आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय
साहित्य

‘न्गुगी वा थ्योङ्गोले हामीलाई धेरै कुरा सिकाएर गए’

शनिबार, २४ जेठ २०८२, १५ : ००
शनिबार, २४ जेठ २०८२

समाचार सारांश

  • प्रसिद्ध लेखक न्गुगी वा थ्योङ्गोको निधन भएको छ, जसले उपनिवेशवादको विरोधमा आवाज उठाए।
  • उनको लेखन, जीवन र कृतिबारे चार्ल्स क्यान्टलुपोसँगको कुराकानीमा अफ्रिकी साहित्यकारका विचारहरू उजागर भएका छन्।
  • थ्योङ्गोको मातृभाषा गिकुयु र अनुवादले लेखनलाई प्रभाव पारेको थियो, जसले उनलाई विश्वभर चिनायो।

केन्याका विश्व प्रसिद्ध लेखक तथा उपनिवेशवाद विरोधी बौद्धिक विद्वान न्गुगी वा थ्योङ्गो गत मे २८ तारिखमा ८७ वर्षको उमेरमा बिते । यी लेखकबारे संसारभर श्रद्धाञ्जली र ‘अविच्युअरी’ प्रकाशित भइरहेका छन् ।

यसै सन्दर्भमा हामीले एउटा अफ्रिकी साहित्यकारको विचार प्रक्रियाका बारे बुझ्ने प्रयास गरेका छौँ । न्गुगी वा थ्योङ्गोको लेखाई, उनको जीवन तथा कृतिहरूबारेका ज्ञाता चार्ल्स क्यान्टलुपोलाई हामीले उनी तथा उनका कामबारे बताउन आग्रह गर्‍यौँ । प्रस्तुत छ भर्खरै मात्र प्राण त्याग गरेका थ्योङ्गोबारे क्यान्टलुपोसँग गरिएको कुराकानी ।

Cantalupo_7-15-21_05

  • खासमा न्गुगी वा थ्योङ्गो को थिए ? साथै तपाईंका लागि उनी के थिए ?

जब मैले न्गुगी बितेको खबर सुने, सबैभन्दा पहिले मेरो दिमागमा उनको जीवनका बहुआयामहरू एकाएक आउन थाले । साँच्चै न्गुगी वा थ्योङ्गो जत्तिको व्यापक विषय र आयाममा अमर सिर्जनात्मक उपलब्धि हासिल गरेको अरू अफ्रिकी लेखक नै छैनन् । उनले उपन्यास तथा नाटक मात्रै नभएर लघुकथा, निबन्ध, समालोचना, काव्य, संस्मरण देखि बालबालिकाको लागी पुस्तक समेत लेखेका छन् । 

उनका आख्यान, गैह्र–आख्यान तथा नाटकहरू सन १९६०को सुरुवात देखि आजको दिनसम्म बारम्बार पुनर्मुद्रित भइरहेका छन् । अझै उनको मुख्य कृति त अङ्ग्रेजी र उनको आफ्नो मातृभाषा गिकुयुमा छ । यसको अनुवाद असाध्यै धेरै भाषामा भएको छ ।

उनी केन्याको ग्रामीण इलाकामा आफ्नो पिताको तेस्रो श्रीमतीबाट जन्मेका थिए । उनकी आमाले उनलाई पढाउन गरेको जोडबलले गर्दा उनी जोगिएका थिए । उनले केन्यामा रहेको बेलायती विद्यालयमा आफ्नो प्रारम्भिक अध्ययन गरे तथा उच्च शिक्षाका लागि युगान्डाको मकेरेरे विश्वविद्यालयमा पुगे ।

एउटा प्रतिभावान् युवा लेखकको रूपमा उनको पहिलो ठुलो सफलता सन् १९६२मा कम्पालामा भएको अफ्रिकी लेखकहरूको सम्मेलनमा प्राप्त भएको थियो । उक्त सम्मेलन अफ्रिकाबाट अङ्ग्रेजीमा लेख्ने लेखकहरूको भेला थियो । त्यसबेला उने आफूलाई ‘जेम्स न्गुगी’को रूपमा चिनाउँथे । उनका सुरुवाती तीन उपन्यासमा पनि उनको यही नाम लेखिएको छ । त्यस बेलासम्म अफ्रिकी लेखकका रूपमा उनले मनग्गे ख्याति पाउन सुरु गरिसकेका थिए । तर, उनको उत्कृष्ट कृति भने अझै आइसकेको थिएन ।

न्गुगी वा थ्योङ्गोमा आफ्नी आमाको प्रभाव साथै आफ्नै प्रतिभा र दृढ संकल्प थियो । यस बाहेक लेखक र विचारकको रूपमा उनको विकासलाई प्रभावित गर्ने प्रमुख कारक भने उनको मातृभाषा अर्थात् गिकुयु थियो ।

न्गुगी वा मिरीसँगको सहलेखनमा तयार पारिएको नाटक ‘आइ विल म्यारी व्हेन आइ वान्ट’ बाट उनले आफ्नो नाम ‘न्गुगी वा थ्योङ्गो’ लेख्न थाले । लगत्तै उनले आफ्नो नयाँ नामबाट आफ्नो मातृभाषा गिकुयुमा पहिलो आधुनिक उपन्यास लेखे । जसको नाम गियुकु भाषामा ’सैतानी मुथारबा इनि’ थियो । त्यसलाई अंग्रेजिमा ’डेभिल अन द क्रस’ भनियो ।

सन १९७७ मा उनले सहलेखनमा तयार गरेको नाटक ’आइ विल म्यारी व्हेन आइ वान्ट’ गियुकु भाषामा स्थानीय सामुदायिक केन्द्रमा प्रदर्शन गरियो । यसपछि उनीमाथि प्रतिबन्ध मात्रै लागेन उनी एक वर्षका लागि जेल समेत पुगे ।

कथा यतिमै सकिएन । उनको जीवनमा अझै धेरै मोड आउनै बाँकी थिए । उनी केन्याबाट निर्वासित भए । अमेरिका र बेलायतमा केही समय प्राध्यापकका रूपमा काम गरे । एकपछि अर्को गरेर धेरै पुस्तक लेखे । आख्यान, गैह्र–आख्यान लेखे । संसारभर भएका सम्मेलनहरूमा प्रवचनका लागि बोलाइए । ज्यादै धेरै पुरस्कारहरू पाए । केवल साहित्यका लागि नोबेल पुरस्कार भने अपवादको रूपमा उनले पाएनन् । धेरै सम्मानार्थ डिग्री प्राप्त गरे । जसमा उल्लेखनीय रूपमा अमेरिकाको पूर्वदेखि पश्चिमसम्मका धेरै विश्वविद्यालयमा उनलाई प्राज्ञिक भूमिकामा नियुक्त गरियो ।   

न्गुगी वा थ्योङ्गोमा आफ्नी आमाको प्रभाव साथै आफ्नै प्रतिभा र दृढ संकल्प थियो । यस बाहेक लेखक र विचारकको रूपमा उनको विकासलाई प्रभावित गर्ने प्रमुख कारक भने उनको मातृभाषा अर्थात् गिकुयु थियो । उनी आफ्नै भाषामा लेख्ने लेखक हुन । बाल्यकालमा आफ्नी आमाबाट सुनेका कथाहरूदेखि केन्याली तथा संसारभरका पाठकहरूका लागि गिकुयु भाषामा लेख्नेसम्म भाषाले नै उनको यात्रालाई सदैव निर्देशित गरिरह्यो । आफ्ना पुस्तकहरूमा उनले यो बाटो किन रोजेका थिए भनेर स्पष्ट रूपमा व्याख्या गरेका छन् ।

न्गुगी गत तीन दशकदेखि मेरा साथी थिए । उनी अमेरिकामा प्राध्यापन गर्दा होस वा इरिट्रिया, दक्षिण अफ्रिका हुँदै जीवनको उत्तरार्धमा अमेरिकामा आफ्ना सन्तानसँग बस्न जाने बेलासम्म हामी निरन्तर संवादमा थियौँ । हामी कहिले भेटेर, कहिले विभिन्न साहित्यिक परियोजनामा जोडिएर वा कहिले फोन र इन्टरनेटबाट भए पनि कुराकानी गरिनै रहन्थ्यौँ ।

हाम्रो मित्रता सन् १९९३मा मैले उनको अन्तर्वार्ता लिए देखि सुरु भएको हो । उनी त्यसवेला मेरो जन्मस्थान अमेरिकाको न्यु जर्सिस्थित अरेन्जमा निर्वासित जीवन बिताइरहेका थिए । हामीले पहिलो पटकको भेटबाटै एक–अर्कोसँग काम गर्न असाध्यै सहज महसुस गरेका थियौँ । जुन कुरा त्यस पछिका हाम्रा हरेक सहकार्यहरूमा उस्तै हार्दिकता साथ निरन्तर रह्यो ।

  • उनका महत्त्वपूर्ण कृति कुन–कुन हुन ?

न्गुगीले धेरै विविध विधामा लेखेका छन् । उनले ठुला–ठुला भोलुमहरू पनि लेखेका छन् । उनका धेरै कृतिहरू महत्त्वपूर्ण छन् । हामीले नाम नै लिनुपर्दा उनका सुरुवाती तथा ऐतिहासिक उपन्यासहरू ‘अ ग्रेन ओफ व्हिट’ तथा ‘द रिभर बिटविन’ जस्ता कृति लिन सक्छौँ । खासमा शासन सत्ता नै हल्लाइदिने खालका उनका नाटकहरू धेरै महत्त्वपूर्ण छन् ।

उनका आलोचनात्मक तथा विवादित भनिएका उपन्यासहरू पनि महत्त्वपूर्ण छन् । जसमा ‘डेभिल अन द क्रस’ तथा ‘पेटल्स अफ ब्लड’ जस्ता उपन्यास पर्छन् । ‘मातिगारी’ तथा ‘विजार्ड अफ द क्रो’ जस्ता उनका प्रयोगधर्मी तथा पक्का आधुनिक उपन्यासहरू पनि छन् । 

उनले ‘डिकोलोनाइजिङ द माइन्ड’ जस्तो इतिहास बनाउन सफल समालोचना लेखेका छन् । अनौपचारिक शैलीमा पाठकको ध्यान खिचेर राख्न सक्ने खालका तीन खण्डमा लेखिएका संस्मरणहरू पनि छन् । गिकुयु महाकाव्यको पुनर्कथनको रूपमा आएको ’द पर्फेक्ट नाइन’ पनि उनको महान् कृति हो । न्गुगीका पाठकले उनका कृतिमा यस्तै धेरै प्रशंसायोग्य तथा मन पर्ने विविध पक्ष फेला पार्न सक्छन् ।

सन् १९९३ मा उनले ‘मुभिङ द सेन्टरः द स्ट्रगल फर कल्चरल फ्रिडम्स’ शीर्षकको निबन्ध सङ्ग्रह प्रकाशित गरे । न्गुगीको काममा केन्द्रित हुँदै सम्मेलन र पुस्तक दुबैमार्फत उनले आफ्नो कृतिको शीर्षकमा भनेजस्तै  शब्दमा ‘केन्द्र सार्दै’ थिए ।

मैले न्गुगीबारे पुस्तक लेखेको छु । ‘न्गुगी वा थ्योङ्गोः टेक्स्ट एन्ड कन्टेक्स्ट’ नामको पुस्तक सोही नाममा अमेरिकामा आयोजना गरिएको तीन दिने सम्मेलनको आधारमा तयार पारिएको हो । त्यो समयमा उक्त सम्मेलन अफ्रिकी लेखकको बारेमा संसारभर गरिएका सम्मेलनहरू मध्ये सबैभन्दा लामो थियो ।

मैले त्यसबाट सिकेको कुरा अहिले तथा सधैँका सत्यको रूपमा छ । खासमा भन्ने हो भने न्गुगीको काममा जुनसुकै बेला, जहाँसुकै र जस्तोसुकै रूपमा चासो र रुचि जगाउने शक्ति छ । मैले यस्तो कुरा सन् १९९४ मा पेन्सिलभेनियाको रिडिङमा देखेको थिएँ । म अहिले ३० वर्ष पछि उनको मृत्यु पश्चात् पनि विश्वव्यापी रूपमा यस्तै मान्यता जताततै चलेको देखिरहेको छु ।

सन् १९९३ मा उनले ‘मुभिङ द सेन्टरः द स्ट्रगल फर कल्चरल फ्रिडम्स’ शीर्षकको निबन्ध सङ्ग्रह प्रकाशित गरे । न्गुगीको काममा केन्द्रित हुँदै सम्मेलन र पुस्तक दुबैमार्फत उनले आफ्नो कृतिको शीर्षकमा भनेजस्तै  शब्दमा ‘केन्द्र सार्दै’ थिए । ‘आम मानिसहरूको वास्तविक रचनात्मक आवाजलाई लैङ्गिक, जातीय, वा धार्मिक आधारमा विभेद नहुने खालको समाजमा’ सार्दै थिए ।

उनीसँग हुने गरेका छलफल र बहसबाट तपाईंले के कस्ता कुराहरू पाउनु भयो ?

पहिलो कुरा त अफ्रिकी भाषाहरू अफ्रिकी साहित्यको मात्र नभएर सिङ्गै अफ्रिकाको विकासका कुञ्जी हुन भन्ने थाहा पाएँ । न्गुगीले यो आधारभूत कुरा आफ्नो शिक्षण, भाषण, अन्तर्वार्ता, कुराकानी तथा विभिन्न पुस्तकहरूमा ४० वर्षसम्म भनिरहे । त्यसलाई विस्तृत रूपमा खोज्ने र देखाउने काम गरिरहे । उनका साहित्य समालोचना तथा सिद्धान्तका लेखाइमा यी कुरा खुलस्त भनिएका छन् । आफ्नो सबैभन्दा महत्त्वपूर्ण कृति ’विजार्ड अफ द क्रो’ आफ्नै मातृभाषा गिकुयुमा लेखेर उनले यो कुरा आफ्नै जीवनमा स्थापित गरेर देखाए ।

उनले अफ्रिकी भाषाहरूको स्वतन्त्रताको आफ्नो घोषणालाई अस्मारा घोषणापत्रको सहलेखन मार्फत संस्थागत गराए । जुन धेरै भाषामा अनूदित भएको पनि छ । जसले अफ्रिकी भाषाहरू तथा उनीहरूको साहित्यको महत्त्व तथा उनीहरूको मान्यताको वकालत गरेको छ ।

ऐतिहासिक युरोपेली पुनर्जागरण युरोपका स्थानीय भाषाहरूमा लेखिएका लेखकहरू मार्फत जरा गाडेको, हुर्किएको, फस्टाएको र फैलिएको थियो भन्ने कुरा मैले बुझेँ ।

दोस्रो, साहित्य तथा लेखन भनेको कुनै एउटा मुलुक नभएर सिङ्गो संसार हो । कुनै एउटा स्थान वा भाषा पनि सर्व–केन्द्रीय हुन सक्छ । अनुवादले सबै सीमा मेटाइदिन सक्छ । भूगोल र सीमाहरू मेटेर वैश्विक बुझाइ बनाइदिन सक्छ । चाहे त्यो सेक्सपियरको अङ्ग्रेजी होस वा दांतेको इटाली, न्गुगीको गियुकु वा बाइबलको हिब्रु होस वा आरामिक । जस्तो सुकै वा जे सुकै भए पनि त्यो संसारभरको हुन सक्छ । भाषा ठुलो वा सानो हुनुले धेरै फरक पर्दैन ।

तेस्रो, जब मैले पहिलो पटक न्गुगीलाई भेटेको थिएँ । व्यक्तिगत रूपमा म युरोपेली–अमेरिकी साहित्य अध्येता तथा कवि थिएँ । मेरो अफ्रिका, त्यहाँको भाषा तथा साहित्यबारेको बुझाई असाध्यै सीमित थियो । न्गुगीबारे त झन् कम बुझेको थिएँ । त्यो वेलासम्म उनी भने चर्चित लेखक बनिसकेका थिए ।यसका बाबजुद उनले मलाई अफ्रिकी भाषाहरूले कसरी अफ्रिकी पुनर्जागरणको बीउ बोकेका छन् भन्ने कुरा बुझाइदिए । यदि तिनीहरूलाई फस्टाउन दिइयो भने तिनीहरूले अफ्रिकामा ठुलो परिवर्तन र प्रगति ल्याउन सक्छन् भन्ने बुझाए ।

ऐतिहासिक युरोपेली पुनर्जागरण युरोपका स्थानीय भाषाहरूमा लेखिएका लेखकहरू मार्फत जरा गाडेको, हुर्किएको, फस्टाएको र फैलिएको थियो भन्ने कुरा मैले बुझेँ । पुनर्जागरणको समयमा अङ्ग्रेजी, फ्रान्सेली, जर्मन, इटाली तथा स्पेनी लगायत अन्य भाषाहरूले आफ्ना देशमा सोचिएका तथा भन्ने गरिएका सर्वोत्तम कुराहरू व्यक्त गर्नका लागी परम्परागत रूपमा प्रयोग हुने गरेको ल्याटिन भाषालाई विस्थापित गरेका थिए ।

तैपनि यी भाषाहरू बिच र बिचमा साथै शास्त्रीय ल्याटिन र ग्रीक संस्कृति, साथै बाइबलीय पदहरू र संस्कृतिहरूबाट अनुवादले तिनीहरूलाई अझ व्यापक रूपमा साझा र बुझ्ने बनायो। तैपनि यी भाषाहरू बिच हुने गरेको अनुवाद  तथा शास्त्रीय ल्याटिन, ग्रीक र बाइबलका ग्रन्थ तथा संस्कृतिहरूले  पनि तिनीहरूका विचारहरू फैलाउन र तिनीहरूलाई व्यापक रूपमा बुझ्न मद्दत गरेको थियो । अर्थात् युरोपको पुनर्जागरणमा उनीहरूको मौलिक भाषाको उदयको ठुलो भूमिका थियो ।

मैले न्गुगीसँग अफ्रिकी भाषाहरू बारे गरेका विभिन्न छलफलहरूबाट के बुझेँ भने अफ्रिकी लेखकहरू, कथावाचकहरू, जनताहरू, कला, तथा संस्कृतिले पनि त्यस्तै परिस्थिति निर्माण गर्न सक्छन् । जसले उपनिवेश, औपनिवेशिक भाषा, नवउपनिवेश तथा अफ्रिकी महानतालाई रोक्ने हर केही प्रयासलाई हराउने सामर्थ्य राख्दछन् ।  

(द कन्भर्सेसनबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप