उद्योगहरू सञ्चालन हुन नदिन प्रधानमन्त्रीदेखि अर्थमन्त्रीलाई प्रलोभनमा पारिन्छ : महासचिव भुसाल

समाचार सारांश
- एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा उद्योग खोल्न नदिन भारतले प्रपञ्च गरिरहेको आरोप लगाए।
- भुसालले नेपालको अर्थतन्त्र दलाल पुँजीवादी चरित्रको भएको र यसैकारण उद्योगहरू फस्टाउन नसकेको बताए।
- उनले प्रधानमन्त्री, अर्थमन्त्री र सांसदहरूलाई समेत उद्योग खोल्न नदिने खेलमा संलग्न गराइएको आरोप लगाए।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेपालमा उद्योग खोल्न नदिनका लागि छिमेकी मुलुकले अनेक प्रपञ्च गर्ने गरेको बताउनुभएको छ । शनिबार एकीकृत समाजवादी युवा जिल्ला कमिटीको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महासचिव भुसालले नेपालीले ऋण बोकेको, हेपिएको, हेपेको, नाकाबन्दी लगाएको र हेप्ने क्रम नरोकिएको आरोप लगाएका हुन् ।
उनले नेपालमा उद्योग कलकारखाना बढ्न नदिनका लागि भारतले अनेक कानुनहरू बनाएको, आयात गर्ने सामानमा भन्दा कच्चापदार्थमा बढी भन्सार लगाइदिने गरेकाले रोजगारीमा समेत समस्या उत्पन्न भइरहेको दाबी गरे । महासचिव भुसालले यिनै विषयलाई अहिले एकीकृत समाजवादीले मूल मुद्दाका रूपमा उठाएको बताउँदै नेपालको अर्थतन्त्रको चरित्र दलाल पुँजीवादी भएको आरोप लगाए ।
उनले भने, ‘यी सारा कुराको जड के हो भन्दा हामीकहाँ उद्यम भएन । यही विषय हो अहिले एकीकृत समाजवादीले उठाएको मुद्दा । रोजगारी रोजगारी भनेको यही मुद्दा हो । यो इतिहासको, यो समाजको सबैभन्दा महत्त्वपूर्ण आधारभूत मुद्दा हो । किनभने मान्छेले काम गर्छ, मुस्किलले खान पुग्छ वा पुग्दैन । हाम्रो देशको कृषिको हालत यस्तै छ । किनभने बिउ राम्रो हुँदैन, समयमा पानी पर्दैन, टेक्नोलोजी छैन, जेटिएहरु छैन । कहीँ केही उत्पादन भइहाल्यो भने बजार छैन ।’
उनले नेपालका उद्योगहरू सञ्चालन हुन नदिनका लागि प्रधानमन्त्री, अर्थमन्त्रीदेखि सांसदहरूलाई समेत प्रलोभनमा पार्ने गरेको दाबी गरे ।
उनले भने, ‘त्यस कारण कोही कोही उद्योगले राम्रो गरेको छु भन्नु भनेको झुक्किएर राम्रो भएको हो । त्यसरी झुक्किनु भनेको दुई वा तीन वर्ष मात्र हो । सामान्य अवस्थामा कृषिमा लागेको मानिस डुब्नुको विकल्प नै छैन । हाम्रो कृषि उद्योग किन यस्तो भन्दा खासमा हाम्रो अर्थतन्त्रको चरित्र दलाल पुँजीवादी छ । दलाल पुँजीवादी भनेको के हो भन्दा बाहिरबाट सामान आयात गर्ने यहाँ बेच्ने र नाफा कमाउने । बाहिरबाट सामान ल्याएर बढी नाफा गर्न के गर्नुपर्छ भन्दा यहाँ उद्योग खोल्न दिनुहुन्न । त्यसका लागि अर्थमन्त्रीलाई भनेर प्रधानमन्त्रीलाई भनेर, सांसदहरूलाई भनेर के गर्ने भन्दा उताबाट सामान जुन ल्याइन्छ त्यो सामानको मूल्यभन्दा कच्चा पदार्थको भन्सार महँगो गरिदिएपछि यहाँका उद्योगहरू सञ्चालन हुँदैनन् । जस्तो कि जुस बनाएर ल्यायो भने त्यसमा कम भन्सार लगाइदिने तर फलफूल ल्याउँदा भने भन्सार बढी लगाइदिने जस्ता कार्यले यहाँ उद्योग फस्टाउन सकेका छैनन् ।’