‘जन्ते बाख्रो’ को प्रिमिएरमा कसले के भने ?

समाचार सारांश
- कलाकर्मीहरूले शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म 'जन्ते बाख्रो' मनोरञ्जनात्मक रहेको प्रतिक्रिया दिएका छन्।
- प्रिमियरमा अभिनेत्री वर्षा राउतले रमाइलो कथालाई पर्दामा हेर्न पाएको बताइन् भने संजोग कोइरालाले नयाँ पुस्ताका लागि फिल्म मनोरञ्जन हुने बताए।
- निर्माता सन्तोष गौतमले फिल्म परिवारका सदस्य एकसाथ हेर्न मिल्ने बनाएको बताए भने सौगात मल्लले दर्शकको प्रतिक्रियाको प्रतीक्षामा रहेको बताए।
काठमाडौँ । शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘जन्ते बाख्रो’ मनोरञ्जनात्मक रहेको कलाकर्मीले प्रतिक्रिया दिएका छन् । बुधवार साँझ सुन्धारास्थित सिभिल मलको क्युएफएक्स सिनेमा हलमा आयोजित प्रिमिएरमा कलाकर्मीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
प्रिमिएरमा फिल्म हेरेपछि अभिनेत्री वर्षा राउतले धेरैपछि रमाइलो कथालाई पर्दामा हेर्न पाएको बताइन् । अभिनेता संजोग कोइरालाले नयाँ पुस्ताका लागि ‘जन्ते बाख्रो’ परम्परा फिल्मले मनोरञ्जन तरिकाले दिने बताए ।
‘ग्रामीण सुन्दरता र सामाजिक सद्भावसँगै परम्परा जोडिएको सिनेमाले हामीले पूर्ण मनोरञ्जन दिन्छ’, संजोगले भने । अभिनेता तथा कमेडियन सन्दीप क्षेत्रीले फिल्म निर्माण कै प्रक्रियामा आफूले पटकथाको बारेमा जानकारी पाएको बताए ।
उनले हेरेर निस्किँदा पटकथालाई पर्दामा रमाइलोसँग प्रस्तुत गरिएको भन्दै उनले तारिफ गरे । कार्यक्रममा सहभागी फिल्मकर्मी र सञ्चारकर्मीले फिल्म ‘मनोरञ्जनको प्याकेज’ भएको प्रतिक्रिया पाउँदा उत्साहित भएको फिल्मकी अभिनेत्री गरिमा शर्माले बताइन् ।
‘हामीले पहिलो दर्शकलाई खुसी बनाउन सफल भएका छौँ, रेगुलर शो बाट पनि यस्तै प्रतिक्रिया पाउने अपेक्षा राखेकी छु’, उनले भनिन् । अभिनेता लोकेन्द्र लेखकले निर्माण समूह, कलाकार र कथा राम्रो भएकाले सिनेमा राम्रो बनेको बताए ।
अभिनेता सौगात मल्लले पनि सार्वजनिक प्रदर्शन पश्चात् दर्शकबाट आउने प्रतिक्रियाको पर्खाइमा आफू रहेको प्रतिक्रिया दिए । ‘हामीले राम्रो काम गरेका छौँ भन्ने लागेको छ, प्रतिक्रिया त्यस्तै पाएको छु । अघिल्ला सिनेमा भन्दा यसमा म केही भिन्न देखिएँ जस्तो लागेको छ । दर्शकले रुचाउनुहुन्छ भन्नेमा आशावादी छु’, उनले भने ।
निर्माता सन्तोष गौतमले आफूले निर्माताको रूपमा फिल्म निर्माणमा कुनै सम्झौता नगरेको बताए । उनले फिल्म हेर्न एउटा परिवारका सबै सदस्य एकसाथ हलमा आउन मिल्ने गरी विषयवस्तु समेटको बताए ।
मुईन इन्टरटेनमेन्टद्वारा निर्मित ‘जन्ते बाख्रो’ को कथा प्रदीप भारद्वाजले लेखेका हुन् । यसमा हरि हुमागाईंको छायाङ्कन निर्देशन, उत्तम हुमागाईंको छायाङ्कन र सुनिल शिव भक्तिको सम्पादन रहेको छ । टिफल्क फिल्म्सले वितरण गर्ने यो सिनेमाको डिजिटल अधिकार जी टु वान डिजिटलले प्राप्त गरेको छ ।