शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: बजेट निर्माणअघिनै मन्त्रालयमा प्रवेश निषेध, गोताखोर खोजीमा थप टोली परिचालन

बिहीबार, २२ जेठ २०८२, २३ : ५३
बिहीबार, २२ जेठ २०८२

वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–

१. गोताखोर बेपत्ताः

सप्तकोशी नदीमा उद्धार अभ्यास गर्ने क्रममा बिहीबार बेपत्ता भएका दुई गोताखोरको खोजी तथा उद्धारका लागि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट ५ जनाको टोली परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल  विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टार बाट गोताखोरका अनुभवी प्रशिक्षक डिएसपी पुरुषोत्तम भण्डारीको कमान्डमा ५ जना गोताखोरलाई बिहीबार राती  १०ः४५ बजे त्यस तर्फ पठाइएको हो ।

२. माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको छ । 

उनीहरु विरुद्ध पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियारले बिहीबार मुद्दा दर्ता गरेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले रातोपाटीलाई जानकारी दिए ।

३. कर्णालीमा बजेट निर्माणअघिनै मन्त्रालयमा प्रवेश निषेध 

कर्णालीमा यतिवेला आगामी आर्थिक वर्ष ०८२/०८३ को बजेट निर्माणको प्रक्रिया धमाधम चलिरहेको छ । असार १ गतेभित्र बजेट ल्याइसक्नु पर्ने प्रावधान अनुसार अर्थ मन्त्रालयले बजेट निर्माणको काम पनि अन्तिम चरणमा पुर्‍याएको छ । 

पहिलो पटक ‘योजना बैङ्क’ लागु गरेर निर्माण गरिएको बजेट विगतको भन्दा भिन्न तरिकाले आउने दाबी अर्थमन्त्री राजीविक्रम शाह बताउँछन् । मुख्यमन्त्री यामलाल कँडेलले ‘योजना छनोट कार्यविधि’ ल्याएर कार्यान्वयनमा ल्याएपछि अहिले मन्त्रालयहरूमा योजना माग्नेको भीड अन्त्य भएको दाबी गरेका छन् । तर उनकै पार्टी नेकपा एमालेकी नेतृले भने अर्थ मन्त्रालयका प्रवेश नपाएको भन्दै कडा आपत्ति जनाएकी छिन् ।

४.‘टेक एन्ड पे’को व्यवस्था

सरकारले बजेटमा विद्युत् खरिद सम्झौता ‘टेक एन्ड पे’को व्यवस्था गरेसँगै ऊर्जा क्षेत्र तरङ्गित भएको छ ।

‘टेक एन्ड पे’को व्यवस्थाको ऊर्जा उत्पादकहरूले विरोध जनाएका छन् । ‘टेक एन्ड पे’ भनेको विद्युत् खरिद सम्झौता भए पनि विद्युत् उत्पादन बढी हुँदा प्रयोग नभएको बिजुलीको रकम विद्युत् प्राधिकरणले तिर्नुपर्ने व्यवस्था हो । 

तर यस्तो व्यवस्थाले ऊर्जा क्षेत्र नै संकटमा पुग्ने ऊर्जा उद्यमीहरूको भनाइ छ । भर्खरै बामे सर्न लागेको ऊर्जा क्षेत्रलाई ‘टेक एन्ड पे’को व्यवस्थाले समस्याग्रस्त बनाउने उनीहरूको दाबी छ ।

५. तुलसी सहकारी ठगी प्रकरण

सहकारी ठगी मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका विराटनगरको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्षको कैद सजायको फैसला भएको छ । 

मोरङ अदालतका न्यायाधीश सीता शर्मा अधिकारीको बिहीबारको इजालाले शर्मालाई ६७ करोड ५९ लाख जरिवाना, सोही बराबर बिगो तिर्नुपर्ने र राहत कोषमा २ करोड ७० लाख ३६ हजार ८ सय ५० रुपैयाँ तिर्नुपर्ने फैसला भएको हो ।

६. वाईसीएलमा जुटेन सहमति, शुक्रबार निर्वाचन हुने

नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग(वाईसीएल)को नेतृत्वका लागि बिहीबार दिनभर भएको प्रयास असफल भएको छ । सहमतिमा नेतृत्व छान्ने प्रयास असफल भएसँगै अन्ततः निर्वाचनबाट नेतृत्व छनोट गरिने भएको छ ।  

यद्यपि सहमतिबाट नेतृत्व छान्ने प्रयास जारी रहेको निवर्तमान अध्यक्ष सुबोध शेर्पालीले जानकारी दिए । सहमति भए पनि वा नभए पनि निर्वाचन समितिले भोलि(शुक्रबार)बाट आफ्नो प्रक्रिया थाल्ने उनले बताए ।

७. कानुन दुरुपयोग गर्दै सरुवाका लागि कारबाही माग्छन् कर्मचारी !

मोरङका एक पालिका प्रमुख र सोही पालिकाका एक विभागीय अधिकृतबिच सामान्य विषयमा विवाद भयो । ती कर्मचारी पटकपटक पुरस्कृत भएका काबिल थिए ।
पालिका प्रमुखसँगको विवादकै कारण उनलाई विभागीय प्रमुखबाट हटाइयो र १५ महिना जिम्मेवारीविहीन बनाइयो । त्यसपछि उनको सरुवाका लागि मुख्यमन्त्री कार्यालयमा सिफारिस गयो ।

मुख्यमन्त्री कार्यालयले ती कर्मचारीलाई दुर्गम क्षेत्रमा सरुवा गरिदियो । तराईवासी उनलाई दुःख दिनकै लागि स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन २०८० को दफा २४ (४) को दुरुपयोग गरेर सरुवा गरिएको थियो ।

८. बजेट र सरकारी पहलले लुम्बिनी प्रदेशमा जगायो निर्माणको आशा, उद्योगी उत्साहित

लामो समयदेखि चर्चामा रहेका तर निर्माण प्रक्रियामा अपेक्षित गति लिन नसकेका लुम्बिनी प्रदेशका तीन महत्वपूर्ण औद्योगिक क्षेत्रहरूको भविष्यप्रति उद्योगी–व्यवसायीहरूमा नयाँ आशा सञ्चार भएको छ । 

सरकारले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा यी औद्योगिक क्षेत्रहरूको निर्माणलाई प्राथमिकतामा राखी निजी क्षेत्रसँगको सहकार्यमा अघि बढाउने घोषणाले यो आशा जगाएको हो ।

९. अमेरिका यात्रामा  प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका मानिसहरूलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाएका छन् । ह्वाइट हाउसका अनुसार ट्रम्पले यात्रा प्रतिबन्धसँग सम्बन्धित आदेशमा हस्ताक्षर गरेका छन् । 

यी देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कङ्गो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन समावेश छन् ।

१०.तीनकुने प्रकरण

तीनकुने प्रकरणमा बिहीबार थप ११ जना सरकारी वकिलहरूले बहस गरेका छन् । यसअघि ४ जना सरकारी वकिलले बहस गरेका थिए । सरकार तर्फकै बहस पुरा नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
राज्य विरुद्धको कसुर सहित ६ वटा मुद्दामा दुर्गा प्रसाईंसहित ३९ जना थुनामा छन् । मंगलबार सरकारको तर्फबाट काठमाडौँका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौला, सरकारी वकिलहरू पूर्ण केसी, गोविन्द प्रसाईं हुमागाईं र  उदयचन्द्र अधिकारीले बहस गरेका थिए ।

११. पत्रकारमाथि दुर्व्यवहार

वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकारमाथि दुव्र्यवहार गरेका छन् । बिहीबार नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कार्यालयमा रिपोर्टिङका लागि गएका नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्कीको क्यामेरामा हानेका थिए ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेपछि अहिले पार्टीका नेताहरु छलफलमा जुटेका छन् ।  

१२.माओवादी बैठक

नेकपा माओवादी केन्द्रले नेता अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्च अदालतले गरेको आदेशको पूर्ण पाठ आएपछि मात्रै आधिकारिक धारणा बनाउने भएको छ ।  बिहीबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा सर्वोच्चको उक्त आदेशप्रति असन्तुष्टि समेत जनाएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप