तरुण दललाई ३ करोड विनियोजन शासन प्रणाली र दलहरूमाथि गम्भीर प्रश्न : महेश बस्नेत

समाचार सारांश
- एमाले नेता महेश बस्नेतले सहरी विकास मन्त्रालयमार्फत तरुण दललाई ३ करोड बजेट विनियोजन गरेकोमा आपत्ति जनाए।
- बस्नेतले मन्त्री प्रकाशमान सिंहलाई शासकीय मर्यादाको उल्लङ्घनले सरकारको नैतिकता कमजोर हुने बताए।
- बस्नेतले वीर गणेशमान सिंहको छोराले आदर्शलाई सस्तोमा बेचेको भन्दै प्रश्न गरे।
काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले सहरी विकास मन्त्रालयमार्फत नेपाली कांग्रेसको भ्रातृ सङ्गठन तरुण दललाई ३ करोड रुपैयाँ बजेट विनियोजन गरेर दलगत लाभ लिँदा शासन प्रणाली र दलहरूमाथि गम्भीर प्रश्न उठ्ने बताएका छन् ।
बस्नेतले शनिबार आफ्नो फेसबुक पेजमा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई शासकीय मर्यादाको यो हदको उल्लङ्घनले सरकारकै नैतिकतालाई खोक्रो बनाउने समेत जनाएका छन् ।
‘सहरी विकास मन्त्रालयमार्फत नेपाली कांग्रेसको भातृसंगठन तरुण दललाई ३ करोड रुपैयाँ बजेट विनियोजन भएछ । राज्य कोषबाट जनताको पसिनाको कर उठाएर यसरी खुलेआम ‘दलगत लाभ’ बाँड्ने हो भने शासन प्रणाली र दलहरू माथि समेत गम्भीर प्रश्न उठ्छ’, नेता बस्नेतले लेखेका छन् ।
उनले वीर गणेशमान सिंहको छोरा, आफ्नै थातथलो लोकतान्त्रिक सङ्घर्षमा, इतिहास बोक्ने नाम थर भएको व्यक्तिले त्यो नाम र आदर्शको मूल्य यति सस्तोमा फ्याल्नु राम्रो हो त दाजु ? भन्दै मन्त्री सिंहलाई प्रश्न गरेका छन् ।
‘शासकीय मर्यादाको यो हदको उल्लङ्घनले तरुणतालाई होइन, सरकारकै नैतिकतालाई खोक्रो बनाउँछ । सत्ता सस्तो नबनाउनु दाजु , तपाईँप्रतिको हाम्रो सम्मान नघटोस् !’, बस्नेतको सुझाव छ ।