१० महिनामा वाणिज्य बैँकहरुको नाफा ४७ अर्ब ७९ करोड

समाचार सारांश
- आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा वाणिज्य बैंकहरूको नाफामा सामान्य गिरावट आएको छ, जुन गत वर्षको तुलनामा १.६७ प्रतिशतले घटेको हो।
- नबिल बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ, दोस्रोमा ग्लोबल आईएमई बैंक र तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन्।
- एनआईसी एसिया र हिमालयन बैंकको नाफामा ठूलो गिरावट आएको छ, भने नेपाल बैंकको नाफामा उल्लेख्य वृद्धि भएको छ।
काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा वाणिज्य बैँकहरूको नाफामा सामान्य गिरावट आएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समग्र नाफा करिब ८१ करोड रुपैयाँ अर्थात् १.६७ प्रतिशतले घटेको हो ।
राष्ट्र बैँकको तथ्याङ्क २० वटा वाणिज्य बैँकहरूले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा कुल ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्ष २०८०/८१ को यही अवधिमा यी बैँकहरूको कुल नाफा ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ रहेको थियो । आर्थिक सुस्तता, कर्जा प्रवाहमा देखिएको चुनौती, खराब कर्जामा भएको वृद्धि र ब्याजदरमा आएको उतारचढावले समग्र बैँकिङ क्षेत्रको मुनाफामा असर पारेको विज्ञहरू बताउँछन् ।
यो अवधिमा १० बैँकको नाफा बढेको छ भने १० बैँकको घटेको छ । नाफा वृद्धि हुने बैँकहरुमा नेपाल बैँक, नेपाल इन्भेष्टमेन्ट मेगा, एभरेष्ट, ग्लोबल आईएमई, माछापुच्छ्रे, लक्ष्मी सनराइज, सानिमा, एनएमबि, नबिल र सिद्धार्थ बैँक रहेका छन् । त्यस्तै, नाफा घट्ने बैँकहरुमा एनआईसी एसिया, हिमालयन, कुमारी, कृषि विकास, राष्ट्रिय वाणिज्य, सिटिजन, प्रभु, प्राइम, स्ट्यान्डर्ड चार्टर्ड र नेपाल एसबीआई बैँक छन् ।
यी हुन् धेरै नाफा कमाउने पाँच बैँक
नाफाको हिसाबले नबिल बैँकले आफ्नो शीर्ष स्थान कायमै राखेको छ । बैँकले १० महिनाको अवधिमा ५ अर्ब ६० करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यही अवधिमा बैँकको नाफा ५ अर्ब ४६ करोड २५ लाख रुपैयाँ थियो ।
नबिललाई पछ्याउँदै ग्लोबल आईएमई बैँक दोस्रो स्थानमा छ । बैँकले यस अवधिमा ५ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन गत वर्षको ४ अर्ब १२ करोड २९ लाखको तुलनामा २९.८९ प्रतिशतको वृद्धि हो ।
तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैँक (एनआईएमबी) ले पनि उत्कृष्ट प्रदर्शन गर्दै ५ अर्ब २ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष बैँकको नाफा ३ अर्ब ७७ करोड १० लाख रुपैयाँ थियो । यो वर्षको वृद्धि करिब ३३ प्रतिशतको हो । यस अनुसार शीर्ष तीन बैँकले मात्रै कुल नाफाको ३३ प्रतिशतभन्दा बढी हिस्सा ओगटेका छन् ।
त्यस्तै, एभरेष्ट बैँक ३ अर्ब ९० करोड ३३ लाख रुपैयाँ नाफासहित धेरै नाफा कमाउने चौथो बैँक बनेको छ । नाफा कमाउने क्लबमा प्रवेश गर्ने तयारीमा छ । पाँचौ स्थानमा रहेको नेपाल बैँक लिमिटेड (एनबीएल) ले भने सबैलाई चकित पार्दै ३ अर्ब २८ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
नेपाल बैँकको नाफामा चमत्कारिक वृद्धि
सरकारी स्वामित्वको नेपाल बैँकको नाफामा चमत्कारिक सुधार देखिएको छ । गत वर्षको १० महिनामा केवल ५९ करोड ३ लाख रुपैयाँ नाफा कमाएको यो बैँकले यस वर्ष सोही अवधिमा ४५४ प्रतिशत वृद्धि गरेर नाफा ३ अर्ब २८ करोड ७७ लाख रुपैयाँ नाफा पुर्याएको छ । योसँगै बैँक धेरै नाफा कमाउने पाँचौँ बैँक समेत बनेको छ । यसैगरी, ग्लोबल आईएमई बैँकले १ अर्ब २३ करोड र एनआईएमबीले १ अर्ब २५ करोड रुपैयाँले आफ्नो नाफा बढाएका छन् । एभरेष्ट बैंकले पनि आफ्नो नाफामा करिब ९२ करोड रुपैयाँ थपेको छ ।
दबाबमा एनआईसी एसिया र हिमालयन बैँक
उल्लेखित बैँकले उत्कृष्ट प्रदर्शन गर्दा केही बैँकहरूको नाफामा ठुलो गिरावट छ । सबैभन्दा ठुलो गिरावट एनआईसी एसिया बैँकमा देखिएको छ । गत वर्षको १० महिनामा २ अर्ब १६ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको बैँकको नाफा यस वर्ष घटेर केवल ४७ करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ । बैंकको नाफामा करिब १ अर्ब ६८ करोड रुपैयाँ अर्थात् ७७.८७ प्रतिशत गिरावट आएको हो ।
त्यस्तै, हिमालयन बैँकको नाफामा पनि ठुलो धक्का लागेको छ । गत वर्ष २ अर्ब २२ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको बैँकले यस वर्ष ६९ प्रतिशतले गुमाउँदै मात्र ६८ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ ।
कुमारी बैँकको नाफा पनि १ अर्ब ४२ करोडबाट घटेर ४८ करोड १९ लाखमा झरेको छ । कृषि विकास बैँक र राष्ट्रिय वाणिज्य बैँक जस्ता सरकारी स्वामित्वका बैँकको नाफामा पनि क्रमशः ९६ करोड र ७९ करोड रुपैयाँको गिरावट आएको देखिन्छ ।