पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

समाचार सारांश
- माडी उपत्यकामा रहेको धनलक्ष्मी झरनालाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय समितिले पहल थालेको छ।
- वैकुण्ठ तालदेखि झरनासम्म पुग्न सिँढी निर्माणको काम भइरहेको छ, बजेट अभावका कारण काम सोचेजस्तो हुन सकेको छैन।
- माडी नगरपालिकाले झरना र आसपासका क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न योजना बनाइरहेको छ, पूर्वाधार निर्माणमा जोड दिइनेछ।
चितवन। यहाँको दक्षिणी भेगमा पर्ने माडी उपत्यका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ। यहाँ रहेको सामेश्वर मन्दिर, गोद्धक, बैकुण्ठ ताल, राम मन्दिरलगायत क्षेत्र पर्यटकीय हिसाबले महत्त्वपूर्ण छन् ।
यसबारे धेरैलाई जानकारीसमेत छ, तर माडीमै रहेको सुन्दर ‘धनलक्ष्मी झरना’ का विषयमा भने धेरैजसो बेखबर छन् । करिब ६० मिटर उचाइबाट खस्ने यो झरनालाई समेटेर पर्यटन विकास गर्न वैकुण्ठ धाम क्षेत्र व्यवस्थापन समितिले अग्रसरता देखाएको छ ।
वैकुण्ठ तालभन्दा माथि करिब डेढ घण्टाको पैदल यात्रापछि पुगिने धनलक्ष्मी झरना स्थानीयस्तरमै नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको वैकुण्ठ धाम पूजा तथा मेला व्यवस्थापन मूल समितिका अध्यक्ष राजकुमार परियारले बताए । तालदेखि झरनासम्म पुग्नका लागि आधा बाटोसम्म सिँढी निर्माण भइसकेको छ भने बाँकी सिँढी आगामी वर्ष पूरा गरिने योजना रहेको उनले जानकारी दिए । “बजेटको अभावका कारण सोचेअनुसार काम गर्न सकिएको छैन, झरना पुग्ने बाटो मात्रै बनाउन सके पनि धेरै पर्यटक लैजान सकिने थियो”, परियारले भने ।
माडी नगरपालिका–८ का पूर्व वडाध्यक्ष कृष्ण अधिकारीका अनुसार माडीको यस क्षेत्रमा विसं २०२०/२२ तिरबाट बस्ती बस्न थालेको हो । सोही समयदेखि वैकुण्ठ ताल वरपर मेला गर्ने र बाल चतुर्दशीमा शत् बीउ छर्ने परम्परा सुरु भएको हो । त्यस अवसरमा माडी मात्रै नभई चितवन, छिमेकी जिल्ला र भारतीय सीमावर्ती क्षेत्रबाट समेत भक्तजन आउने गरेका छन् । अधिकारीले यहाँ आए धन प्राप्त गर्ने चाहना पूरा हुने किंवदन्ती भएकाले झरनालाई धनलक्ष्मी झरनाको नाम दिइएको बताए ।
भरतपुर–माडी–ठोरी हुलाकी सडकको खरकट्टाबाट दक्षिणतर्फ छ, यो ठाउँ । खरकट्टाबाट ताल रहेको जङ्गलको छेउसम्म मोटर गुड्न सक्ने तीन किलोमिटर पक्की सडक छ। गाडीबाट झरेपछि लगभग २० मिनेट उकालो हिँडेर वैकुण्ठे ताल पुगिन्छ । त्यहाँबाट डेढ घण्टाको यात्रामा झरना पुग्न सकिन्छ । “अचेल धार्मिक कारण र घुमफिरका लागि पनि मान्छेहरू झरना भएको ठाउँमा आउने गर्छन्”, वडाध्यक्ष अधिकारीले भने, “सिँढीसहितको पूर्वाधार निर्माण गर्न सके अझै धेरै पर्यटक यहाँ ल्याउन सकिन्छ । हाल झरनासँगै वैकुण्ठ धाम क्षेत्रका नै पर्यटकीय स्थललाई प्रवर्द्धन गर्न थालिएको छ ।”
वैकुण्ठ धाम क्षेत्रभित्र पर्ने वैकुण्ठताल, धनलक्ष्मी झरना, वैकुण्ठेश्वर शिवालय मन्दिर, कैलाश पर्वत, प्रेम दह, मनमोह भिर, दुई खोला दोभान, चमेरे गुफा र आरण्य बौद्ध विहार प्राकृतिक र धार्मिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण स्थल हुन् । यिनै सम्पदाका कारण माडी पर्यटकहरूको चासोको केन्द्र बन्न थालेको उनको भनाइ छ । साथै कान्तिपुर सामूहिक खेती, ‘फार्म स्टे’ र अयोध्या मार्गजस्ता योजनाहरूले यहाँको पर्यटनलाई समुदायसँग जोड्दै थप आकर्षक बनाएको अधिकारीले बताए ।
वैकुण्ठ क्षेत्रलाई एकीकृत रूपमा विकास गर्ने योजना बनेपछि धनलक्ष्मी छहरासम्म पर्यटक पुर्याउने गरी काम अगाडि बढाउन लागिएको नगर उपप्रमुख खेमप्रसाद महतोले बताए । “झर्नाप्रति आकर्षण बढ्दै छ । जङ्गलभित्रै रहेकाले धेरैले जानकारीसमेत पाएका छैनन् । यसको प्रचार गर्न र पूर्वाधार निर्माण गरे भविष्यमा महत्त्वपूर्ण पर्यटकीय क्षेत्र बन्न सक्छ । त्यसैले अब आवश्यक बजेटको व्यवस्था गरेर काम गर्छौँ”, उनले भने ।
माडी भौगोलिक हिसाबले निकै आकर्षक छ, तर दर्जनौँ खहरे खोला र तीन तर्फबाट चितवन निकुञ्जसँग जोडिएका कारण जङ्गली जनावरले स्थानीयलाई दुःख दिने गरेका छन् । निकुञ्जका बाघ, गैँडा देखाएर अन्यत्र पर्यटन फस्टाए पनि माडीमा यसबाट लाभ लिनेभन्दा क्षति बेहोर्ने परिरहेको गुनासा छन् । झर्ना, ताल र धार्मिक क्षेत्रहरू रहेको यस क्षेत्रको विकासका लागि सोहीअनुसार योजना बनाइएको नगर उपप्रमुख महतोले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच प्रदेशमा फैलियो मनसुन, आज यी तीन प्रदेशमा धेरै वर्षा हुने सम्भावना
-
क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले लिए शपथ
-
कस्ताे रहला तपाईँकाे दिन ? हेर्नुहाेस् आजकाे राशिफल
-
हेर्नुहाेस् शुक्रबारकाे अन्तर्राष्ट्रिय मुद्राकाे विनिमय दर
-
रविन्द्र र धवल शमशेरको विषयमा के भन्यो अदालतले ?
-
यस्तो छ अनेरास्ववियुको अन्तिम मत परिणाम, को-को भए निर्वाचित ?