सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय
अदालत

आयोगले दुई खरिदारसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा चलायो

सोमबार, ०२ असार २०८२, १६ : ००
सोमबार, ०२ असार २०८२

समाचार सारांश

  • अख्तियारले कोहलपुर मालपोत कार्यालयका २ खरिदारसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
  • खरिदार हरिचन्द्र पाण्डेले विचौलियामार्फत सेवाग्राहीसँग घुस मागेको र रकम लेनदेनमा संलग्नता देखिएको थियो।
  • लेखापढी व्यवसायी र रेष्टुरेन्ट सञ्चालकसमेतलाई मुद्दा दायर गर्दै कैद र जरिवानाको माग गरिएको छ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कोहलपुर, बाँकेमा कार्यरत दुई खरिदारसहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जिल्ला बाँकेस्थित मालपोत कार्यालय कोहलपुरको मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेले सेवाग्राहीसँग जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै लेखापढी व्यवसायी (विचौलिया) मार्फत रु. २० हजार घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा लेखापढी व्यवसायी शान्ति पुनले सेवाग्राहीबाट मागिएको घुस रकम लिएर हरिचन्द्र पाण्डेलाई दिएको र पाण्डेले उक्त रकम रेष्टुरेन्ट सञ्चालक घनश्याम तिवारीलाई राख्न दिएको अवस्थामा उनीहरूलाई रकमसहित नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानका क्रममा घटनासँग सम्बन्धित रूपमा खरिदार रतन बहादुर जि.सी.को समेत संलग्नता देखिएकोले आयोगले खरिदार पाण्डे र जि.सी.लाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) अनुसार भ्रष्टाचारको कसुरमा दोषी ठहर गर्दै कैद र बिगोअनुसार जरिवाना माग गर्दै मुद्दा दायर गरेको हो । 

यसैगरी, सेवाग्राहीबाट घुस माग गरी त्यसको लेनदेनमा सहजीकरण गरेको आरोपमा लेखापढी व्यवसायी शान्ति पुन र घनश्याम तिवारीमाथि पनि भ्रष्टाचार निवारण ऐनको दफा ३(२) अनुसार मुद्दा चलाइएको छ। उनीहरूलाई पनि कैद र बिगोअनुसार जरिवाना सजाय माग गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप