बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

जलवायु परिवर्तनको असर :  हिमरेखा सरेपछि लाङटाङ क्षेत्रमा पर्यटक घटे

बिहीबार, २९ जेठ २०८२, ११ : ०२
बिहीबार, २९ जेठ २०८२

समाचार सारांश

  • लाङटाङ क्षेत्रमा जलवायु परिवर्तनका कारण हिउँ पर्न कम भएको छ, जसले गर्दा स्थानीय बासिन्दा चिन्तित छन्।
  • हिउँ पग्लिएर हिमनदी खुम्चिँदै गएको छ भने पर्यटन व्यवसाय प्रभावित भएको छ, फोहोर व्यवस्थापन पनि चुनौती बनेको छ।
  • स्थानीय बासिन्दा र व्यवसायीहरूले जलवायु परिवर्तनको असर र पर्यटन व्यवसायको उचित व्यवस्थापनको अभावबारे चिन्ता व्यक्त गरेका छन्।

काठमाडौँ । आजभन्दा २० वर्षअघि हिमाली जिल्ला रसुवाको लाङटाङ क्षेत्रका घरका छानाहरू प्रायजसो हिउँले ढपक्क ढाकेको हुन्थ्यो । घरछेउमा कञ्चन हिमनदी बग्थ्यो । युवाहरू बिहान उठ्ने बित्तिकै घरको आँगनमा रहेका हिउँका मोतीजस्तै टल्किने कणहरूसँग खेल्दै सफा गर्न लाग्थे । 

तर अब यो अनुभव एकादेशको कथा जस्तो भएको बताउँछन् स्थानीय पासाङ तामाङ । आकाशमा बादल लाग्दा र एकैछिनको झरी पर्दा पनि हिउँ पर्ने अनुमान गर्ने स्थानीयको अहिलेको अनुमानले समेत काम गर्न छोडिसक्यो । 

अहिले लाङटाङ राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा हिउँ पर्ने कुनै ठेगान हुँदैन । २० वर्ष अघिसम्म हिमनदी (ग्लेसियर) बस्तीको नजिकैसम्म फैलिएको बताउँछन् लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष तामाङ । 

जलवायु परिवर्तनको बढ्दो प्रभाव र विश्व तापमानमा भएको वृद्धिका कारण हिमालहरू सङ्कटमा परेको उनी सुनाउँछन् । उनले तापक्रम बढेकै कारण हिमालमा कहिले पहिरो जाने भन्ने ठेगान नहुने हुँदा होसियार भएर हिँड्नुपर्ने बाध्यता रहेको बताए । वि.स. २०७२ सालमा आएको विनाशकारी भूकम्प समेत जलवायु परिवर्तनकै कारण आएको हुनसक्ने पासाङको आशङ्का छ । उनले पर्यटन व्यवसायको उचित व्यवस्थापन हुन नसक्दा जलवायु परिवर्तनको असर बढिरहेको बताए । हिमालका रेखाहरूसँगै पर्यटन व्यवसाय पनि मेटिँदै जाने उनको चिन्ता छ । 

हिमरेखा सरेको देखेका स्थानीयको अनुभवले जलवायु परिवर्तनको प्रभाव हिमालमा कति परेको छ भन्ने प्रस्ट हुन्छ । बढ्दो औद्योगीकरण र पृथ्वीको तापमान द्रुत र अप्राकृतिक रूपमा बढेको कारण हिमालको जीवन सङ्कटमा पर्दै गएको छ । लाङटाङकै होटेल व्यवसायी कान्छा तामाङले २० वर्षअघि एकमिटर उचाइसम्म हिउँले ढाक्ने गरेको अनुभव सुनाउनु भयो । पछिल्लो केही वर्षमा हिमरेखाहरू माथि जाँदै गरेको उनको भनाइ छ । 

यस क्षेत्रमा सञ्चालित होटेल व्यवसाय व्यवस्थित नभएको कारण पनि पर्यावरणमा प्रतिकुल असर परेको उनको भनाइ छ । उनले सरकारले पर्यटकीय क्षेत्रमा सञ्चालित होटहरुको लागि उचित मापदण्ड बनाउन आवश्यक रहेको समेत बताए । पर्यटकको सङ्ख्या बढेपनि सबैजसो स्थानीयहरू होटेल व्यवसायमै लागेको कारण अपेक्षाकृत कमाई हुन छोडेको उनको अनुभव छ । 

छेउछाउमा सेताम्मे हिमाल । बिचमा हिउँले सेतै ढाकिएको मानव बस्ती । घर जति छन् प्रायः सबै होटेल हुन् । नेपालमा पदयात्रामा आउने पर्यटकको तेस्रो रोजाइमा पर्ने रसुवा जिल्लास्थित लाङटाङको क्यानजेन भ्याली पुग्ने आन्तरिक पर्यटकहरू बढे पनि भुईँभरि छरिएका फोहोर देखेर दिग्दार हुने गरेका छन् । यो क्षेत्रको फोहोर व्यवस्थापनमा स्थानीय सरकार र स्वयं होटेल व्यवसायीहरूले फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा पर्यटकलाई निराश बनाउने गरेको छ । पर्यटकको सङ्ख्या बढेसँगै फोहोरको मात्रा पनि बढ्दा अगामी दिनमा पर्यटन व्यवसायमा नै असर पर्ने चिन्ता रहेको स्थानीय पासाङ लोप्छेङले बताए । पहिले अलिकति भएको फोहोरलाई समेत माटोमा पुर्ने गरिएकोमा अहिले जलाउने भएको कारण यसले वायु प्रदूषण समेत बढाउँदै लगेको बताए  । 

लाङटाङमा जलवायु परिवर्तनका प्रभावहरू भौगोलिक, आर्थिक, र सामाजिक सबै क्षेत्रमा देखिन थालेका छन् । हिमनदीहरू खुम्चिँदै गएका छन् भने पहिरो र अनियमित मौसमी घटना बढिरहेका छन् । हिमालको रेखामाथि सर्ने क्रमसँगै गाउँको व्यवसाय र युवा पलायन पनि हुँदै गएको छ । सरकारले हिमालको मुद्दामा विश्व समुदायलाई सचेत गराउन भन्दै समय समयमा सभा र सम्मेलन गर्ने भएपनि प्रभावितहरूलाई सहभागी  नगराउँदा ती सभाहरू औचित्यहीन बन्दै गएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप