भिजिट भिसामा दुबई गएर सट्टेबाजी खेलाउन सिके, भारतीयको ‘एजेन्ट’ बनेर नेपाल फर्किए

काठमाडौँ । काठमाडौँको धापासी र ललितपुरको सनराइज अपार्टमेन्टबाट अनलाइन सट्टेबाजी खेलाएको आरोपमा पक्राउ परेकाहरू अधिकांश भिजिट भिसामा दुबई गएर फर्केकाहरू पाइएको छ । पक्राउ परेका १७ जना मध्ये ११ जना दुबईमा भिजिट भिसामा गएर बेटिङको काम सिकेपछि नेपाल फर्केको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । पक्राउ परेका ५ भारतीय मध्ये ३ जना पनि भिजिट भिसामै दुबई पुगेको भेटिएको छ ।
दुबईमा सट्टेबाजी गराउने भारतीयसँग बेटिङ सिकेर उनीहरूकै एजेन्टको रूपमा काम गर्नेगरी आरोपीहरूलाई नेपाल पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । उनले भने, ‘अहिले पक्राउ परेकाहरू दुबईबाट भारतीयले नेपाल पठाएको भेटिएको छ ।’
पक्राउ परेका अछाम घर भएका २९ वर्षीय डायमन्ड कुँवरले ‘काठमाडौँमा सेटिङ गरेका छौँ’ भनेर भारतीयले आफूहरूलाई नेपालमा सरुवा गरेर पठाएको बताए । धापासीमा उनीहरूलाई बस्न र काम गर्न भारतीयले घर भाडामा लिइदिएका थिए । त्यहाँबाट १५ जना पक्राउ परे । ललितपुरको नख्खुस्थित सनराइज अपार्टमेन्टमा बस्ने ५ जना मध्ये दुई जना पक्राउ परेका छन् । अरू ३ जना फरार भए ।
डायमन्ड कुँवर, मनोज बोगटी, राजेन्द्र बहादुर महता, विष्णु कुमार राउत, ठक्क कुँवर, तिलक खड्का, जीत बहादुर महतो, हर्कबहादुर खड्का, पूर्ण बहादुर दर्लामी मगर, भारतीय नागरिकहरू दीपक कुमार सिंह र धिरज कुमार सिंह भिजिट भिसामा दुबई गएर फर्केका हुन् ।
दुबईमा बस्ने भारतीयका लागि काम गर्ने एजेन्टहरूले बेटिङबाट हाजरजित भएको रकम बेटिङ एपबाट निकालेर भारतीय नागरिकहरूको बैंक खातामा डिपोजिट समेत गर्दै आएका थिए । उनीहरूले ‘सेभेन इलेभेन ब्याट क्लब’ र ‘युनिकम–३६५’ नामक एपबाट बेटिङ गराउँदै आएका थिए । बेटिङ बेटिङ गराएबापत उनीहरूलाई ७० देखि ८० हजार रुपैयाँ तलब दिने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
- ‘दुबईबाट सरुवा भएर यहाँ आयौँ’
अछाम साँफेबगरका डायमन्ड २०२२ को अन्तिममा भिजिट भिसामा काठमाडौँबाट दुबई उडे । त्यसबेला राजधानीको सामाखुसीस्थित एक मेनपावरलाई १ लाख ५० हजार बुझाएर दुबई पुगेका हुन् ।
भिजिट भिसामा विदेश जानेहरू केहीले २ लाख ५० हजार पनि बुझाएको अनुसन्धान अधिकृतहरूलाई बताएका छन् । डायमन्ड करिब दुई वर्ष दुबई बसे । उनले प्रहरीलाई भनेका छन्, ‘त्यहाँ काम पाइन्छ भनेर गएको थिएँ, १५–२० दिनजति सिकेर भारतीय नागरिकसँग बेटिङ गराउने काम गरेँ ।’
३ महिनाको भिजिट भिसा परिवर्तन गर्न भारतीय नागरिकले नै उनलाई त्यहाँबाट जोर्डन पठाएर पुनः दुबई फकिर्ने वातावरण बनाइदिए । उनले भनेका छन्, ‘भिसा रिन्यु गर्न इक्जिट मात्र गराएर फेरी फर्केर त्यहीँ काम गरेका थियौँ ।’
एउटा बंकर जस्तो ठाउँमा २० जनासम्म बसेर बेटिङको काम गरेको उनी सम्झन्छन् । त्यसबापत उनले सुरुमा १५ र पछि २ हजार दिराम तलब पाउँथे । दुबईमै बस्ने खगेन्द्र खड्काले सेटिङ मिलाएर उनलाई दुबई लगेको डायमन्ड बताउँछन् ।
धापासीमा भारतीय नागरिकले बेटिङ धन्दा चलाउन १ लाख ५० हजारमा घर भाडामा लिएका थिए । धापासी र सनराइज अपार्टमेन्टबाट ६० वटा मोबाइल र १४ वटा ल्यापटप प्रहरीले बरामद गरेर अनुसन्धान गरिरहेको छ । आरोपीहरूले हालसम्म ८१ करोडको कारोबार गरेको भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्निबारे माओवादीले सर्वोच्चको पूर्णपाठ आएपछि धारणा बनाउने
-
कालोधन रोक्न घरजग्गा किनबेचमा कडाइ, अब मूल्य बढ्छ कि घट्छ ?
-
ट्रम्पले एड्मिरल कूपरलाई दिए मध्य पूर्वको जिम्मा
-
ग्लोबल आइएमई बैंकद्वारा ईभी चार्जिङ स्टेशन सञ्चालन
-
ट्रम्पले दिए बाइडेनविरुद्ध जाँचको आदेश
-
हजका लागि साउदी अरब पुगे १५ लाखभन्दा धेरै विदेशी