अधुरो सपनाको आँगनमा फुलेका दुई क्रिकेटर

समाचार सारांश
- बैतडीका जयराम भट्टले सानै उमेरमा क्रिकेटर बन्ने सपना देखेका थिए, तर उनले आफ्नो सपना पूरा गर्न सकेनन्।
- जयरामले आफ्नो भाइ नरेनलाई क्रिकेट खेलाडी बनाउन ठूलो त्याग गरे, जसले पछि यू-१९ राष्ट्रिय टोलीको कप्तानी गरे।
- भट्ट दाजुभाइको क्रिकेटप्रतिको लगाव र संघर्षले बैतडीबाट सुरु भएको यात्राले देशकै सपना बोकेको छ।
धनगढी । सन् २००३ को विश्वकप क्रिकेट । बैतडीको विकट गाउँ मेलौली नगरपालिका–७, काँडाको एक घरमा रहेको पुरानो श्यामश्वेत टीभीको पर्दामा विश्वकप क्रिकेट चलिरहेको थियो । घरको छतमा ठड्याइएको एन्टिनाले मुस्किलले टिपेको हिन्दी च्यानल दूरदर्शनको धमिलो दृश्यमा १० वर्षीय बालक जयराम भट्टको नजर यसरी टाँसिएको थियो, मानौँ उनले त्यही पर्दामा आफ्नो भविष्य देखिरहेका थिए । कक्षा ७ मा पढ्दै गरेका जयरामको कलिलो मनमा त्यही दिन एउटा सपनाले जन्म लियो—क्रिकेटर बन्ने ।
त्यो समय, उनको गाउँका दुई–चार घरमा मात्र टीभी हुन्थ्यो । रङ्गिन थिएन, आवाज पनि स्पष्ट आउँदैनथ्यो । तर, त्यही टीभीको पर्दामा जयरामले भने रङ्गिन सपना देखेका थिए । गाउँमा क्रिकेटको ‘क’ पनि कसैलाई थाहा थिएन । ब्याट कहाँ पाउनु, बल कहाँ खोज्नु ? तर, जहाँ इच्छा, त्यहाँ उपाय । जयरामले पुराना मोजा कोचेर बल बनाए, दाउराको मुडालाई ताछेर ब्याट । गाउँको मणीलेक माध्यमिक विद्यालयको फुस्रो चौर नै उनको लागि ‘लड्र्स’ र ‘इडेन गार्डेन’ बन्यो ।
ठुला दाजुहरूसँग खेल्दा न कुनै प्रशिक्षक थिए, न त व्यवस्थित अभ्यासस्थल, तर क्रिकेटप्रतिको लगाव दिनप्रतिदिन गहिरिँदै गयो ।
समय बित्दै जाँदा बैतडीमा क्रिकेटको माहोल बन्न थाल्यो । ‘बीडीसीए कप’ र ‘शुभकामना कप’ जस्ता प्रतियोगिताहरूले स्थानीय प्रतिभालाई मञ्च दिन थाले । त्यही क्रममा प्रदीप ऐरी, विनोद भण्डारी, नरेश बुढाऐरजस्ता राष्ट्रिय नामहरू उनको गाउँमा खेल्न आए । आफ्नै आँखाअगाडि राष्ट्रिय खेलाडीलाई देखेपछि जयरामको सपनाले अझै पखेटा फिँजायो । उनले मनमनै अठोट गरे—‘एकदिन म पनि यस्तै खेल्नेछु, मैदानमा उत्रनेछु र आफ्नो पहिचान बनाउनेछु ।’
सपनाको उडान
कक्षा १२ पास गरेपछि जयराम उच्च शिक्षाका लागि महेन्द्रनगर झरे । पढाइभन्दा पनि उनको मन क्रिकेटको मैदानमा रमाइरहेको थियो । महेन्द्रनगरको खुला मञ्चमा उनले चन्द्र साउँद, विनोद भण्डारीजस्ता खेलाडीसँग अभ्यास गर्ने मौका पाए । आर्थिक अभावले महँगो ‘डिउज बल’ किन्न सक्दैनथे । त्यसैले टेनिस बललाई पानीमा भिजाएर भारी बनाउँथे र त्यसैलाई ‘डिउज बल’ सम्झेर खेल्थे । ‘पढ्न भनेर महेन्द्रनगर आएको थिएँ, तर दिनरात क्रिकेट अभ्यासमा डुब्न थालेँ,’ जयराम पुराना दिन सम्झिन्छन्, ‘घरबाट पढाइका लागि मात्रै खर्च पठाउनुहुन्थ्यो । क्रिकेट सिक्न र खेल्न चाहिने पैसा मसँग हुँदैनथ्यो ।’
घरको आर्थिक अवस्था नाजुक थियो । आमाबुबाले गाउँमा सानो चिया पसल चलाएर संयुक्त परिवारको ठुलो जिम्मेवारी धानिरहेका थिए । सपना र आवश्यकताको लडाइँमा जयरामको क्रिकेटले हार्न थाल्दैथियो । अभ्यासमा ध्यान दिँदा पढाइ बिग्रियो । अन्ततः क्रिकेटको सपनालाई मनको एउटा कुनामा थन्क्याएर उनी घर फर्किए । अध्ययनले पनि निरन्तरता पाएन । केही समयपछि उनी रोजगारीको खोजीमा भारत पसे ।
भारत बसाइले उनलाई क्रिकेटको क्रेज के हो भनेर नजिकबाट देखायो । गल्ली–गल्लीमा क्रिकेट खेलिरहेका बालबालिका देखेर उनको मनमा आफ्नो अधुरो सपना फेरि बल्झिन्थ्यो । तर, परिस्थितिले उनलाई साथ दिएन । करिब ६ महिना काम गरेपछि उनी रित्तो हात र भारी मन लिएर घर फर्किए ।
एक सपनाको अन्त्य, अर्को सपनाको सुरुवात
सन् २०१८ मा नेपाली क्रिकेटले ऐतिहासिक सफलता हासिल गर्यो । नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय एकदिवसीय (ओडीआई) मान्यता पायो । नेदरल्यान्ड्ससँगको सिरिजमा नेपालले एक खेल जित्दा सारा देश खुसीले झुमिरहेको थियो । त्यही क्षण, जयराम आफ्ना ११ वर्षीय भाइ नरेनसँगै टीभीमा त्यो खेल हेरिरहेका थिए । नेपालको जितले उनमा एक नयाँ ऊर्जा भरिदियो । उनलाई लाग्यो, ‘मैले पूरा गर्न नसकेको सपना अब मेरो भाइ नरेनले पूरा गर्न सक्छ ।’
दिल्लीमा एक वर्षको कठोर प्रशिक्षणपछि नरेन धनगढी फर्किए र ‘धनगढी क्रिकेट एकेडेमी’मा आबद्ध भए । त्यसपछि उनले फर्केर हेर्नुपरेन । लिटिल फ्लावर प्रिमियर लिग, बालवाटिका क्रिकेट लिगजस्ता प्रतियोगितामा उनको प्रदर्शनले सबैको ध्यान खिच्यो । उनको खेलमा एउटा लय र परिपक्वता देखिन थाल्यो ।
‘त्यो दिन मैले निर्णय गरेँ, नेपालको क्रिकेट अब अगाडि बढ्छ । नरेनले पनि गाउँमा राम्रो खेलिरहेको छ, अब उसलाई जसरी पनि राम्रो प्रशिक्षण दिनुपर्छ,’ जयरामले भने ।
नरेन त्यो वेला गाउँमा सबैका प्रिय खेलाडी थिए । टिम बनाउँदा दुवै पक्ष उनलाई आफ्नो टिममा राख्न खोज्थे । तर, गाउँको खेलले भविष्य बन्छ भन्ने कसैलाई विश्वास थिएन । जयरामले भने भाइको प्रतिभामा भविष्य देखे । उनले घरमा कसैलाई नभनी एउटा आँट गरे—नरेनलाई क्रिकेट सिकाउन भारतको दिल्ली लैजाने ।
तर खल्तीमा एक रुपैयाँ पनि थिएन । गाउँमा ऋण खोजेर उनले भाइलाई दिल्ली लगे र त्यहाँको प्रतिष्ठित ‘आरपी एकेडेमी’मा भर्ना गरिदिए । सुरुका केही दिन, अपरिचित सहरमा भाइलाई अप्ठ्यारो नहोस् भनेर उनी आफैँ एकेडेमी पुर्याउन र लिन जान्थे । पछि दिल्लीमा काम गर्ने एक जना गाउँलेको जिम्मामा भाइलाई छोडेर जयराम घर फर्किए ।
त्याग र समर्पण
घर फर्केपछि जयरामको मनमा एउटै प्रश्न थियो—‘एक बेरोजगार दाजुले भाइको महँगो सपना कसरी पूरा गर्ला ?’ धेरै सोचविचारपछि उनले एउटा निर्णय गरे । फेरि ऋण काढेर उनले एउटा पसल खोले । दिनभर पसल चलाउँथे र त्यसबाट आएको आम्दानीले भाइको एकेडेमीको शुल्क, बस्ने–खाने खर्च र ऋणको ब्याज तिर्दै गए । उनको आफ्नो जीवनका रहरहरू हराइसकेका थिए, अब उनको एउटै ध्येय थियो—भाइको सफलता ।
दिल्लीमा एक वर्षको कठोर प्रशिक्षणपछि नरेन धनगढी फर्किए र ‘धनगढी क्रिकेट एकेडेमी’मा आबद्ध भए । त्यसपछि उनले फर्केर हेर्नुपरेन । लिटिल फ्लावर प्रिमियर लिग, बालवाटिका क्रिकेट लिगजस्ता प्रतियोगितामा उनको प्रदर्शनले सबैको ध्यान खिच्यो । उनको खेलमा एउटा लय र परिपक्वता देखिन थाल्यो ।
नरेनको उदयः दाजुको सपनाले पाएको आकार
२०८० साउनमा मलेसियामा भएको ‘एसीसी यू–१६, इस्ट जोन’ प्रतियोगिताको फाइनलमा नरेन भट्टले अविश्वसनीय प्रदर्शन गरे । उनले ८९ बलमा १० चौका र २ छक्कासहित अविजित ११२ रनको शतकीय पारी खेल्दै नेपाललाई उपाधि जिताए । उनको त्यो प्रदर्शनले नेपाललाई मलेसियाविरुद्ध २२१ रनको सानदार जित दिलायो ।
त्यसयता नरेनले आफूलाई निरन्तर प्रमाणित गर्दै आएका छन् । तीन वर्षमा एक अन्तर्राष्ट्रिय र दुई राष्ट्रिय गरी तीन शतक प्रहार गरिसकेका छन् । २०८० को प्रधानमन्त्री कपमा सुदूरपश्चिम प्रदेशबाट खेल्दै उनले २६७ रन बनाए, जसमा मधेस प्रदेशविरुद्ध १२१ रनको उत्कृष्ट शतकीय पारी सामेल थियो । यही प्रदर्शनका आधारमा उनले नेपाल ‘ए’ टिममा स्थान बनाउँदै आयरल्यान्ड ‘ए’ विरुद्ध खेल्ने अवसर पाए ।
उनको यात्रा यतिमै रोकिएन । उनले २०२४ को एसीसी यू–१९ एसिया कपमा नेपालको प्रतिनिधित्व गरे । नेपालमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा उनी विराटनगर किंग्समा अनुबन्धित भए ।
कप्तानको जिम्मेवारी र अधुरो विश्वकप यात्रा
नरेनको करिअरको सबैभन्दा ठुलो अवसर तब आयो, जब उनले २०२५ को यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाली टोलीको कप्तानी गर्ने जिम्मेवारी पाए । अप्रिल २०१४ मा काठमाडौँको मुलपानी मैदानमा भएको प्रतियोगिता हेर्न उनका आमाबुबा पहिलो पटक बैतडीबाट काठमाडौँ पुगेका थिए । छोराले देशको कप्तानी गरेको हेर्दा उनीहरूका आँखा रसाएका थिए ।
नरेनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे । यूएईविरुद्ध ६७ रन बनाए, ओमानविरुद्ध अविजित १२ रन र हङकङविरुद्ध ३९ रन जोडे । तर, अन्तिम र निर्णायक खेलमा अफगानिस्तानविरुद्ध वर्षा बाधक बन्यो । खेल रद्द भएपछि अंक बाँडियो र नेपाल विश्वकप छनोट हुनबाट चुक्यो ।
‘त्यो दिन नरेन एकदमै निराश थियो । हाम्रो पनि चित्त धेरै दुख्यो,’ जयराम सम्झिन्छन्, ‘मैले उसलाई सम्झाएँ—यो अन्त्य होइन, सुरुवात हो । चित्त बुझाऊ र आउने दिनका लागि अझै मेहनत गर ।’
एक होइन, दुई कप्तान: सचिनको आगमन
नरेनको सफलताको कथा लेखिँदै गर्दा, भट्ट परिवारमा क्रिकेटको अर्को अध्याय सुरु भइसकेको थियो । कान्छो भाइ सचिन पनि दाजुहरूकै पदचाप पछ्याउँदै मैदानमा उत्रिएका छन् । लकडाउनको समयमा दाजु नरेन र जयरामले आँगनमै सचिनलाई बलिङ सिकाएका थिए । त्यही सिकाइले उनको लागि ठुलो ढोका खोलिदियो ।
२०८१ जेठमा कर्णालीमा भएको एसीसी मेन्स यू–१६ इस्ट जोन कपको छनोट प्रतियोगितामा सचिनले सुदूरपश्चिमको यू–१६ टिमको कप्तानी गरे । यसअघि डडेल्धुरामा भएको यू–१९ छनोटमा १८ विकेट लिएर उनी ‘उत्कृष्ट बलर’ बनेका थिए । विराटनगरमा भएको राष्ट्रिय प्रतियोगितामा सिनियर खेलाडीहरूसँग खेल्दै ६ खेलमा १५ विकेट लिएर उनी उत्कृष्ट बलरको सूचीमा परेका थिए ।
जयरामले नरेन र सचिनको सपनामा कहिल्यै कुनै कमी हुन दिएनन् । उनीहरूको अभ्यासका लागि ऋण लिए, पसल चलाए, एकेडेमीको खर्चदेखि डेराको व्यवस्थासम्म, सबै जिम्मेवारी उनकै काँधमा छ ।
‘मैले त अधुरो सपना मात्रै देखेँ, तर उनीहरूले त्यसलाई पूरा गर्दैछन्,’ जयराम गर्वका साथ भन्छन्, ‘म उनीहरूको पछाडि एक प्रशिक्षक, अभिभावक र साथी बनेर उभिएको छु ।’
तीन दाजुभाइ, एउटै लक्ष्य
आज जयरामको संघर्षको प्रतिफल एक होइन, दुई कप्तानमा परिणत भएको छ । नरेन हाल आफ्नो खेललाई अझ तिखार्न भारतमा अभ्यास गरिरहेका छन् । त्यहाँको टर्फ पिच, उच्चस्तरीय प्रशिक्षक र सुविधायुक्त अभ्यासले उनलाई सिनियर टिमका लागि तयार गरिरहेको छ ।
जयराम आफैँ पनि क्रिकेटबाट टाढा छैनन् । बैतडीमा हुने बीडीसीए कप र पाटन प्रिमियर लिगमा उनी नियमित खेल्छन् । कहिलेकाहीँ त तीनै दाजुभाइ एउटै टिमबाट मैदानमा उत्रिन्छन् । त्यो क्षण सायद जयरामको जीवनको सबैभन्दा सुखद क्षण हो ।
एक दाजुले देखेको अधुरो सपना आज दुई भाइको आँखामा सजिएर साकार हुँदै छ । जयराम, नरेन र सचिन । यी तीन दाजुभाइको कथा त्याग, समर्पण र अटुट विश्वासको कथा हो । जयराम भन्छन्, ‘क्रिकेटमा हामी तीन हौँ । हाम्रो तीन जनाको आँखाले क्रिकेटमा एउटै सपना देखेको छ र त्यो सपना पूरा गर्न हामी लागिरहेका छौँ ।’ बैतडीको एउटा सानो गाउँबाट सुरु भएको यो यात्राले अब सिङ्गो देशको सपना बोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रेयसीले जितिन् ‘मिस एसईई इटहरी’को ताज
-
बागमती प्रदेशसभाको बैठक सुरू
-
विश्व संगीत दिवसमा राष्ट्रिय थारू कलाकार मञ्चले बृहत् सांस्कृतिक कार्यक्रम गर्ने
-
‘मिरमिरे’मा सिर्जना निङलेखुको इन्ट्री
-
नेसपा (नयाँ शक्ति) ले पाँच महिना सङ्गठन विस्तारको काम गर्ने
-
त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेका छैनौँ : नेविसंघ