मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
भ्रातृसंस्थाबारे फरक मत

भ्रातृसंस्थाबारे सभापति र महामन्त्री थापा दुईतिर

सोमबार, ०२ असार २०८२, १९ : ५२
सोमबार, ०२ असार २०८२

समाचार सारांश

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच ७ भ्रातृसंस्थाका तदर्थ समितिको म्याद थप्ने विषयमा फरक मत देखिएको छ।
  • देउवा म्याद थप्नुपर्ने पक्षमा छन् भने थापाले नयाँ तदर्थ समिति बनाउनुपर्ने अडान लिएका छन्।
  • कांग्रेसले असार १५ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएर भ्रातृसंस्थाको म्याद थप्ने वा खारेज गर्नेबारे निर्णय गर्ने तयारी गरेको छ।

काठमाडौँ । पार्टीले अन्तिम पटक भनेर दिएको समयमा पनि महाधिवेशन गर्न नसक्ने ७ भ्रातृसंस्थाका तदर्थ समितिबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको धारणा फरक–फरक आएको छ । 

गत फागुन १ गते बसेको पदाधिकारी बैठकले अन्तिम पटक भन्दै चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गरेर निर्वाचित कार्यसमितिलाई कार्यभार हस्तान्तरण गर्न १० भ्रातृसंस्थालाई निर्देशन दिएको थियो ।

ती १० भ्रातृसंस्थामध्ये तीन वटा (नेपाल प्रजातान्त्रिक सेनानी संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल भूतपूर्व सैनिक संघ) ले पार्टीले निर्धारण गरिदिएको समयभित्र महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गर्दै कार्यभार हस्तान्तरण गरे ।  

बाँकी ७ भ्रातृसंस्था तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, थारू संघ, नेपाल दलित संघ, नेपाल किसान महासंघ र नेपाल लोकतान्त्रिक खेलकुद संघले पार्टीको निर्देशन लत्याए । 

पार्टीले दिएको समय गुज्रेको दुई महिना पुगिसक्यो । तर महाधिवेशन गर्न नसक्ने ती भ्रातृसंस्थाका तदर्थ समिति खारेजसमेत गरिएको छैन । अहिले आएर महाधिवेशन गर्न नसक्ने भ्रातृसंस्थाका म्याद थप्ने/नथप्ने विषयमा सभापति देउवा र महामन्त्री थापाबिच विवाद देखिएको छ । 

सभापति देउवाले अहिले रहेका तदर्थ समितिलाई खारेज गरेर नयाँ ल्याए पनि तत्काल महाधिवेशन गराउन नसक्ने भन्दै अन्तिम पटकका लागि म्याद थप्नुपर्ने धारणा राखेका छन् ।

‘उनीहरूलाई संगठन बुझ्न पनि समय लाग्छ । पार्टीले महाधिवेशन गर्न बनाएका निर्देशन समितिले भरपर्दो कार्यतालिका ल्याउन भनेर अन्तिम पटकका लागि थपौँ,’ देउवाले पार्टी नेताहरूसँगको बैठकमा भन्दै आएका छन् । देउवाले जेठ १९ गतेको पदाधिकारी बैठकमा पनि त्यही धारणा राखेका थिए । त्यसपछि पनि नेतारूसँग त्यही धारणा राख्दै आएका छन् । 

तर महामन्त्री थापाको धारणा देउवाको भन्दा ठिकविपरीत छ । अहिलेकाले महाधिवेशन गराउन नसक्ने दाबी गर्दै उनले नयाँ तदर्थ समिति बनाउनुपर्ने बताउँदै आएका छन् ।

‘उनीहरूको म्याद थप्नु भनेको समय खेर फाल्नु मात्रै हो,’ महामन्त्री थापाको धारणा छ । सभापति देउवासँग फरक मत राखेका महामन्त्री थापाले रातोपाटीसँग भने, ‘अहिलेसम्म गर्न नसक्नेले अब समय थप्दा गर्न सक्दैन तसर्थ खारेज गरेर नयाँ बनाऊँ भन्दै आएको छु । सभापतिज्यूले एक पटकका लागि अन्तिम पटक पार्टीले बनाएको निर्देशन समितिसँग कार्यतालिका मागेर समय थपौँ भनिरहनु भएको छ ।’ 

सभापति र महामन्त्रीबिच नै कुरा नमिलेपछि पार्टीले बनाएको निर्देशन समिति र तदर्थ समितिलाई एकै ठाँउमा राखेर महाधिवेशन गर्ने कार्यतालिका माग्दै कांग्रेसले छलफल गरिरहेको छ । महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले निर्देशन समिति र तदर्थ समितिका पदाधिकारीलाई एकै ठाँउमा राखेर छलफल गरिरहेका छन् । 

दुई महामन्त्रीले जेठ ३० गते नेपाल दलित संघको निर्देशन समिति र तदर्थ समितिसँग छलफल गरेका थिए । महामन्त्री थापाले दलित संघको तदर्थ समिति र निर्देशन समितिबिच विवाद रहेको र उनीहरू आफै बसेर मिलाएर कात्तिकसम्म महाधिवेशन गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए । 

संघमा निर्देशन समितिको संयोजकमा कांग्रेस सहमहामन्त्री जीवन परियार र तदर्थ समितिको संयोजकमा लोकबहादुर विश्वकर्मा छन् । पार्टीभित्र परियार डा. शेखर कोइरालाले नेतृत्व गरेको इतर समूहमा र विश्वकर्मा संस्थापन पक्षमा भएकाले विवाद रहँदै आएको छ । 

थापाका अनुसार आफूहरूबिच रहेको विवाद आफै बसेर मिलाउने प्रतिबद्धता निर्देशक समिति र तदर्थ समितिका पदाधिकारीले जनाएका छन् । महामन्त्री थापाले आज (असार २ गते) नेपाल विद्यार्थी संघ, असार ३ गते तरुण दल र ५ गते महिला संघको निर्देशन समिति र तदर्थ समितिका पदाधिकारीसँग छलफल गर्ने तय भएको जानकारी दिए ।महिला संघका केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् भने नेविसंघमा अध्यक्ष दुजाङ शेर्पाले जिल्ला र क्याम्पसहरूमा केन्द्रीय प्रतिनिधि खटाएपछि इतर समूहको नेतृत्व गर्ने प्रेमिका राना मगरले समानान्तर रूपमा प्रतिनिधि खटाएपछि विवाद चरमोत्कर्षमा छ । 

तरुण दलमा लमजुङको जिल्ला अधिवेशनमा खुकुरी हानाहान भएपछि विवाद चरमोत्कर्षमा छ । असार १० गतेसम्म महाधिवेशन गर्न नसकेका भ्रातृसंस्थाका निर्देशन समिति र तदर्थ समितिका पदाधिकारीलाई एकै ठाउँमा राखेर छलफल गर्ने छलफलमा चित्तबुझ्दो जवाफ आएमा थप्ने, चित्तबुझ्दो जवाफ नआए खारेज गर्ने तयारी छ । 

कांग्रेसले भ्रातृसंस्थाको म्याद थप्ने वा खारेज गर्ने तथा अन्य समसामयिक राजनीतिबारे छलफल गर्न असार १५ गर्ते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप