीति घटेर १.७८ प्रतिशतमा पुगेकोमा मार्चमा २.६९ प्रतिशत पुग्यो । तर अप्रिल २०२५ मा ‘तेल तथा बोसो’ मा दोहोरो अंकको मुद्रास्फीति देखिएको थियो ।
८. त्रिभुवन विश्वविद्यालय
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले फास्ट ट्र्याकमार्फत उपप्राध्यापक नियुक्तिका लागि कार्यविधि बनाउने गृहकार्य थालेको छ । लिखित परीक्षाविनै पीएचडी गरेको र अन्तर्राष्ट्रिय जनरलमा आर्टिकल प्रकाशित गरेको आधारमा त्रिविले १०० जना उपप्राध्यापक स्थायी नियुक्ति प्रक्रिया अगाडि बढाएको हो ।
९. बुटवल–गोरुसिङ्गे सडक विस्तार
माघ ११ गते शिलान्यास भएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तारमा ९ प्रतिशत भौतिक प्रगति भएको छ । बुटवल–गोरुसिङ्गे सडक परियोजनाका सूचना अधिकारी राजेन्द्र आचार्यका अनुसार कपिलवस्तु र रुपन्देही गरी दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ ।
१०. झोले अभियान
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन दिन अगाडि एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘झोले हुनुमा गर्व छ ।’ सोमबार ओलीले आफ्नो फेसबुक पेजमा ‘म झोले हो’ लेखिएको एउटा पोष्टर नै सार्वजनिक गरे ।
११. प्रधानमन्त्रीसँग सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल
प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका नवनियुक्त पदाधिकारीको परिचयात्मक छलफल भएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा मङ्गलवार भएको छलफलमा आयोगका पदाधिकारीले आफूहरू नियुक्त भएपछि थप उजुरीका लागि सूचना प्रवाहलगायत थालिएका काम, देखिएका चुनौती, बजेट र पूर्वाधारका लागि सरकारसँगका अपेक्षाबारे प्रस्तुति गरेका थिए ।
१२. पूरा भयो विराट र बेंगलुरुको आईपीएल च्याम्पियन बन्ने सपना
अहमदाबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को फाइनल खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले पञ्जाबा किंग्सलाई पराजित गर्दै नयाँ च्याम्पियन बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वरिष्ठ अधिवक्ता थापाद्वारा पत्रकारमाथि दुर्व्यवहार
-
सप्तकोशीमा उद्धार अभ्यास गर्ने क्रममा दुई गोताखोर बेपत्ता
-
अध्यक्षमाथि भ्रष्टाचार मुद्दाले नेकपा एसको केन्द्रीय कार्यालय ततायो (तस्बिरहरू)
-
संघीयतामा सडक निर्माणका विसंगति
-
नेपालले बढायो युएई जाने नेपाली श्रमिकको तलब
-
इन्जिनियर सन्तोष कुमार यादवविरूद्ध भ्रष्टाचार मुद्दा दायर