बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अनलाइन सट्टेबाजी प्रकरण

भिजिट भिसामा दुबई गएर सट्टेबाजी खेलाउन सिके, भारतीयको ‘एजेन्ट’ बनेर नेपाल फर्किए

८१ करोड कारोबार
मङ्गलबार, २० जेठ २०८२, १६ : २२
मङ्गलबार, २० जेठ २०८२

काठमाडौँ । काठमाडौँको धापासी र ललितपुरको सनराइज अपार्टमेन्टबाट अनलाइन सट्टेबाजी खेलाएको आरोपमा पक्राउ परेकाहरू अधिकांश भिजिट भिसामा दुबई गएर फर्केकाहरू पाइएको छ । पक्राउ परेका १७ जना मध्ये ११ जना दुबईमा भिजिट भिसामा गएर बेटिङको काम सिकेपछि नेपाल फर्केको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । पक्राउ परेका ५ भारतीय मध्ये ३ जना पनि भिजिट भिसामै दुबई पुगेको भेटिएको छ ।

दुबईमा सट्टेबाजी गराउने भारतीयसँग बेटिङ सिकेर उनीहरूकै एजेन्टको रूपमा काम गर्नेगरी आरोपीहरूलाई नेपाल पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । उनले भने, ‘अहिले पक्राउ परेकाहरू दुबईबाट भारतीयले नेपाल पठाएको भेटिएको छ ।’

पक्राउ परेका अछाम घर भएका २९ वर्षीय डायमन्ड कुँवरले ‘काठमाडौँमा सेटिङ गरेका छौँ’ भनेर भारतीयले आफूहरूलाई नेपालमा सरुवा गरेर पठाएको बताए । धापासीमा उनीहरूलाई बस्न र काम गर्न भारतीयले घर भाडामा लिइदिएका थिए । त्यहाँबाट १५ जना पक्राउ परे । ललितपुरको नख्खुस्थित सनराइज अपार्टमेन्टमा बस्ने ५ जना मध्ये दुई जना पक्राउ परेका छन् । अरू ३ जना फरार भए ।

डायमन्ड कुँवर, मनोज बोगटी, राजेन्द्र बहादुर महता, विष्णु कुमार राउत, ठक्क कुँवर, तिलक खड्का, जीत बहादुर महतो, हर्कबहादुर खड्का, पूर्ण बहादुर दर्लामी मगर, भारतीय नागरिकहरू दीपक कुमार सिंह र धिरज कुमार सिंह भिजिट भिसामा दुबई गएर फर्केका हुन् ।

दुबईमा बस्ने भारतीयका लागि काम गर्ने एजेन्टहरूले बेटिङबाट हाजरजित भएको रकम बेटिङ एपबाट निकालेर भारतीय नागरिकहरूको बैंक खातामा डिपोजिट समेत गर्दै आएका थिए । उनीहरूले ‘सेभेन इलेभेन ब्याट क्लब’ र ‘युनिकम–३६५’ नामक एपबाट बेटिङ गराउँदै आएका थिए । बेटिङ बेटिङ गराएबापत उनीहरूलाई ७० देखि ८० हजार रुपैयाँ तलब दिने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

  • ‘दुबईबाट सरुवा भएर यहाँ आयौँ’

अछाम साँफेबगरका डायमन्ड २०२२ को अन्तिममा भिजिट भिसामा काठमाडौँबाट दुबई उडे । त्यसबेला राजधानीको सामाखुसीस्थित एक मेनपावरलाई १ लाख ५० हजार बुझाएर दुबई पुगेका हुन् ।

भिजिट भिसामा विदेश जानेहरू केहीले २ लाख ५० हजार पनि बुझाएको अनुसन्धान अधिकृतहरूलाई बताएका छन् । डायमन्ड करिब दुई वर्ष दुबई बसे । उनले प्रहरीलाई भनेका छन्, ‘त्यहाँ काम पाइन्छ भनेर गएको थिएँ, १५–२० दिनजति सिकेर भारतीय नागरिकसँग बेटिङ गराउने काम गरेँ ।’

३ महिनाको भिजिट भिसा परिवर्तन गर्न भारतीय नागरिकले नै उनलाई त्यहाँबाट जोर्डन पठाएर पुनः दुबई फकिर्ने वातावरण बनाइदिए । उनले भनेका छन्, ‘भिसा रिन्यु गर्न इक्जिट मात्र गराएर फेरी फर्केर त्यहीँ काम गरेका थियौँ ।’

एउटा बंकर जस्तो ठाउँमा २० जनासम्म बसेर बेटिङको काम गरेको उनी सम्झन्छन् । त्यसबापत उनले सुरुमा १५ र पछि २ हजार दिराम तलब पाउँथे । दुबईमै बस्ने खगेन्द्र खड्काले सेटिङ मिलाएर उनलाई दुबई लगेको डायमन्ड बताउँछन् ।

धापासीमा भारतीय नागरिकले बेटिङ धन्दा चलाउन १ लाख ५० हजारमा घर भाडामा लिएका थिए । धापासी र सनराइज अपार्टमेन्टबाट ६० वटा मोबाइल र १४ वटा ल्यापटप प्रहरीले बरामद गरेर अनुसन्धान गरिरहेको छ । आरोपीहरूले हालसम्म ८१ करोडको कारोबार गरेको भेटिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप