नेप्से परिसूचक बढ्याे, कारोबार रकम घट्यो

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेको छ । पछिल्लो समय निरन्तर रूपमा घटिरहेको बजार सोमवार भने बढेर बन्द भएको छ ।
सोमबार नेप्से परिसूचक २३.१९ अङ्क बढेर २६५३.०९ विन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स २.४४ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स १.५५ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अङ्कले बढेको छ।
कारोबारमा आएका ३२४ कम्पनीको १ करोड ७५ लाख १ हजार कित्ता सेयर ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । अघिल्लो कारोबारको दिन आइतबार ९ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो ।
नेप्सेका १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । जसमा जलविद्युत उपसमूहको परिसूचक २.३५ प्रतिशत र अन्य उपसमूहको परिसूचक २.६३ प्रतिशत बढेको छ । लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । तर होटल तथा पर्यटन जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको छ ।
सोमवार जलविद्युत कम्पनीको सेयर मूल्य बढेको छ । जसमा मकर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी, दोल्ती पावर कम्पनी र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
त्यस्तै, बुटवल पावर कम्पनी र माया खोला हाइड्रोपावरको सेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ तर सप्तकोशी डेभलपमेन्ट बैङ्कको सेयर मूल्य ७.४७ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा राधी विद्युत कम्पनीको ६१ करोड २६ लाख ७१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।